फडिन्द्र अधिकारी
लेखनाथ, जेठ २१ गते । पोखरा महानगरपालिका-१३ मा सोमबार बिहान टिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
पोखरा–१३, काहुँखोला बस्ने १८ वर्षीय बबिता रिमालको उपचारका क्रममा मृत्यु भएको हो । घाइते भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा सोमबार दिउँसो रिमालको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले मोटरसाइकल पछाडि सवार रिमालको निधन भएको र घाइते चालक पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे बस्ने वर्ष २९ का कमल थापा क्षेत्रीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिनुभयो ।
घाइते थापाको दुवै खुट्टा र दायाँ हातमा चोट लागेको छ । उहाँको अवस्था सामान्य रहेको शर्माले बताउनुभयो । सोमबार बिहान ८ बजे पोखरा १३ गौडाकोमुखस्थित बिपी मार्गबाट लामाचौरतर्फ जाँदै गरेको ग १ ख ६३९४ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको लु८७प ९५२० नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको थियो ।
उक्त मोटरसाइकल, टिपर र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।