• १० मंसिर २०८१, सोमबार

जनपक्षीय पत्रकारका आदर्श

blog

कृष्ण सेन इच्छुक क्रान्तिकारी पत्रकारिताको वैचारिक र साङ्गठनिक आधार स्तम्भ हुनुहुन्थ्यो । स्पष्ट विचार, निष्ठा र अदम्य साहसका साथ बलिदान दिनुभएका इच्छुकको नाम आदर र उच्च सम्मानका साथ लिइन्छ । इच्छुक जति बाँच्नुभयो, निष्ठापूर्ण जीवन बाँच्नुभयो । आफूलाई गौरवपूर्ण बलिवेदीमा इमानदारपूर्वक समर्पण गर्नुभयो । कथनीलाई इमानदारपूर्वक व्यवहारमा पनि प्रमाणित गर्न सक्यो, तुच्छ स्वार्थलाई सचेत प्रयत्नबाट सर्वथा त्याज्य ठान्यो । तमाम चुनौतीलाई आदर्शको शृङ्खला खडा गर्दै ललका¥यो, यस्ता अजम्बरी योद्धा इच्छुकको स्मरण जनपक्षीय पत्रकारका लागि औपचारिकता मात्र होइन ।

मान्छे गुमाउनुको पीडा उसैले मात्र महसुस गर्न सक्छ, जसले आफन्त गुमाएको हुन्छ । इच्छुकको शहादत त्यस्तै बन्यो । हामी सबैले आफन्त र अभिभावक गुमाएको महसुस ग¥यौँ । मृत्यु त जीवनको शाश्वत सत्य नै हो । ढिलो वा चाँडो मृत्युको सामना सबैले गर्नै पर्छ तर जीवनलाई आदर्शमय जिउने र मृत्युलाई पनि आदर्शमय बनाउने इच्छुकप्रति सादर नमन । 

पत्यार नलागी नलागी, आँसु बहाउँदै इच्छुकलाई अलबिदा भनेको पनि २२ वर्ष बितेछ । भारतीय पत्रकार, साहित्यकार र बुद्धिजीवीसँग जनादेशको प्रकाशनका लागि अन्तर्क्रिया र अभिमत लिँदै गर्दा राम कार्कीसहित पङ्क्तिकारलाई दिल्लीमा गिरफ्तार गरी नेपालमा सुपुर्दगी गरिएको ठिक अगाडि इच्छुकको हत्या भएको सार्वजनिक भएको थियो । 

पङ्क्तिकारका लागि व्यक्तिगत रूपमा इच्छुक दुई वटा भूमिकामा हुनुहुन्थ्यो–एउटा नेता र दोस्रो अभिभावक । उहाँ मेरो आमाले नजन्माएको दाजुसमान हुनुहुन्थ्यो । सिन्धुली घरबाट काठमाडौँ क्याम्पस पढ्न आउँदा हिँड्ने बेलामा मेरा पिताजीले इच्छुकलाई सम्बोधन गरेर पत्र लेखिदिनुभएको थियो । त्यतिखेर अहिले जस्तो सञ्चार सुविधा थिएन । काठमाडौँ आएको केही महिनापछि मात्रै उहाँसँग मेरो भेट भयो । जुन दिन मैले उहाँलाई विद्यार्थीको सम्पर्क हुने घण्टाघरमुनि भेटेँ । 

कृष्ण सेन विद्यार्थी आन्दोलनमा सुपरिचित नाम थियो । काठमाडौँको सार्वजनिक भित्तामा उहाँको रिहाइका लागि लेखिएका अक्षर मेटिएका थिएनन् । उहाँसँगको सम्पर्कसँगै म पनि काठमाडौँमा विद्यार्थी आन्दोलनमा सङ्गठित भएँ । निरङ्कुश पञ्चायतको आखिरी समयमा संयुक्त विद्यार्थी आन्दोलनका क्रममा उहाँसहित सूर्यप्रकाश सुवेदी पथिक, ईश्वरचन्द्र ज्ञवाली, हरि रोकालगायत हामी थुप्रै गिरफ्तार भयौँ । हिरासत र जेलमा झन्डै १० महिनाजति सँगै बस्यौँ । जेलमा बस्दा उहाँसँगको घनिष्ठता झन् बढ्यो । सानै उमेरमा जेलमा बस्दा पनि उहाँको आदर्श नेतृत्व र अभिभावकत्वले मलाई आन्दोलनमा लागिरहन र कठिनाइको सामना गरिरहन उत्प्रेरणा जगायो । वर्ग पक्षधरता र आन्दोलनमा होमिन मार्गदर्शन ग¥यो ।

