• १० मंसिर २०८१, सोमबार

प्राप्त उपलब्धि र चुनौती

blog

यतिखेर मुलुकमा सिर्जनशील र राम्रा काम भइरहेका छन् । यसबाट रचनात्मकताको नै प्रवर्धन भइरहेछ । दिनहुँ जसो हुने रचनात्मक कामले प्रत्यक्ष रूपमा व्यक्ति र परोक्ष रूपमा समाज तथा मुलुकको हित नै गर्छ । आवश्यक पर्ने वस्तुको उपलब्धता र सेवा प्रवर्धनमा सरलता र सुलभता पनि सिर्जना गरिरहेको हुन्छ । हेर्दा मसिना लाग्छन् तर तिनले दैनिक जीवनमा महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । जस्तो कि अल्लोबाट जुत्ता, कोट, इस्टकोट, झोला उत्पादन भइरहेका छन् । सुपारीका कडा पाततिरको भागबाट थाली कचौरा, सालको पातबाट दुनाटपरी बन्छन् र विदेशसम्म पुग्छन् । 

कृषकले ठाउँ ठाउँमा खरबुजाको खेती गरे । त्यो विषादी प्रयोगविहीन उत्पादन थियो र यसले बजारमा राम्रो भाउ पनि पायो । अहिले हिमाली क्षेत्रमा व्यवस्थित रूपमा स्याउ खेती हुन थालेको छ । त्यसो त पहिलेदेखि नै त्यहाँ स्याउ खेती हुन्थ्यो तर ढुवानी र सुनिश्चित बजार नहुँदा कृषक मारमा परेका थिए । अहिले स्याउको मुख्य उत्पादन क्षेत्र मुस्ताङ, सल्यान र कर्णाली प्रदेशमा समेत बाटो पुगेको छ र किसानका उत्पादन उत्पादनस्थलबाटै उठाउन थालिएको छ । बजारका लागि खासै त्यस्तो समस्या छैन । साहित्य, कला, गीत सङ्गीतमा पनि निरन्तर निखार प्राप्त हुँदै छ ।  

प्रलोभनमा परी मिलीभगत गर्ने स्वार्थी बिचौलियाका कारण स्वदेशी उत्पादक किसान र उद्योगी मारमा पर्ने गरेका छन् । बिचौलियाकै कारण विदेशमा उत्पादित फलफूल, तरकारी, अन्न, लत्ताकपडा आदि वस्तु नेपाली बजारमा सस्तोमा बेच्ने र स्वदेशी किसान तथा उद्योगीको घाँटी निमोठ्ने काम नभएको पनि होइन । नेपाली किसान र उद्योगीले उत्पादन नै नगरून्, विदेशीकै सामान मात्र किनून्, परजीवी बनून्, एकाधिकार कायम गरौँ भन्ने नियत हुन्छ । यसलाई प्रवर्धन गरिरहेका हुन्छन्– दलाल र बिचौलियाले तर स्वदेशी उत्पादनलाई प्रवर्धन गर्न हालै तराईमा समेत लटरम्म स्याउ फलाइएको समाचार आएको थियो । त्यस ठाउँमा उत्पादित स्याउको स्वाद र ब्रान्ड कस्तो हुने हो, त्यसको अहिले नै यस्तो हुन्छ भनेर ठोकुवा गर्न नसकिए पनि उत्पादक किसानले गुलियो र स्वादिलो हुने दाबी गरेका छन् । 

त्यसो त ओखर, कागती, नास्पाती, आँप, ड्र्यागन फल, केरा, मेवा, सुन्तला, जुनार, भोगटे जस्ता फलफूल व्यवस्थित रूपमा उत्पादन गर्न थालिएको छ । खसीबोका, च्याङ्ग्रा, माछा, कुखुरामार्फत मासु तथा अन्डा, दुध आदिमा मुलुक आत्मनिर्भर बन्दै गएको स्थितिमा नेपाली कृषकले नयाँ नयाँ फलफूलको खेती गर्ने अभियान चलाएका छन् । निर्माण सामग्रीमध्ये हामी सिमेन्ट र खानेपानीसँग सम्बन्धित पाइपमा पनि आत्मनिर्भर भएका छौँ । काठमाडौँको सपना मेलम्ची पानी पिउने चाहना पनि पूरा भएको छ । हिमशृङ्खला र विभिन्न झरना र तरेली हुँदै बगेको पानीको अन्तर्राष्ट्रिय ब्रान्डिङ हुनेबारे अध्ययन हुँदै छ । आगामी बजेटले गाँजाको उत्पादन र बिक्री वितरणबारे अध्ययन गर्ने घोषणा गरेको छ । यसले सार्थकता पाएमा नेपालको गाँजा संसारका उत्कृष्ट उत्पादनमध्येमा पर्ने धेरै विशेषज्ञको कथन छ । अमोघ जडीबुटीको निर्यातबाट हामीले धेरै राजस्व प्राप्त गरिरहेका छौँ । यसलाई अझ प्रवर्धन गर्दै लैजाने सरकारले जनाएको छ । 

