• १२ मंसिर २०८१, बुधबार

सिद्धार्थ राजमार्ग निर्माणमा ढिलाइ

blog

सडक निर्माण भइरहेको जोखिमयुक्त क्षेत्र । तस्बिर : रेखीराम राना

रेखीराम राना
तानसेन, जेठ २१ गते ।
सिद्धार्थ राजमार्गको चौडा गरिएको क्षेत्रको निर्माणमा ढिलाइ भएको छ । गत वर्षदेखि नै सडक निर्माणको काम सुरु भए पनि निर्माण व्यवसायीका कारण सडक निर्माणमा ढिलाइ भएको छ । सडक समयमै बन्न नसक्दा दुर्घटना हुने जोखिम बढेको छ ।

सिद्धार्थ राजमार्गको लामीडाँडादेखि बर्तुङ्सम्मको सडक कालोपत्रे गर्ने, नाली बनाउने, टेवा पर्खाल लगाउने काम भइरहेको छ । सिद्धार्थ राजमार्गको डेढ किलोमिटर कालोपत्रे, वाल निर्माण, सिद्धबावा रामापिथेकस नजिकै ८० मिटर सडक ढलान, सिद्धार्थ राजमार्गकै सेरामा राजमार्ग ढलानको काम भइरहेको छ ।

तीन स्थानमा सडक स्तरउन्नति तथा सुधारको काम गर्ने गरी गत वर्ष झण्डै चार करोड लागतथमा ठेक्का सम्झौता भएको थियो । निर्माणको जिम्मेवारी पाएको सत्यवती कन्ट्रक्सन काठमाडौँले निर्माणमा ढिलाइ गरेको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बावुराम सापकोटाले बताउनुभयो ।

सडक डिभिजन कार्यालय पाल्पाले भने निर्माण व्यवसायीले ८० प्रतिशत काम सकेको जनाएको छ । डेढ किलोमिटर सडकमा समेत बेस र सबबेस राख्ने काम भइरहेको कार्यालयका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिनुभयो । उहाँले चालु आवभित्रै निर्माण व्यवसायीले काम सक्नुपर्ने बताउनुभयो । रामापिथेकस र सेरामा ढलानको काम सकिएको अवस्था छ ।

सडक निर्माण कार्यमा ढिलाई हुँदासास्ती बेहोर्नुपरेको यात्रुले गुनासो गरेका छन् । सडक कालोपत्रे गर्नका लागि डेढ किलोमिटर क्षेत्रमा एक वर्षदेखि खाल्डो खनेर राखिएको छ । त्यसले सडकमा यात्रा गर्ने यात्रु दुर्घटनामा परेको तानसेन–६, का बासिन्दा टेकबहादुर थापाले बताउनुभयो । सडक बनाउने भनेर नाली, वाल बनाउने क्रममा एक वर्षसम्म सडकमा खाल्टो बनाएर छाडेको उहाँले बताउनुभयो ।

पाँच वर्षअघि तानसेन नगरपालिकाले पाँच किलोमिटर सडक चौडा गरेको थियो । नगरपाालिकाको बजेटले सिद्धार्थ राजमार्गको बाँसटारीदेखि धोबीधारासम्म सडक तीन लेनको बनाउने गरी कटान गरेको थियो । सोही स्थानमा लामो समयदेखि सडक बन्न नसक्दा धुलो र हिलोका कारण यात्रुले दिनहुँ सास्ती बेहोर्नुपरेको थियो ।