• ११ असोज २०८१, शुक्रबार

तीन दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा प्युठानको जनजीवन प्रभावित

blog

विमलप्रसाद पोख्रेल
प्युठान, जेठ २१ गते ।
 तीन दिनदेखि प्युठानमा विद्युत अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । लमहीबाट झिम्रुक पावर हाउस आउने १३२ केभीको लाइन दाङको अर्जुनखोलाबाट उत्तरतर्फको भित्री घना जङ्गल चक्लिघाट भन्ने स्थानको भिरमा मुख्य लाइनको एउटा फेज तार जेठ १९ गते राति आएको हावाहुरीका कारण तार चुडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

प्युठानका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद अर्याल १३२ केभी को टावरको तार भएको र सो स्थान भौगोलिक रूपमा निकै कठिन रहेकाले मर्मत कार्य गर्न कठिन भएको जानकारी दिनुभयो । जसका कारण विद्युत् सुचारु गर्न अझै केही समय लाग्ने विद्युत वितरण शाखा प्युठानले जनाएको छ  ।

झिम्रुक जलविद्युत् केन्द्र र प्युठान वितरण केन्द्रको संयुक्त टोली उक्त लाइन मर्मत कार्यमा खटिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

विद्युत नहुँदा प्युठान जिल्लाभर सूचना, सञ्चारबाट प्रभावित भएको छ । वैकल्पिक ऊर्जाका रूपमा प्रयोग गरिने सरकारी तथा गैरसरकारी कार्यालयका इन्भर्टरहरू समेत बन्द हुँदा कामकाज ठप्प भएको छ ।