वैचारिक र साङ्गठनिक मात्र होइन, व्यक्तिगत रूपमा पनि मेरो परिवारसँग उहाँको गहिरो सम्बन्ध थियो । व्यवहारतः हामी एकै परिवारका सदस्य थियौँ । त्यो बेलामा प्रायः पार्टीका नेता तथा कार्यकर्ताको वरियता हुँदैन थियो । व्यक्तिगत स्वार्थ सिद्ध गर्नका लागि सम्बन्ध बन्दैनथ्यो । त्याग र बलिदानका लागि प्रतिस्पर्धा हुन्थ्यो । पद र सुविधाका लागि प्रतिस्पर्धा हुँदैन थियो । उहाँले मेरा दिदीबहिनीको हातबाट वर्षौं टीका लगाउनुभयो । यसरी उहाँ ठुलदाइको भूमिकामा रहनुभयो । 

जेलबाट निस्केपछि लेखनबाट आन्दोलनगामी भूमिका खेल्ने प्रस्ताव उहाँले पार्टीमा राखेपछि ‘योजना साप्ताहिक’ सम्पादनको जिम्मेवारी उहाँले पाउनुभयो । त्यतिबेला योजना साप्ताहिक नेकपा (मशाल) को अघोषित मुखपत्र थियो । त्यसको वैचारिक तथा व्यवस्थापकीय जिम्मेवारीमा भक्तबहादुर श्रेष्ठ र ईश्वरीप्रसाद दाहाल हुनुहुन्थ्यो । सम्पादनको मुख्य भूमिकामा वरिष्ठ पत्रकार शक्ति लम्साल हुनुहुन्थ्यो । सुरेश आले मगर, बाबुराजा महर्जन, यदु गौतम, कुमार दाहालहरू पहिलेदेखि नै त्यहाँ कार्यरत हुनुहुन्थ्यो । उहाँले मलाई पनि ‘योजना साप्ताहिक’ मा जोड्नुभयो । 

योजना साप्ताहिकमाथि शासकको ठुलो प्रहार थियो । अञ्चलाधीश कार्यालयबाट कडा सेन्सरसिप लगाइएको थियो । फलामको अक्षरबाट ‘कम्पोज’ हुने त्यो बेला अञ्चलाधीश कार्यालयका अधिकारीको ‘सेन्सर’ का कारण पत्रिका बजारमा पुग्दा चाल्नो जस्तो हुन्थ्यो । पत्रिकामाथि निरन्तरको शासकको निगरानी र आक्रमण तथा पार्टीबाट पनि व्यवस्थापन गर्न कठिनाइ भएपछि पत्रिकालाई निरन्तरता दिन कठिन भयो ।

बहुदलीय व्यवस्थाको स्थापनाको केही समयपछि नेकपा (मशाल), चौथो महाधिवेशन र सर्वहारावादी श्रमिक सङ्गठनबिचमा पार्टी एकताका लागि एकता संयोजन समिति बन्यो । मोहनबिक्रम सिंहले नेतृत्व गर्नुभएको तत्कालीन पातलो मसालबाट हरिबोल गजुरेल, बाबुराम भट्टराईलगायतले विद्रोह गर्नुभयो । नेकपा (एकताकेन्द्र) बन्यो । बाबुराम भट्टराईको पहलमा जनादेश साप्ताहिक दर्ता र सञ्चालन भयो । एकता महाधिवेशनमा केन्द्रीय सदस्यभन्दा लेखनबाट नै आन्दोलनमा सहयोग गर्ने इच्छा इच्छुकले व्यक्त गर्नुभएका कारण उहाँ जनादेशको नेतृत्वकर्ता बन्नुभयो । उहाँले जनादेशमा मलाई पनि जोड्नुभयो । साहित्य लेखन र पार्टी आन्दोलनमा उहाँ निकै पहिलादेखि भए पनि पत्रकारितामा हामी सँगसँगै लागेका हौँ । 


