विगतका घटनाको खोजी र त्यसको सप्रमाण प्रस्तुति नै इतिहास हो । इतिहासले यथाशक्य लिखित प्रमाण खोज्छ । आधुनिकतासँगै श्रव्य, श्रव्यदृश्य तथा फोटोग्राफीको व्यापक प्रचलन भएकाले अब यी सामग्री पनि इतिहासको प्रमाणका रूपमा स्थापित भएका छन् । प्राचीनकालका शिलालेख, ताम्रपत्र, लालमोहर, रुक्का, सनद, इस्तिहार, वंशावली, तिथ्यावली आदि इतिहासका पुरानो प्रचलनका स्रोत हुन् ।
नेपाल राजनीतिक रूपमा कहिले अस्थिर र सङ्क्रमणकालीन त, कहिले तानाशाही र अन्धकार युगमा रह्यो । इतिहास लेखनका लागि लामो समय कुर्न पर्ने अवस्था भयो । विडम्बना के भने नेपालको इतिहास पनि सबैभन्दा पहिले विदेशीले लेखिदिनु पर्ने अवस्था देखा पर्न गयो ।
नेपालको प्राचीन इतिहासको मूल स्रोत लिच्छविकालमा राखिएका शिलालेख हुन् । राणाशासनको समय यी शिलालेख पढेर त्यसलाई प्रकाशनमा ल्याउनु पनि नेपालीका लागि कठिन कार्य थियो । राणाकालमै बाबुराम आचार्यले स्वयम्भूको शिलालेख पढेर त्यहाँ उल्लेख गरिए अनुसार ‘नेपालमा भएका मुसलमानी आक्रमण’ लेख लेख्दा त्यो लेखको पाण्डुलिपि पढेर तत्कालीन दक्षिण कम्यान्डिङ जनरल केशरशमशेरले आचार्यलाई हप्काएका थिए । यस्ता यस्तै प्रतिकूल परिस्थितिबाट नेपालको इतिहास लेखन अगाडि बढेको हो ।
बहादुर शाहको नायवीकालमा उनकै निमन्त्रणामा इष्ट इन्डिया कम्पनीका तत्कालीन सैन्य अधिकारी विलियम कर्कप्याट्रिक विसं १८४९ नेपाल आएका थिए । उनलाई पाहुनाका रूपमा सत्कार गरेर एक महिना नुवाकोटमा राखिएको थियो । यसको १९ वर्षपछि प्रकाशित उनको पुस्तक ‘एन एकाउन्ट अफ् किङ्डम अफ् नेपउल’ नै नेपालको इतिहास लेखिएको पहिलो पुस्तक हुन पुग्यो । यसको १११ वर्षपछि बनारसबाट प्रकाशित अम्बिकाप्रसाद उपाध्यायको ‘नेपालको इतिहास’ नेपालीले लेखेको नेपालको इतिहाससम्बन्धी पहिलो पुस्तकका रूपमा देखा प¥यो ।
यसबिचमा भारत गुजरातका विद्वान् भगवानलाल इन्द्राजीले गेओर्ग ब्यूलरसँगको सहलेखनमा विसं १९३७ मा ‘दि इन्डियन यान्टिक्वटी’ मा प्रकाशित गरेको ‘इन्व्रिmप्सन फ्रम नेपाल’ नेपाली इतिहासको प्रामाणिक लेखनका लागि कोसेढुङ्गा सावित भयो । भगवान्लाल इन्द्राजीको यही अवदानले बाबुराम आचार्यलाई इतिहासको क्षेत्रमा लाग्न ठुलो प्रेरणा प्राप्त भयो ।
कुरा विसं १९७६ को हो । बाबुराम आफ्ना बुबा धर्मदत्तको निधनपछि धार्मिक परम्परा अनुसार अस्थि अवशेष गङ्गामा विसर्जन गर्न विहारको आरा सहर पुगेका थिए । संयोगले उनी त्यहाँको एक पुस्तकालयमा पुग्दा उनै भगवान्लाल इन्द्राजीले सङ्ग्रह गरेको नेपालका प्राचीन अभिलेखमा उनको आँखा प¥यो । त्यो पढेपछि उनले नेपालमा पनि यस्ता अभिलेख पाइँदारहेछन् भन्ने ज्ञान पाए । त्यसपछि उनी इतिहाससम्बन्धी ठुलो तृष्णाका साथ नेपालका प्राचीन अभिलेखको खोजीमा लागेका थिए ।
