• ६ असार २०८१, बिहिबार

पाकिस्तानको कोइला खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु

blog

कराची (पाकिस्तान), जेठ २२ गते । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको कोइला खानीमा सोमबार ग्यास चुहावट भई दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको एक अधिकारीले बताएका छन् । 

खानीमा ग्यास चुहावट भए पछि श्वासप्रश्वासमा असहज भएका कारण मृत्यु भएको प्रान्तीय सरकारको खानी विभागका प्रमुख अब्दुल घानी बलोचले बताए । उनका अनुसार मृतकमा एक ठेकेदार र एक खानी प्रबन्धक पनि थिए ।

निजी कम्पनी युनाइटेड कोल कम्पनीद्वारा सञ्चालित यो खानी प्रान्तीय राजधानी क्वेटाबाट ४० किलोमिटर टाढा अवस्थित छ ।

मार्चमा सोही प्रान्तमा ग्याँस विस्फोट हुँदा १२ जना खानी मजदुरको मृत्यु भएको थियो ।

बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठुलो र सबैभन्दा गरिब प्रान्त हो जुन प्राकृतिक स्रोतहरूमा धनी भएता पनि यसलाई स्थानीयले लामो समयदेखि आफ्नो समुदायबिच निष्पक्ष रूपमा नबाँडिएको भनेर गुनासो गर्दै आएका छन् । रासस/एएफपी