बिन्दु थापा
तानसेन, जेठ १९ गते । तानसेन नगरपालिका ७ मा रहेको पाल्पाकै प्रख्यात ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय महत्त्व बोकेको प्रभास तालको सौन्दर्यीकरण र संरक्षणमा चासो देखाउन थालिएको छ ।
तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरपालिका भित्र ऐतिहासीक ठाउँ धेरै रहेको र यसको संरक्षण गर्न बजेटका कारण समस्या परेको बताउनुभयो । श्रेष्ठले तानसेन नगरपालिका ७ मा रहेको प्रभास ताल पनि धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेले आगामी आर्थिक वर्ष २०८१।८२ मा केहि रकम विनियोजन गरेर काम गरिने बताउनुभयो ।
तानसेन नगरपालिका–७ का वडा अध्यक्ष प्रदिप खनालले तालमा रहेको पुरानो धान कमलका फुलहरु फोहोरका कारण हराउँदै गएपछि यसको संरक्षण गर्न थालिएको बताउनुभयो । खनालले भन्नुभयो, ‘‘तालमा फोहोरजन्य पर्दाथ थुप्रिएका थिए, सबै हटाइसकिएको छ । फोहोर व्यवस्थापन गर्न कठिन भएको थियो । नगरपालिकासँग सहकार्य गरी नगरकै कर्मचारी आएर सरसफाइ गरिएको छ । तालमा दुर्गन्ध फैलिएको थियो । अहिले आन्तरिक तथा बाह्य पर्यटक आएर फोटो खिच्न थाल्नुभएको छ ।’’
स्थानीय सरोकारवालाले तालको संरक्षण गर्दै पर्यटनको आकर्षण बनाउन लाग्नुपर्ने बताएका छन् । पर्यटकको आकर्षणको केन्द्रबिन्दु मानिएको यस ताललाई कमलपोखरीका नामले पनि चिनिन्छ । अहिले प्रभास तालमा पाइने कमल फूल फुलेर ताललाई मनमोहक बनाएको छ जुन तालमा फुलेको कमल हेर्दा जो कोहिको मन लोभिन्छ ।
स्थानीय कृष्णबहादुर थापाले तालमा सञ्चालन हुँदै आएको डुङ्गा बन्द भएकाले यसलाई पुनः सञ्चालनमा ल्याउने खालको योजना बनाउनुपर्ने बताउनुभयो । थापाले भन्नुभयो, ‘‘पहिले जिल्लामा भित्रने पर्यटकले डुङ्गामा चढेर दिनभर तालको अवलोकन गर्ने गरिन्थ्यो । तर अहिले यो हराएको छ । पछिल्लो समयमा तानसेन नगरपालिका र वडा ७ ले देखाएको यो चासो सराहनीय छ । अझै यसलाई पर्यटकीय ऐतिहासिक क्षेत्रको संरक्षण गर्नेतर्फ सम्बन्धित निकायले समयमै सोच्नुपर्ने बेला आएको छ ।’’
प्रभास ताललाई संरक्षण गर्दै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पर्ने सरोकारवाला बताउँछन् ।