• १० मंसिर २०८१, सोमबार

सांस्कृतिक पुनर्जागरणको खाँचो

blog

संस्कृति भन्नेबित्तिकै हामी जहिल्यै हाम्रा पुर्खाले चलाउँदै आएका परम्परागत मान्यतालाई मात्रै ठान्छौँ । प्राचीनकालदेखि चल्दै आएका धर्म, कला, भाषा, साहित्य आदिको परम्परागत स्वरूप पक्कै पनि संस्कृति हो तर त्यति मात्रै होइन । संस्कृति त त्यस्तो कुरा हो, जसले हाम्रो पहिचान कायम गर्छ । संस्कृति भनेको त्यस्तो संस्कार हो, जसले हामीलाई बढीभन्दा बढी परिष्कृत बनाउँदै लैजान्छ । हाम्रा सामाजिक जीवन, राजनीति, अर्थव्यवस्था आदिमा झल्किने क्रियाकलाप नै संस्कृति हो । संस्कृति भनेको समग्रमा समाजको परिचय हो । नवनिर्माणका नाममा हामीले जुन परम्पराको थालनी गर्छौं, कालान्तरमा त्यही नै संस्कृति बन्छ । त्यसैले कस्तो संस्कृतिको निर्माण गर्ने भन्ने हाम्रै हातमा छ र सदैव असल संस्कृति निर्माणमा मानव समुदायको भूमिका रहनु पर्छ ।

यसै प्रसङ्गमा केही समयअघि सामाजिक सञ्जालमा सहयोगी मनसम्बन्धी एक भिडियो हेर्ने अवसर मिलेको थियो । नर्वेमा रेस्टुराँमा खान आउनेमध्येका कतिपयले आफूले खाएको भन्दा केही बढी पैसा रेस्टुराँमा छाड्ने प्रचलन सुरु गरेका छन् । त्यस्ता पैसाको छुट्टै हिसाब रेस्टुराँ मालिकले राख्ने गर्छन् । साथमा पैसा नभएका भोका गरिब वा काम गर्न अशक्त बुढाबुढी रेस्टुराँमा गएर त्यस्तो कसैले छाडेको पैसा बाँकी छ कि छैन भनेर सोद्धा रहेछन् । साहुहरूले बाँकी भए छ र नभए छैन भन्दा रहेछन् । त्यसरी छाडिएको पैसाले भोकाहरूले आफ्नो पेट भरेर हिँड्ने चलन चलाइएको रहेछ । यसो गर्दा पैसा नहुनेले कसैसँग हात फैलाउन नपर्ने र दान वा समाजसेवा गर्न चाहनेले गोप्य रूपमा सेवा गर्ने अवसर मिल्ने रहेछ ।

दान गोप्य हुनु पर्छ भन्ने पूर्वीय मान्यतालाई आजभोलि पश्चिमाले अनुसरण गर्न थालेका रहेछन् । दाहिने हातले दान गरेको देब्रे हातले थाहा पाउन हुँदैन भन्ने शास्त्रमा लेखिएको छ । नेपालमा पनि भोकालाई सहयोग गर्ने हात नभएका होइनन् । कोही नाङ्गा मानिस जाडोमा कठ्याङ्ग्रिएको देखेमा कपडाको व्यवस्था गरिदिने प्रशस्तै छन् । सयको दान गरेर हजारको फोटो सामाजिक सञ्जालमा राख्नेहरू सबैले देखिरहेकै छौँ । गोप्य दानको संस्कृति भने हराउँदै गएको छ । के नेपालमा पनि त्यसै गरी सहयोग गर्ने संस्कारको विकास गर्न सकिँदैन ? नसकिने त होइन तर कसैले बढी पैसा छाड्यो भने रेस्टुराँ मालिकले नै खाइदिने त होइन भन्ने आशङ्का सहयोग गर्नेमा हुन्छ । कतिपय साहुजी हेर्दा नगर्लान् भन्ने पनि छैन ।

पहिले पहिले नेपाली विश्वमै सबैभन्दा विश्वासिला गनिन्थे तर हिजोभोलि विदेशीले भर गर्नु त परैको कुरा भयो एक नेपालीले अर्को नेपालीलाई विश्वास गर्ने वातावरणसमेत हराउँदै गएको छ । सबैभन्दा पहिला नेपालीले यही विश्वासको संस्कृतिलाई पुनर्जागरण 