राणाकालमा नेपालको इतिहासको खोजी र प्रकाशनका लागि अम्बिकाप्रसाद उपाध्यय, सूर्यविक्रम ज्ञवाली, इमानसिंह चेम्जोङले प्रवासमा बसेर नेपालको इतिहासको पुस्तक प्रकाशित गरे भने तोत्रराज पाण्डेसँग मिलेर नयराज पन्तले विसं २००४ मा ‘नेपालको सङ्क्षिप्त इतिहास’ लेख्नु चानचुने घटना थिएन ।
अङ्ग्रजले आफ्नो समयमा जतिसक्दो प्रमाण जुटाएर लेखे, यसको सम्मान र स्मरण गर्नै पर्छ । उनीहरूले लेख्दा लेख्दै कतिपय तथ्य छुटेको पनि हुन सक्छ । वा उनीहरूले लेख्दा गलत तथ्य पेस गरेका पनि हुन सक्छ । नयाँ पुस्ताले खोजी गर्दा नयाँ तथ्य फेला पर्न पनि सक्छ । यस्तो अवस्थामा अग्रजले लेखेको भन्दैमा त्यसैलाई अकाट्य मानिरहनु जरुरी छैन । त्यसैले यस्तो बेला इतिहासको संशोधनको आवश्यकता पर्छ ।
संशोधन मण्डल जन्म
नेपालमा लेखिएका इतिहासका गल्ती औँल्याउन कुनै बेला ‘संशोधन मण्डल’ अत्यन्तै सक्रिय थियो । संशोधन मण्डलका सक्रिय सदस्यमध्ये अहिले पनि डा. महेशराज पन्त र प्रा. दिनेशराज पन्त सक्रिय छन् । संशोधन मण्डलबाट अलग्गिए पनि हालसम्म जीवित रहेका डा. गौतमबज्र बज्राचार्य र नयनाथ पौडेल इतिहासको खोजी, लेखन, व्याख्या र विश्लेषणमा सक्रिय छन् ।
संशोधन मण्डलका प्रेरक चाहिँ विद्वत् व्यक्तित्व नयराज पन्त हुन् । उनी बनारसबाट ज्योतिष विषयमा उच्च शिक्षा हासिल गरी विसं १९९५ मा फर्कंदा तत्कालीन शैक्षिक प्रणालीप्रति असन्तुष्ट भएर फर्केका थिए । ३२ प्राप्ताङ्कले परीक्षार्थी उत्तीर्ण हुने शैक्षिक प्रणालीलाई उनी ‘त्रिखण्डी शिक्षा’ भन्थे । यस्तो शिक्षाले ज्ञानको दृष्टिकोणले मानिस पूर्ण हुन सक्दैन भन्ने उनको धारणा थियो । त्यसैले उनले विसं १९९७ मा गुरुकुलीय पद्धतिमा आधारित एक पाठशाला खोले । आफ्ना विद्यार्थीलाई पूर्ण शिक्षा दिलाउन स्थापित यस पाठशालामा इतिहास, व्याकरण, गणित, ज्योतिष, दर्शन जस्ता गहन विषय पढाउँदै विद्यार्थीलाई गहन अनुसन्धान कार्यमा लगाइन्थ्यो ।
विसं २०१८ मा नयराजकै निर्देशनमा काठमाडौँ मजिष्ट्रेड अफिसमा ‘संशोधन मण्डल’ नामको संस्था विधिवत् दर्ता भयो । भोलानाथ पौडेल अध्यक्ष रहेको यो संस्थामा नयराजकै गुरुकुलीय पाठशालाका विद्यार्थी धनबज्र बज्राचार्य सचिव र कोषाध्यक्ष देवीप्रसाद भण्डारी थिए भने सदस्यमा रामजी तिवारी, शङ्करमान राजवंशी, गौतमबज्र बज्राचार्य, महेशराज पन्त, नयनाथ पौडेल र दिनेशराज पन्त थिए ।
नयराजका विद्यार्थीले यसअघि लेखिएका इतिहासका पुस्तकमा भेटिएका अशुद्धि र गल्ती औँल्याएर पर्चाका रूपमा ‘सावधान पत्र’ प्रकाशित गरेर धेरै पटक खबरदारी गरे । उनीहरूको खबरदारीमा परेका इतिहासकारमा बालचन्द्र शर्मा, सूर्यविक्रम ज्ञवाली, डिल्लीरमण रेग्मी, रुद्रराज पाण्डे आदि छन् । इतिहास शिरोमणि बाबुराम आचार्यका कमजोरीका विषयमा पनि नयराज पन्त र शङ्करमान राजवंशीले ‘पूर्णिमा’ पत्रिकामा प्रार्थना पत्र नै प्रकाशित गरेका थिए ।
अशुद्धि र गलत लेखनबाट राम्रो सन्देश जान सक्दैन । इतिहास भनेकै तथ्यहरूको खोजी र प्रस्तुति हो । यस्ता खोजी र प्रस्तुति प्रामाणिक हुन जरुरी छ ।