त्यसो त मुलुकमा काम नै नभएको होइन । हुलाकीमार्ग, चुरेक्षेत्रीय लोकमार्ग, पहाडी लोकमार्ग कतिपय बनिसकेर कतिपय खण्ड खण्डमा बन्दै ती करिब सञ्चालनमा छन् । मेची–महाकाली लोकमार्ग धमाधम विस्तार हुँदै छ । पोखरा र भैरहवा लोकमार्ग बनिसकेर उपयोगमा आइसकेका छन् । गाउँ र ससाना टोल अनि बस्ती जोड्ने बाटाघाटा बनेका छन् र मर्मतसम्भारका काम पनि हुँदै छन् । सुरुङमार्ग, द्रुतमार्ग आदि सम्पन्न हुने क्रममा छन् । करिब करिब तुइन विस्थापित भई ती स्थानमा झोलुङ्गे पुल पनि निर्माण भइसकेको छ । जनकपुर–जयनगर रेल चलिरहेको छ । अमलेखगन्जसम्म रेलमार्ग निर्माण भइरहेको छ । रक्सौलदेखि अमलेखगन्जसम्मको पेट्रोलियम पाइपलाइन बिछ्याउने काम भइसकेको छ । हिमालदेखि पहाडसम्म तीनतारेदेखि चारतारे होटल खुलिरहेका छन् । पर्यटन क्षेत्रमा धेरै काम भइरहेका  छन् । घरबास (होमस्टे) कार्यक्रमले आन्तरिक पर्यटनदेखि बाह्य पर्यटनमा टेवा पु¥याइरहेको छ ।

सञ्चारका क्षेत्रमा मुलुकले फड्को मारिसकेको छ । केहीले पीतपत्रकारिता गरिरहे पनि रेडियो नेपाल, गोरखापत्र जस्ता सन्तुलित र परिपक्व समाचार सम्प्रेषण गर्ने सञ्चारका कारण सकारात्मक चिन्तनले निरन्तरता पाइरहेको स्थिति छ । सुस्वास्थ्य सेवा सुधारोन्मुख छ । अझ आँखा, मुटु, क्यान्सर जस्ता रोगको उपचारका निम्ति मुलुक ‘हब’ बन्ने अवस्था सिर्जना हुँदै गएको छ । शिक्षा प्रणाली व्यवस्थित हुने क्रममा छन् । दैलेखमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन तथा अनुसन्धानका लागि काम भइरहेछ । अब करिब चार महिनामा उत्खनन काम सकिने आयोजनाले जनाएको छ । यसलाई एउटा महत्वपूर्ण प्राप्तिका रूपमा हेर्न सकिन्छ । 

माध्यमिक तहसम्मकै पाठ्यपुस्तक शैक्षिक वर्षको सुरुवातमा विद्यार्थीको हात हातमा पुग्न थालेको छ । कोभिडले बिथोलेको शैक्षिक प्रणाली पुनः जुरुक्क उठेर आफ्नो लय समाएर गतिका साथ बढ्न थालिसकेको छ । गर्मी मौसममा अघोषित लामोछोटो लोडसेडिङ भए पनि सामान्यतः लोडसेडिङको मार खेप्नु परेको छैन । जलविद्युत्सँग जोडिएका कैयौँ आयोजना निर्माणाधीन छन् । भारत र बङ्गलादेशसँग विद्युत् बिक्रीसँग सम्बन्धित सम्झौता भएको छ । प्रसारण लाइन विस्तारको काम भइरहेको छ । विद्युतीकरणसँग जोडिएका हरेक सेवा सुचारु छन् । उद्योग स्थापना, मल उद्योग स्थापना गर्ने चर्चा परिचर्चा भए पनि बजेटका कारण देखाउँदै पन्छाउने काम पनि नभएका होइनन् । काठमाडौँ नगरपालिकाले मल कारखाना खोल्ने योजना सुनाएको छ । सम्भवतः त्यो काम छिट्टै आरम्भ हुने छ । 

अपवादबाहेक महिला सशक्तीकृत भएका छन् । दलित, जनजाति, मधेशी, मुस्लिम, सीमान्तकृत वर्ग र समुदाय शिक्षा, स्वास्थ्य र सेवा क्षेत्रका पहुँचमा पुगिसकेका छन् । राष्ट्रिय मूलधारमा उनीहरूको समाहितीकरण कम महत्वपूर्ण उपलब्धि होइन । यी विषयमा ध्यान दिने र चुस्त दुरुस्त पारदर्शी प्रशासन र राजनीतिलाई पेसा नभई सेवाका रूपमा हेर्न थाल्ने नयाँ पुस्ता आइरहेको छ । युवा विभिन्न बहानामा बिदेसिनुपर्ने स्थितिको अन्त्य गर्ने चुनौती भने नरहेको होइन । 

   

Author

डा. धनपति कोइराला