कृष्ण सेन इच्छुक, महेश्वर दाहाल र सूर्यप्रकाश सुवेदी

सुरुवातमा हामीले गरेको पत्रकारिताभन्दा अहिलेको पत्रकारिता निकै फरक छ । २०३६ सालको आन्दोलनपछि मिडियाहरू निरङ्कश पञ्चायती व्यवस्थाका बाबजुद विविधतायुक्त थिए । भलै त्यतिबेला राज्यको कडा सेन्सरसिप थियो । ०४६ सालको जनआन्दोलनपछि केही वर्षसम्म मिडियाहरू साँच्चै फस्टाएका थिए । तिनीहरूले राजनीति, सामाजिक तथा आर्थिक जीवनका विभिन्न पक्षलाई उजागर गर्ने, बहस गर्ने गर्दथे । ती विभिन्न राजनीतिक पार्टीहरूको विचारसँग निकट थिए । कोही दक्षिणपन्थी, कोही यथास्थितिवादी तथा कोही वामपन्थी विचारसँग निर्देशित भएर प्रकाशित हुन्थे । ती पत्रिका पार्टीका विचार, राजनीति, आर्थिक तथा सांस्कृतिक विषयमा तीव्र बहस गर्ने माध्यम थिए । 

सन् १९९० को दशकपछि विश्वको अर्थतन्त्र नवउदारवादी बजार व्यवस्थामा तीव्र रूपमा मोडियो । नेपालमा पनि त्यसको हावा र प्रभाव बढ्दै गयो । मिडियामा अवसर देखेर ठुला लगानी भए । बिस्तारै पार्टीनिकट र मुद्दा केन्द्रित मिडिया कमजोर हुँदै गए । मिडियालाई सामाजिक सेवाको माध्यम नभई व्यापार उद्योगका रूपमा परिणत गर्दै लगियो । आर्थिक लाभ लिने एक मात्र उद्देश्यले मिडिया चलाइए । 

सन् ९० को दशकमा नेपालमा बहुदलीय व्यवस्था पुनस्र्थापना भइरहँदा बर्लिनको पर्खाल भत्कियो । सोभियत सङ्घ विघटन भयो । शीतयुद्ध समाप्त भयो । कम्युनिस्ट मोडेल असफल भयो भनियो । त्यसपछि फ्रान्सिस फुकुमायाले ‘इतिहासको अन्त्य’ भयो भने । यसको अर्थ खुलाबजार तथा बहुदलीय लोकतन्त्र अब मानवजातिको अन्तिम गन्तव्य हो भन्न थालियो । स्यामुअल हन्टिङ्गटनले पनि विचारधाराको अन्त्य र सभ्यताको द्वन्द्व सुरुवात भयो भने । अबको संसारमा द्वन्द्वको आधारभूत स्रोत विचार अर्थतन्त्र नभएर मानव जातिको विभाजन एवं सांस्कृतिक तथा सभ्यता हो भन्ने मान्यता उनले ल्याए ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपालमा भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले जनयुद्धको तयारी र थालनी गरेको थियो । योसँगै जनपक्षीय पत्रकारिता सशक्त नै थियो । इच्छुकको बलिदानको समयसम्म पनि क्रान्तिकारी पत्रकारिता प्रभावकारी थियो । विज्ञापन तथा मूल्यवृद्धिले विविधतायुक्त विचार प्रधान मिडिया बिस्तारै बिस्तारै सीमान्तकृत हुँदै गए पनि इच्छुक जस्ता प्रखर वैचारिक व्यक्तिको नेतृत्व तथा जनयुद्धको राप र तापले जनादेशको लोकप्रियता भने लोभलाग्दो थियो ।