गर्नु पर्ने छ । एकआपसको विश्वास हराउँदै जाँदा यसले पारेको नकारात्मक प्रभावले चौतर्फी असर गरिरहेको छ । मानिसमा रहेको आत्मविश्वास हराउँदै जान थालेको छ । नेपालीको दिमागमा हरबखत नकारात्मक विचार र सोचले डेरा जमाउँदै गएका छन् । एकले अर्कोप्रति सकारात्मक दृष्टिले हेर्ने गरेको समाजको कुनै पनि क्षेत्रमा पाउन मुस्किल बन्दै गएको छ ।

हाम्रा स्थापित संस्कार, संस्कृति, परम्परा, धर्म, रीतिरिवाजलाई रूढिवादको सङ्ज्ञा दिएर नयाँ संस्कृति स्थापित गर्ने नाममा विकृतिलाई भित्र्याउने गरिएको छ । ब्राह्मण वर्गले जनै लगाउने र टुप्पी पाल्ने कार्य गर्नुलाई अन्धविश्वास मानियो । आफ्नो आस्थाबमोजिमका मन्दिर गएर पूजापाठ गर्नुलाई अन्धभक्ति भन्न थालियो । नेपालमा प्रत्येक जातजातिका आआफ्नै धर्म, संस्कृति र परम्परा छन् तर ती परम्परा भत्काउनुलाई नै विकास मान्न थालियो । पुर्खाले जे जसो गरेका थिए, त्यसै गर्नेहरूलाई परम्परावादी भनियो तर नवनिर्माण गर्ने नाममा भ्रष्टाचारको संस्कृतिलाई व्यापक महìव दिइयो । फलतः मुलुक ओरालो लागेको लाग्यै छ ।

कतिपय परम्परा भत्काउनै पर्ने पनि छ । धर्म र संस्कारका नाममा कतिपय अमानवीय परम्परा स्थापित गरिएका पनि छन् र तिनको निरन्तरताले कसैको भलो गर्दैन । त्यस्तै केही उदाहरण दिएर हाम्रा पितापुर्खाका सबै परम्परा ध्वस्त बनाउन सक्रिय हुनेहरूले नेपालीको मौलिक पहिचान नै सखाप पार्ने डर पनि उत्पन्न भएको छ । हो, छाउपडीको संस्कारलाई भत्काउनै पर्छ तर महिनाका ती चार दिन मन्दिर गएर पूजा गरे हुन्छ भन्ने प्रचारले असल संस्कारको थालनी गर्दैन । नेपालमा परम्परागत रूपमा बसेका सार्वजनिक स्थलका छुवाछुत प्रथाले मानव मानवका बिचमा विभेद गरेको छ जसले गर्दा सामाजिक एकता कायम हुन सकेको छैन ।

भ्रष्टाचारमा जो जति दिग्गज छ, उसको समाजमा उत्ति नै बढी मानसम्मान र इज्जत रहने संस्कृतिको विकास हुन पुगेको छ । भ्रष्टाचारबाट अकुत सम्पत्ति आर्जन नै नेपालको अब्बल नवसंस्कृति जस्तै भएको छ । राजनीतिक क्षेत्रदेखि प्रशासनिक निकायसम्मका सबै क्षेत्र भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । सोझो सचिव छ भने ऊ कुनै पनि मन्त्रीको रोजाइमा पर्दै पर्दैन । भ्रष्टाचारका मुहानका बारेमा ज्ञाता सचिवलाई आफ्नो मन्त्रालयमा तान्न मन्त्रीको हानथाप हुने संस्कार बसिसकेको छ । मुलुकलाई यसबाट मुक्ति दिलाउँदै सदाचारको संस्कृति बसाल्न क्रान्ति गर्नुपर्ने आवश्यकता अहिलेको छ तर यसमा सम्बद्ध निकाय तथा व्यक्तिको ध्यान जान सकेको देखिँदैन ।

प्रशासनको ढिलासुस्तीका बारेमा त कुरै गर्नै पर्दैन । भोलि भोलि भनिकन बितिगो बक्सियोस् आज झोली भनी लेख्ने भानुभक्तका पालामा रहेको ढिलासुस्ती आज झन् बढेर गएको छ । कुनै पनि काम आजै फत्ते हुन्छ भन्ने न नागरिकले ठान्छन्, न प्रशासनले नै गर्नु पर्छ भन्ने मान्यता राख्छ । एक घण्टामा हुनुपर्ने काम दुई दिनभित्र सकियो भने नागरिकले चाँडै भयो भनेर खुसी मान्ने संस्कृति बसिसकेको छ । चुस्त प्रशासनको संस्कार आजको आवश्यकता हो तर यसमा पुनर्जागरण कोबाट कहिलेदेखि आरम्भ हुन्छ कसैले भन्न सक्दैन ।

