काठमाडौँ, जेठ २३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान गरेर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल गर्नुभएको छ । विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तीव्र रूपमा हिमशृङ्खलाहरू र हिमतालहरूमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी पहिरो लगायतको प्रकोपहरूले त्यस क्षेत्रका बासिन्दाहरूका लागि आधारभूत जीवनयापनका चुनौतीहरू थपिँदै गएको पनि उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो–‘जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताको ह्रास जस्ता अन्तर सम्बन्धित सङ्कटहरूसँग नेपाललगायत सम्पूर्ण विश्व जुधिरहेको छ । एक्लो प्रयासले यी सङ्कटहरू समाधान हुन सक्दैनन् भन्ने कुरामा हामी प्रस्ट छौँ ।’
राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको मूल नारा ‘हाम्रो भूमि, हाम्रो भविष्य: भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरी प्रतिरोध’ ले हाम्रा अगाडि रहेका साझा चुनौती र अवसरहरूलाई प्रस्ट पारेको उल्लेख गर्नुभयो ।
उहाँले गत वर्ष संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले नेपालको भ्रमणका अवसरमा भन्नुभएको स्मरण गर्दै भन्नुभयो–‘नेपालका हिमालले भोग्नुपरेको सङ्कटका लागि विश्वसामु अझ जोडदार ढङ्गले प्रस्तुत गर्नुभएको थियो । वहाँकै शब्दमा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपाललगायत अन्य पर्वतीय मुलुकहरू एउटा विश्वव्यापी सङ्कटको भुमरीमा फसेका छन् जसको सृजनामा उनीहरूको आफ्नै योगदान नगण्य छ । म आह्वान गर्न चाहन्छु कि यस गम्भीर मुद्दालाई सम्बोधन गर्न विश्व समुदाय एकत्रित भएर लागौँ । हामीलाई अझै ढिला गर्ने सुविधा छैन ।’
जलवायु परिवर्तनको विश्वव्यापी मुद्दाहरूको सम्बोधनमा नेपालले राष्ट्रिय स्तरमा विभिन्न कार्य गर्दै आएको बताउँदै सरकारको नीति तथा कार्यक्रममा घोषणा गरिएको राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रमले जलवायु परिवर्तनका नकारात्मक असर न्यून गर्दै अनुकूलन क्षमता वृद्धि गरी उत्थानशीलता हासिल गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले सो कार्यक्रमले उच्च हिमशृङखला र नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलित रूपमा सम्बोधन हुने बताउनुभयो ।
राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको यस अवसरलाई जीवन, समृद्धि, र आशाको शक्तिशाली प्रतीकको रूपमा बिरुवा रोपेर मनाउन गइरहेको उल्लेख गर्दै यो एउटा प्रतीकात्मक इसारा हो जसले भावी पुस्ताहरूका लागि वातावरण संरक्षण गर्ने हाम्रो अटल समर्पणलाई झल्काउने बताउनुभयो । राष्ट्रपति पौडेलले वातावरण संरक्षणका लागि चौतारी र पोखरीको हाम्रो पुरानो सभ्यताको जगेर्ना गर्न आवश्यक रहेको बताउनुभयो ।
सो क्रममा राष्ट्रपति भवन परिसरमा राष्ट्रपति पौडैलले पलाँसको बिरुवा रोपेर वृक्षरोपरणको शुभारम्भ गर्नुभएको थियो भने उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले वृक्षरोपरण गर्नुभएको थियो ।
कार्यक्रममा मुख्य सचिव वैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न देशका राजदूत तथा दातृ निकायका प्रमुखहरूको उपस्थिति थियो ।