• १० मंसिर २०८१, सोमबार

विदेशमोह रोक्ने सूत्र

blog

जीवन भनेको एक किसिमको यात्रा नै हो । जिन्दगीको यस्तो यात्रा न बाल्यकालमा अगाडि बढ्छ न त वृद्धावस्थामा नै । यात्रा अगाडि बढ्छ त केवल युवा अवस्थामा । किनकि यो उमेर भनेको आफ्नो भाग्यरेखा आफैँ कोर्ने समय पनि हो । १६ वर्ष उमेर पुगेर ४० वर्ष ननाघेको उमेर समूहको जमात नै वास्तविक युवा हो । कुनै पनि देशको विकासका लागि युवा भनेका महत्वपूर्ण शक्ति र सम्पत्ति हुन् । उनीहरू तुरुन्तै केही होस् भन्ने चाहन्छन् । यस्तो जमातको ज्ञान, सिप र क्षमताको सही सदुपयोग गर्न सकियो भने राष्ट्र निर्माणमा ठुलो सहयोग पुग्छ । देश विकासका लागि युवा जनशक्ति परिचालन गर्नु पर्छ भनेर नेपालको संविधानले ‘युवा नीति २०७२’ लागु पनि गरेको छ । विश्वमै युवाको महत्व बढ्दै जाँदा नेपालले भने आफ्ना युवाशक्तिलाई देशभित्रका विभिन्न सम्भावनायुक्त क्षेत्रमा अझै परिचालन गर्न सकेको छैन । अर्कातिर हाम्रा युवामा विदेशमा मात्रै भविष्य देख्ने सोचाइ सकिनसकी हुर्किंदै र झ्यागिँदै गएको अवस्था छ ।     

हुन त यो युग भनेकै विश्वव्यापीकरणको हो । यस्तो युगमा हरेक मानिस आफू जन्मेकै ठाउँमा बसिरहनु पर्छ भन्ने सोच पनि एक किसिमले अतिवादी सोच हुन सक्छ । फेरि युवा भनेकै गतिशील र चलायमानको समूह भन्ने बुझिन्छ । उनीहरूको इच्छा नयाँ ठाउँ जाने सिक्ने, कमाउने र रमाउने हुन्छ । यसो भन्दैमा सिक्न र कमाउन विदेशनै जानु पर्छ भन्ने पनि छैन । हाम्रा युवामा विदेशप्रति बढ्दै गएको मोह कसरी रोक्न सकिन्छ त भन्ने सन्दर्भमा यस आलेखमा केही सम्भावित थेरापी प्रस्तुत गर्ने जमर्को गरिएको छ । 

शिक्षा प्रणाली/नीतिमा व्यापक सुधार  

नेपालको शिक्षा प्रणाली बढी डिग्रीमुखी छ, रोजगारमुखी एवं उद्यममुखी कम छ । विद्यालय र कलेजमा सिकेको कुराको वास्तविक जीवनसँग धेरै सरोकार हुँदैन । जसका कारण विद्यार्थी रोजगारदाता संस्थामा गएर सजिलैसँग काम गर्न सक्दैनन् । हाम्रा युवासँग डिग्री त छ तर बजारले माग गरे अनुसारको उनीहरूमा ज्ञान र सिप छैन । युवालाई प्राविधिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाका साथै आवश्यक सिप उपलब्ध गराउन सकियो भने उनीहरू कार्यस्थलमा सजिलैसँग काम गर्न सक्छन् । अर्कातिर गुणस्तरीय र रोजगारमूलक शिक्षाको अभावले हामीलाई अपाङ्ग बनाएको छ । हाम्रो शिक्षा प्रणालीमै व्यापक सुधार गरी गुणस्तरीय एवं विद्यार्थीमा उद्यमशीलता विकास गर्ने शिक्षा प्रदान गर्न सकियो भने यसले उनीहरूलाई जागिरे मानसिकताबाट माथि उठाई उद्यमी बन्न प्रोत्साहन गर्छ । जसले गर्दा उनीहरू व्यावसायिक र स्वरोजगार बन्छन् । विद्यालय र कलेजले प्रदान गर्ने शिक्षा गुणस्तरीय र विश्वविद्यालयले दिने शिक्षा अनुसन्धान, अन्वेषण र ज्ञानमा आधारित हुन सकेमा स्वाभाविक रूपमा युवा बिदेसिने छैनन् । आफ्नै देशमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर र उद्यमशीलता एवं स्वरोजगार बन्ने परिस्थितिले युवामा विदेशप्रतिको मोह भङ्ग हुन सक्छ । 