इच्छुक वैचारिक, अर्थराजनीतिक, समाज न्यायिक, भुइँमान्छेको मुद्दामा जोड दिनुहुन्थ्यो । महान् साहित्यकार लु सुनसँग बढी प्रभावित हुनुहुन्थ्यो । पदलाई भन्दा विचार, निष्ठा र सङ्घर्षलाई प्राथमिकता दिनुहुन्थ्यो । उहाँ निरन्तर भन्नुहुन्थ्यो, “हामी पत्रकारितामा लोकप्रिय हुनका लागि आएका होइनौँ । हामी उत्पीडित वर्ग र समुदायको पक्षमा लेख्न र उनीहरूको स्थिति सुधार्न आएका हौँ । मानसिक सन्तुलन गुमाएको सेनालाई बन्दुक दिएमा त्यसले पार्ने क्षति र एउटा अनियन्त्रित र अराजक कलमले पार्ने क्षति उस्तै हुन सक्छ ।”

मिडिया प्रगतिशील सामाजिक परिवर्तनको शक्ति हुनुपर्ने उहाँको मान्यता थियो । पत्रकारितालाई कवितासँग जोड्दै उहाँ भन्ने गर्नुहुन्थ्यो– यसको सम्बन्ध घटनासँग मात्र नभएर भावनाको काव्यसँग हुन्छ, पत्रकारिता पनि जनताले महसुस गर्ने जीवन्त कविता हुनु पर्छ ।  

आज जनपक्षीय पत्रकारिता बत्ती बालेर खोज्नुपर्ने अवस्थामा छ । इच्छुकले भनेको र गरेको पत्रकारिता नेपालमा लगभग छैन । इच्छुक हुँदै कम्प्युटर, इन्टरनेट, दूरसञ्चार, स्याटलाइट आदिको विकासले सूचना स्रोतमा आमजनताको पहुँच कायम भएकै हो । नयाँ प्रविधिको विकासले माओवादी जनयुद्धकालमा सूचना तथा विचारको सम्प्रेषणमा पनि राम्रो भूमिका खेलेको हो । इन्टरनेटले राजनीतिक, सामाजिक तथा सांस्कृतिक, आर्थिक समस्याका धेरै प्लेटफर्म खोल्यो तर सूचना तथा सञ्चार पुँजीवादको विश्वव्यापी हस्तक्षेपकारी भूमिकाले यो शक्तिका रूपमा, कृत्रिम बौद्धिकता (आर्टिफिसिअल इन्टेलिजेन्स) को रूपमा आएको छ । डिजिटल एकीकरणले निम्त्याउने समस्यालाई थेग्न नसक्ने अवस्था सिर्जना भइसकेको छ ।

फेसबुक, गुगल, ट्विटर, टिकटक र अन्य सामाजिक सञ्जाल कम्पनीहरूको वर्चस्वको लडाइँ चलेको छ । ती सबैले साना तथा सामरिक रूपमा कमजोर देशका संस्कृति, सभ्यता र लोकतन्त्रलाई कमजोर बनाइरहेका छन् । नाफा कमाउने, लोकतन्त्रको अवमूल्यन गर्ने, व्यक्तिको स्वतन्त्रतामाथि आक्रमण गर्ने, सामाजिक सुरक्षाको अवमूल्यन गर्ने, ‘फेक न्युज’ फैलाउने सामाजिक दङ्गाका लागि घिउ थप्ने, बालबालिकाको सुरक्षामा खतरा थप्ने जस्ता विकृति प्रतिदिन बढिरहेको छ । डिजिटल एकीकरण नयाँ बजारको विस्तार गरी संसारका सबै मानिसमा जोडिएको छ । चुनावमा समेत आफ्नो अनुकूलको प्रभाव छोड्न थालेको छ । विश्वलाई औद्योगिक औपनिवेशिक युगबाट डिजिटल औपनिवेशिक युगतिर डोहो¥याइएको छ । जनतालाई भ्रमित पारिएको छ ।

