• १२ मंसिर २०८१, बुधबार

मदन भण्डारी राजमार्गका चार वटा पुल निर्माणमा ढिलाइ

blog

तम्घास सिमलटारी सडक खण्डमा निर्माणधिन पुल । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, जेठ १८ गते ।
मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मी जिल्लाको तम्घास–सिमलटारी खण्डमा चारवटा पक्की पुल निर्माणको कार्यमा ढिलाइ भएको छ । जिल्लाको क्षेत्रनम्बर–२ अन्तर्गत मदनभण्डारी राजमार्गको तम्घास सिमलटारी, पुर्कोटहुँदै प्युठानसम्म पुग्ने सडक खण्डका चार स्थानमा पक्की पुल निर्माणकार्यमा ढिलाइ भएको हो ।

राजमार्गको तम्घास सिमलटारी खण्डका हुलाके, धनार्जी, फूलवारी र घमिरका खोलामा पुल निर्माणको काम भइरहेको छ । पाँच वर्ष अगाडि सडक कालोपत्रे भए पनि पुल नहुँदा वर्षातको समयमा सवारी साधन तथा नागरिकले जोखिम मोलेरै यात्रा गर्न बाध्य भएका छन् ।

नामको मात्रै राजमार्ग, वर्षातको समयमा खोला मार्ग
पश्चिम क्षेत्रमा व्यस्त सडकमा पुल नहँदा वर्षातको समयमा बिरामीलगायत सर्वसाधरणहरुले समस्या झेल्नुपर्ने अवस्था रहेको छ ।
वर्षातको समयमा जोखिम मोलेरै यात्रा गर्न बाध्य भएको इश्मा गाउँपालिका छल्दीका अनिल खत्रीले बताउनुभयो । वर्षातको समयमा नामको मात्रै राजमार्ग हुने गरेको र यसलाई खोलामार्गभन्दा पनि फरक नपर्ने उहाँको भनाइ छ ।

चार वटा पुलमध्ये फुलवारी र घमिर खोलामा पुल निर्माणका लागि पन्त निर्माण सेवाले निर्माणको काम गरिरहेको छ । हुलाके र धनार्जी खोलामा पुल निर्माणका लागि सुनिल समिर निर्माण सेवा प्रालि तम्घास गुल्मीले निर्माण कार्य गर्दै आएको छ ।

घमिर खोलको पुल निर्माणका लागि तीन करोड १३ लाख ८४ हजारको लागत रहेको छ । फुलवारी खोलाको पुल निर्माणका लागि तीन करोड ३२ लाख ६८ हजार लागत रहेको छ ।

उक्त पुल निर्माण कार्य २०८० साल भदौ महिनाभित्र सम्पन्न गरिसक्नु सम्झौता रहेको थियो । तर म्याद थप गरेर २०८० चैत्र ८ गतेसम्म रहेको थियो । निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने समय सकिदा समेत जेठ महिनाको दोश्रो सातासम्म यी पुलको प्रगती ७० प्रतिशत मात्रै भएको छ । घमिर खोलाको पुल १५ मिटर लम्बाई र ११ मिटर चौडाईको हुनेछ । फुलवारी खोलाको पुल २० मिटर लम्बाई र ११ मिटर चौडाईको हुनेछ । यी दुईवटा पुलको काम ढलान सकेर एप्रोज वाललगायतका कार्य बाँकी रहेको छ ।

धनार्जी रोधी खोलामा पुल निर्माणका लागि सात करोड ४८ हजार र हुलाके खोलामा पुल निर्माणका लागि पाँच करोड ७९ लाख ५३ हजारको लागत रहेको  छ । धनार्जीमा बन्ने पुल ३५ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । उक्त पुल २०८० साल माघ महिना भित्र सम्पन्न गर्नुपर्ने थियो ।  २०८१ साल कात्तिक महिना भित्र सम्पन्न गर्ने गरी पुनः म्याद थप गरिएको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय तम्घासले जनाएको छ ।  हालसम्म यी पुलको प्रगती ७० प्रतिशत भएको छ ।

यी दुई वटा पुल निर्माणको ढलानको काम सकेर एप्रोल वाल र पहुँच सडक विस्तार गर्न बाँकी रहेको छ । दुई वटा पुलमा पहुँच सडक विस्तार गर्न जग्गा विवाद भएकाले काम गर्न बाँकी रहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय तम्घासका इन्जिनियर दीपक बिकले जानकारी दिनुभयो । वर्षातको समय अगावै पुल निर्माणको काम सकेर गाडी चलाउने गरि काम भइरहेको उहाँको दाबी छ ।

तम्घास सिमलटारी, पुर्कोट हुँदै प्युठानसम्म पुग्ने २९ किलोमिटर सडक खण्डको सिमलटारीसम्म कालोपत्रे गर्ने काम पाँचवर्ष पहिले एक अर्बको लागतमा सम्पन्न भएको हो ।