पढ्ने र कमाउने अवसर सिर्जना गर्ने 

हामीकहाँ विदेशमा जस्तो (खास गरी अमेरिका, अस्ट्रेलिया, क्यानडा र अन्य युरोपेली मुलुक) कमाउँदै पढ्दै गर्ने अवसर छैन । जति छ त्यो नगण्य छ र कमाइ पनि ज्यादै कम हुन्छ जसले कुनै अर्थ राख्दैन । फेरि अर्कातिर हामीकहाँ काम गरेर महिना मरेपछि मात्र तलब दिने प्रचलन छ, अझ कतिपय रोजगारदाता संस्थाले त आर्थिक अनुशासन नै पालना गर्दैनन् र तलब पनि तीन÷चार महिनापछि मात्र दिन्छन् । यसले गर्दा काम गर्ने व्यक्तिले खर्च चलाउनै सक्दैन । स्वदेशमै काम गर्दै पढ्ने प्रणालीको विकास गर्न सकियो भने युवाको विदेशमोह स्वतः कम हुन्छ । यसका अतिरिक्त विदेशमा जस्तै हप्ता हप्ताको अन्त्यमा पारिश्रमिक दिने प्रणाली अपनाउन सकेमा थप प्रभावकारी बन्न सक्छ ।  

मुलुकको विकासका स्रोतमा आधारित शैक्षिक व्यवस्था र त्यसमा शिक्षित युवा परिचालन हुन सक्यो भने अध्ययनका लागि विदेश पलायन हुनेको सङ्ख्या पनि घट्दै जान्छ । युवाका लागि लक्षित कार्यक्रम अन्तर्गत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम ‘पढ्दै कमाउँदै कार्यक्रम’ कार्यविधि, २०७८ पनि आयो तर यसबाट लक्षित युवा वर्गले सोचे अनुसारको लाभ लिन भने सकेनन् । यसलाई प्रभावकारी कार्यान्वयन गर्न सकियो भने यसले अवश्य पनि पढ्नकै लागि भनेर युवाको विदेश जाने क्रमलाई घटाउन सकिन्छ ।   

कृषि, पर्यटन, जलस्रोत र सूचना प्रविधि क्षेत्रमा रोजगारी सिर्जना 

नेपालको विकास र समृद्धिको आधार भनेकै कृषि, पर्यटन र जलस्रोत हुन् । कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र वैज्ञानिकीकरण गर्न सकेमा पर्याप्त रोजगारी यही क्षेत्रले सिर्जना गर्छ । यसले एकातिर गुजारामुखी कृषि प्रणालीलाई विस्थापित गर्छ भने अर्कातिर मुलुकलाई कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउँछ । त्यस्तै पर्यटन र जलस्रोत पनि उत्तिकै सम्भावना बोकेको क्षेत्र हो । यसमा गरिने लगानीले प्रचुर मात्रामा रोजगारीका अवसर सिर्जना गर्छ । यो युग भनेको २१ औँ शताब्दीको युग हो अर्थात् सूचना प्रविधिको युग हो । अहिले संसार म्यानुअल प्रविधि अर्थात् ढड्डामा आधारित प्रविधिबाट डिजिटल प्रविधिमा फड्को मारिरहेको छ । चाहे सरकारी होस् वा गैरसरकारी सबैतिर प्रविधि नै प्रयोग बढ्दो छ । सरकारले सूचना प्रविधिमैत्री नीति ल्याउने हो भने यस क्षेत्रमा लाखौँको रोजगारी सिर्जना गर्न सकिन्छ । यसरी कृषि, पर्यटन, जलस्रोत र सूचना प्रविधिको क्षेत्रमा एक किसिमको क्रान्ति हुन सक्यो भने युवाको विदेशमोह भङ्ग हुन सक्छ । 