केही इतिहास संशोधन
कतिपय इतिहासकारले खोज्दै जाँदा जतिसम्म प्रमाण पाए, त्यसलाई अन्तिम ठानेर त्यसैलाई अन्तिम सत्यका रूपमा स्थापित गर्न खोजेका छन् । खोज्दै जाँदा नयाँ तथ्य फेला परेपछि अग्रजले स्थापित गरेका अधुरा, अपूरा तथ्यलाई संशोधन गर्न जरुरी हुन्छ ।
जस्तो कि नेपालको सैनिक इतिहासमा विज्ञ मानिएका इतिहासकार डा. प्रेमसिंह बस्न्यातले विसं २०७१ मा छापिएको आफ्नो पुस्तक ‘नेपाली सेनाः लिगलिगकोटदेखि वर्तमानसम्म’ मा नालापानीका चर्चित योद्धा बलभद्र कुँवरको पद कप्तान थिएन, उनलाई राजा महेन्द्रले राष्ट्रि«य विभूति बनाउने क्रममा कप्तान पद दिएको भनी लेख्न पुगे । बलभद्र कुँवरको पद कप्तान भएको प्रामाणिक ऐतिहासिक पत्र इतिहासकार महेशराज पन्तले विसं २०२१ मै प्रकाशित गरिसकेका थिए । डा. बस्न्यातले बलभद्र कुँवरसम्बन्धी उल्लेख गरेको तथ्यले भ्रम सिर्जना गर्ने हुँदा त्यसको संशोधन गर्न जरुरी देखिने नै भयो ।
हालै दिवंगत इतिहासकार चित्तरञ्जन नेपालीले विसं २०१३ को मदन पुरस्कार पाएको आफ्नो पुस्तक ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ मा भीमसेन थापाले नेपाली फौजलाई आधुनिक बनाउने क्रममा फौजी दर्जामा जर्नेल, कप्तान, लप्टन आदि युरोपीय दर्जा प्रचलनमा ल्याए भन्ने उल्लेख गरेका छन् । इतिहासकार नेपालीको यस्तो लेखन तथ्यसम्मत छैन । भीमसेन थापा सत्ता र शक्तिमा आउनुभन्दा धेरै वर्षअघि नै सेनाका केही अधिकारीलाई कप्तान पद दिइएको इतिहास पाइन्छ ।
लेख्दै जाँदा इतिहास शिरोमणि बाबुराम आचार्य तथा इमानसिंह चेम्जोङको इतिहासमा पनि गल्ती पाइएका छन् । सन्दर्भ हो, विजयपुरका सेन राजा कामदत्त सेन कहिले राजा भएका थिए भन्ने तथ्य मिति । आचार्यले आफ्नो पुस्तकमा कामदत्त सेन विसं १८१३ मा विजयपुरका राजा भएका थिए भन्ने उल्लेख गरेका छन् । यस्तै चेम्जोङले कामदत्त सेन विसं १८१८ मा विजयपुरका राजा भएका थिए भन्ने उल्लेख गरेका छन् ।
कामदत्त सेनले विसं १८०८ मा राजाको हैसियतले आफ्नो छापसहित जारी गरेको सक्कल मोहर नै फेला परेको छ । आचार्य र चेम्जोङले आफ्नो समयमा जेजति प्रमाण भेटे त्यसैका आधारमा इतिहास लेखे । नयाँ प्रमाण फेला परेपछि त्यस्ता इतिहासको संशोधन अत्यावश्यक हुन्छ । इतिहास संशोधनले गलत तथ्य र अशुद्धिलाई विस्थापित गर्दै इतिहासलाई प्रामाणिक र शुद्ध बनाउन सहयोग गर्छ ।
अग्रज, जसले लेख्दालेख्दै अशुद्ध वा अपुरो लेख्न पुगे, उनीहरूका कमजोरी पत्ता लगाएर कसैले नयाँ तथ्य फेला पारी इतिहास संशोधन गर्छ भने त्यसलाई अग्रज पुस्ताले अन्यथा लिनु हुँदैन । अशुद्ध र तथ्यहीन इतिहास लेख्ने अधिकार कसैलाई पनि छैन ।
इतिहास लेखन एक पटक लेखेर टुङ्गिने विषय पनि होइन, यो नदी जस्तै निरन्तर बगिरहन्छ । इतिहास संशोधनले इतिहास लेखनको प्रवाहलाई गति प्रदान गर्छ । यसले नयाँ अनुसन्धान गर्नेहरूका लागि उत्साह पनि पैदा गर्छ । त्यसैले इतिहास संशोधन औचित्यपूर्ण रहेको छ ।