बिन्दु थापा
पाल्पा, जेठ २३ गते । तानसेन नगरपालिका ६ लहरेपिपलस्थित सडकमा ढल व्यवस्थापन कार्य सुरु गरिएको छ । ह्युम पाइप राखेर ढललाई व्यवस्थित गर्न सुरु गरिएपछि यहाँका एक हजार छ सयभन्दा बढी स्थानीय लाभान्वित हुने भएका छन् ।
वर्षौँदेखि ढल व्यवस्थापन हुन नसक्दा पटक पटक स्याफ्टी टङ्की भत्काउनुपर्ने, बनाउनुपर्ने ,घर बहालमा दिन नपाउने होटेल व्यवसायीले ठाउँ नै छोडेर जानुपर्ने जस्ता समस्या भोग्दै आएका स्थानीयले ह्युम पाइप बिछ्याउन सङ्घीय बजेट विनियोजन गरी ढल व्यवस्थापन हुने भएपछि यहाँका बासिन्दा लाभान्वित हुनेछन् । ढलका समस्या भएको कारण व्यवसाय प्रभावित भएका थिए । तानसेन ६ मा पर्ने स्थानीय ढल तानसेन ४ बारुद खानको ढलमा व्यवस्थापन गरिनेछ ।
लहरेपिपल ६ की लक्ष्मी रामझालीको ढल बन्ने भएपछि खुसी भएको बताउनुभएको छ । उहाँले घरमा भएको स्याफ्टी टङ्की बारम्बार भरिने र सफाइको लागि बुटवलबाट ट्याङ्कर बोलाउन पर्ने झन्झटिलो र खर्चिलोबाट मुक्त हुने भएपछि खुसी भएको बताउनुहुन्छ ।
३८ लाखको लागतमा जेठ ४ गतेदेखि पाइप बिछ्याउने काम भइरहेको छ । सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजनाअन्तर्गत निर्माण कार्य गरेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।