जनतालाई सूचनाको स्वतन्त्र छनोट र विश्लेषणको स्तरमा लैजान नसक्ने हो भने हाम्रो जस्तो देश ठुलठुला राजनीतिक दुर्घटनामा पर्ने खतरा छ । यसले विविधतायुक्त समाज तथा संस्कृति निर्माणको प्रक्रियामा अवरोध सिर्जना गरिरहेको छ । सूचना तथा प्रविधिमा मानिसको पहुँच त धेरै छ । राजनीतिक ध्रुवीकरण र प्रविधिको विकासको संयोजनले घृणायुक्त भाषण, अपुष्ट समाचार तथा गलत अवधारणाको प्रसारलाई निर्बाध प्रोत्साहन गरिरहेको छ । मानिसको स्वतन्त्रतालाई बिस्तारै ‘सेल्फसेन्सरसिप’ को अवस्थामा धकेलिरहेको छ । जनहितकारी वास्तविक सूचना ओझेलमा परिरहेका छन् । मिडियामा उदारीकरणले साना लगानीका कतिपय मिडियासमेत अस्तित्व धान्नका लागि अभिजात वर्गलाई सशक्तीकरण गर्ने माध्यम बन्न बाध्य भइरहेका छन् ।

इच्छुकले पत्रकारिता गरेको समयमा भन्दा सूचना प्रविधिको विकासले स्रोत र सूचनामा आमजनताको पहुँच भए पनि आजको पत्रकारिता अझ कठिन अवस्थाबाट गुज्रिरहेको छ । लोकतन्त्र र समाजमा यसले खेल्ने भूमिका बदलिएको छ । कुन समाचार झुटो र कुन सत्य हो भन्ने छुट्याउन आमजनतालाई कठिन भएको छ । कुन जनपक्षीय र कुन नाफामुखी, पत्रकारितालाई पनि अलग गर्नै नसकिने अवस्थामा छ । आमजनतासँग सम्बन्धित वास्तविक सामाजिक र आर्थिक विषयलाई सीमान्तीकृत गरी सतही विषयले मान्छेको दिमागलाई कब्जा गरिएको छ । लोकप्रियताको होडबाजीमा वैज्ञानिक सोचलाई प्रोत्साहित गर्नुको सट्टा आफूतिर ध्यान आकर्षित गर्न झुट र कुतर्कको सहारा लिने क्रम बढेको छ । हिजो परम्परागत मिडियाले प्रायः अपनाउने कुनै पनि सूचना, वस्तुनिष्ठता, सन्तुलन र तथ्यात्मकता जस्ता आधारभूत सिद्धान्तहरू आजका मिडियाले छाड्दै गएको अवस्था छ । तथ्य र काल्पनिकता बिचको भिन्नताको रेखा मेटिँदै गएको छ । सूचनाको महासागर त सिर्जना भएको छ तर त्यसको छनोट र स्वतन्त्र विश्लेषण गर्ने पाठक, श्रोता नहुँदा, त्यसलाई विश्लेषण गर्ने जनपक्षीय मिडिया नहुँदा प्रगतिशील मुद्दा कमजोर भएको छ ।

हो, यतिबेला समय र परिस्थिति फरक छ । साङ्गठनिक रूपमा हामी व्यापक छौँ । सञ्चार र प्रविधिको विकासले हामी फरक परिवेशमा छौँ तर त्यतिबेलालाई सम्झँदा एउटा प्रश्न जबर्जस्त उठ्छ– के समय, परिस्थिति र परिवेश बदलिएको भनेर हामी इच्छुकहरूका आदर्शलाई भुल्न सक्छौँ ? हिजो गरेका सङ्कल्पलाई चटक्क छाड्न सक्छौँ ? यी प्रश्नको उत्तर खोज्न अब ढिला गर्नुहुन्न । हामीले इच्छुक र समाजका लागि बलिदान दिनेहरूको सपना पूरा गर्न फेरि नयाँ अठोट र सङ्कल्प गर्नै पर्छ ।  

Author

महेश्वर दाहाल