मातृभूमिप्रतिको कर्तव्यबोध गराउने 

मुलुकको राजनीतिले युवामा आशा र भरोसा जगाउन सक्नु पर्छ । युवामा मुलुकभित्रै केही गर्नु पर्छ भन्ने देशभक्तिको भावना जाग्यो भने राजनीतिले विभिन्न अवसरको सिर्जना गर्न सकेमा देशमा भ्रष्टाचाररहित सुशासन कायम गर्दै दण्डहीनताको अन्त्य भएमा र उज्यालो भविष्य देखाउन सक्ने विकास र समृद्धितर्फ देशलाई अगाडि बढाउन सकेमा युवा पलायन रोक्न सकिन्छ । मुलुकमा राजनीतिक रूपमा लोकतान्त्रीकरण, आर्थिक रूपमा उदारीकरण, सामाजिक रूपमा समावेशीकरण, शासकीय रूपमा विकेन्द्रीकरण अर्थात् सङ्घीयकरण र प्रशासनिक रूपमा सुदृढीकरण हुन सक्यो भने यसले एकातिर मुलुकको विकासमा सहयोग पुग्छ भने अर्कातर्फ युवामा मुलुकप्रतिको माया जाग्दै आफ्नै देशमा केही गरौँ भन्ने भावनाको विकास हुन्छ । यसले गर्दा अवश्य पनि युवाको विदेशप्रतिको मोह भङ्ग हुन सक्छ । 

बसौँ बसौँ लाग्ने वातावरण तयार गर्ने 

अधिकांश युवा बिदेसिने प्रमुख कारणमध्ये एउटा कारण यहाँको वातावरण पनि हो । गाउँमा विकास भित्रिएको अवस्था छ, पूर्वाधार पनि बनिरहेकै छन् तर यति हुँदाहुँदै पनि गाउँमा युवा बस्न चाहँदैनन् किनकि एक त रोजगारी छैन अर्को पढेलेखेका युवा गाउँमा छँदै छैनन् भने पनि हुन्छ । जति छन् बेरोजगार छन्, त्यसैको कारणले उनीहरूको फरक जीवनशैली छ जुन शैली समाजले त्यति रुचाउँदैन । 

अर्कातिर सहरी युवा र सहरमा रहर खोज्न हिँडेका युवा पनि यहाँको सुस्त विकास, हरेक काममा ढिलासुस्ती, बढ्दो प्रदूषण र विविध कारणले पनि उनीहरूको विदेश मोह बढ्दै गएको छ । आफ्नै गाउँ र स्वदेशमा नबसे पनि बसौँ बसौँ लाग्ने लोभलाग्दो वातावरण सिर्जना गर्न स्थानीय सरकारदेखि सङ्घीय सरकारसम्मले पहल गरेमा गाउँबाट सहरमा बसाइँ सरेका र स्वदेशबाट परदेश गएकाहरू पनि अवश्य फर्किन्छन् । विदेश जाने प्रमुख कारण यहाँ विकल्प र वातावरण नभएर हो । राज्यले विकल्प र वातावरण दिन सक्यो भने निश्चय पनि युवामा विदेश मोह होइन, स्वदेश मोह बढ्दै र झ्यागिँदै जाने निश्चित प्रायः छ । 

  

Author

डा. वासुदेव गिरी