करेसाबारीदेखि गमलासम्म जहाँ रोपे पनि हुने धनियाँसम्म रोप्ने बानी हराइसकेको छ र बर्सेनि अर्बौं रुपियाँको धनियाँ विदेशबाट आयात हुन्छ । सबैभन्दा सम्मानित वर्ग कृषकलाई सबैभन्दा तल्लो ठान्दै जाँदा कृषिजन्य उपजको उत्पादन नेपालमा ठप्पप्रायः भइसकेको छ । हातगोडामा माटो दलिएकालाई सम्मान गर्नुपर्नेमा हेलाँ गर्दै जाँदा केही दशकअघिसम्म धान निर्यात गर्दै आएको मुलुक नेपाल आयात नगरी खानै नपुग्ने अवस्थामा पुगेको छ । नयाँ संस्कृति निर्माण गर्ने हो भने उत्पादनको संस्कृति विकास गरिनु पर्छ तर नेपालमा सुतीसुती खानेहरूको समृद्धिलाई प्राथमिकतामा राख्नाले विकासको साटो विनाश हुँदै गएको छ ।

शारीरिक तन्दुरुस्तीका लागि अपरिहार्य कोदो, मकै जस्ता अन्नलाई कुअन्न भनियो, जसका कारण यस्ता अन्नका उपभोक्तामा कमी आउँदै गयो भने उत्पादन पनि हराउँदै गयो । हिजोआज होटेलमा गएर कोदोका ढिँडो र गुन्द्रुक खाने चलन चल्दै गएको छ तर घरघरमा पकाउने बानी भने परेको छैन । प्लास्टिक कोटेड पालिस गरिएका शरीरका लागि फाइदाजनक हुन नसक्ने चामलमा हैसियत देख्ने संस्कार बसालेकाले विकृत संस्कृतिको विकास हुन पुगेको छ । पोकामा आएका चाउचाउको सट्टा पाहुनालाई भुटेको मकै र मोही दिने हाम्रो पुरानो संस्कृतिलाई पुनः जागरण गर्नुपर्ने हो तर यसमा समय निकै लाग्ने देखिन्छ ।

मूलतः देशलाई आत्मनिर्भर बनाउने अभियान चलाउनु पर्ने भएको छ । आयातमुखी अर्थव्यवस्थालाई निर्यातमुखी बनाउनै पर्छ । निर्यातयोग्य बन्न उत्पादन जरुरी छ । नेपालले उत्पादनका क्षेत्रमा विशेष ध्यान दिनुपर्ने क्षेत्र कृषि नै हो । अन्य औद्योगिक क्षेत्रबाट नेपालले त्यति धेरै फाइदा लिन नसक्ने सबैलाई थाहै छ । अझ नेपालमै पाइने कच्चा पदार्थमा आधारित उद्योगलाई प्राथमिकतामा राखेर अन्य उद्योगलाई प्रोत्साहन गर्दै जानु पर्ने हो तर मुलुक कता अल्मलिएको छ पत्तो पाउनै सकिएको छैन । उत्पादन गर्ने हात सबै बिदेसिन बाध्य भएका छन् । विदेशबाट आयात गरिएको चामलको खिरभन्दा मुलुकमै उत्पादित फापरको ढिँडोमा इज्जत देख्ने संस्कृतिको विकास अपरिहार्य छ ।

मुख्य कुरा राजनीतिक क्षेत्र सदाचारको बाटोमा लाग्नै पर्छ । यो दल वा त्यो दल होइन कि सत्ता जोगाउन सबै दलले सहयोग लिनै नहुने व्यक्तिहरूको सहयोग लिने गरेका छन् । प्रहरीले खोरमा राख्नुपर्नेलाई मन्त्री बनाएर भए पनि आफ्नो सत्ता जोगाउने अपसंस्कृतिको विकास भएको छ । आफू सत्तामा रहुँ वा नरहुँ जहिल्यै सदाचारीको सहयोगमा मात्र सरकार चलाउँछु भन्ने राजनीतिज्ञको आवश्यकता बढ्दै गएको छ । राजनीतिमा लागेका, सत्तामा रहेका र मुलुकको उच्च ओहोदामा बस्नेहरूले सदाचारको संस्कृति बसाले भने मुलुक विकसित हुन र मुलुकमा असल संस्कृतिको विकास गर्न कुनै कठिनाइ छैन ।

  

Author

डा. शान्तिकृष्ण अधिकारी