ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ २० गते । म्याग्दीको पश्चिम भेगलाई सडक सञ्जालसँग जोड्ने बेनी–दरबाङ सडक योजनाअन्तर्गत दोस्रो खण्डको करिब चार किलोमिटर सडक कालोपत्र गर्न सुरु गरिएको छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत मङ्गला गाउँपालिका २ सिमदेखि तोराखेत–बाबियाचौर–लाम्पाटा–पानाबगर सम्मको सडक कालोपत्र थालिएको हो । बेनी–दरबाङ सडक मार्ग खुलेको करिब २० वर्षपछि यो सडक कालोपत्र हुन थालेको हो । सडक मार्ग खुलेको वर्षौ हुँदा पनि सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खायाममा हिलाम्मे सडकका कारण सर्वसाधारणहरुले कष्ठपूर्ण यात्रा गर्न बाध्य छन् ।
निर्माण व्यवसायीको ढिलासुस्ती, कोरना महामारी र भौगोलिक कठिनाइ लगायतका कारणले गर्दा बेनीदेखि जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरबाङ जोड्ने सडक योजनाले पूर्णता पाउन नसकेको हो ।
बेनी–दरबाङ सडक योजनाको दोस्रो खण्डमा सडक फराकिलो पार्ने, नाली, पर्खाल निर्माण गर्ने, सब बेस र बेस बिछ्याउने काम सकेर शुक्रबारदेखि कालोपत्रे गर्न सिमतर्फबाट प्राइम कोट (बिटुमिन) बिछ्याउन थालिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार डिबिएसडी प्रविधिको कालोपत्रे गर्न चिप्स बिछ्याउनुभन्दा २४ घण्टा पहिले प्राइम कोट राख्न थालिएको छ । सिमदेखि तोराखेत हुँदै बावियाचौरसम्मको करिब साढे दुई किलोमिटरमा प्राइम कोट बिछ्याउने काम सकिएको निर्माण व्यवसायीका प्रतिनिधि डम्बर सापकोटाले जानकारी दिनुभयो ।
तोराखेत खण्डमा सडकको क्षेत्राधिकारमा पर्ने जग्गाधनीहरुको विवादले करिब ६० मिटर कालोपत्रे गर्न र संरचना निर्माणलाई अन्तिम रुप दिन नपाएको उहाँले बताउनुभयो ।
सिमदेखि पानाबगर खण्डको तीन किमी आठ सय मिटर सडक कालोपत्रे गर्न विसं २०७८ पुस १८ गते अमर–ओमबुद्ध जेभीसँग १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता भएको थियो ।
सडकलाई आठ मिटर फराकिलो बनाएर र सात मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्रे गर्न लागिएको पूर्वाधार विकास कार्यालयका प्रमुख पौडेलले जानकारी दिनुभयो ।
अठार महिनाको ठेक्का अवधि रहेको सो सडक तीन वर्षमा सम्पन्न हुन लागेको हो । थप बजेट व्यवस्थापनका लागि कार्यालयले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा पहल गरेको छ । २४ किमी दूरीको बेनी–दरबाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र सडक हो ।
सडकको पहिलो खण्डको १२ दशमलव पाँच किमी दूरीको बेनी–सिम खण्डमा दुई वर्षअघि कालोपत्रे भएको थियो । बिरुवा–क्याराभान जेभीले विसं २०७६ असार ३१ गते २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का लिएको बेनी–दरबाङ सडकको तेस्रो खण्डमा पर्ने मङ्गला गाउँपालिका–२ लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङ सम्मको ६.८ किमी सडक निर्माण योजना भने निर्माण व्यवसायीको लापरबाहीका कारण अलपत्र परेको छ ।
सडक फराकिलो, पर्खाल, नाली निर्माणलगायतका पूर्वाधारका काम कालोपत्रका लागि तयार पारेको सडक निर्माण व्यवसायीको ढिला सुस्तीका कारण कालोपत्र हुन सकेको छैन । सडक कालोपत्रको काम थाल्न निर्माण व्यवसायीलाई ताकेता गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख पौडेलले बताउनुभयो । विसं २०७८ जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको यस खण्डको हालसम्म करिब ७३ प्रतिशत भौतिक प्रगति भएको उहाँले बताउनुभयो ।