• १२ मंसिर २०८१, बुधबार

तानसेनमा सहज भयो खानेपानी

blog

बिन्दु थापा 

पाल्पा, जेठ १७ गते । तानसेनमा खानेपानी सहज बन्दै गएको छ । तानसेन खानेपानी उपभोक्ता समितिमा नयाँ पदाधिकारी आएसँगै खानेपानी समस्या सहज बन्दै गएको हो । 

वर्षौदेखि खानेपानी समस्या भोगिरहेको तानसेनबासीले मोहन श्रेष्ठको नेतृत्वमा आएको समितिले पानीको समस्या समाधानमा आएकोे ६ महिनामै तानसेनको खानेपानी समस्यालाई सहज बनाएको छ । महिनौँ दिनमा आउने खानेपानी अहिले एक र दुई दिन बिराएर आउन थालेको छ । 

समितिले खानेपानीको मुहान व्यवस्थित गर्ने, टुटफुट भएका पाइपहरु मर्मत सम्भार गर्ने, विद्युत् आपूर्तिका कारण देखिएको समस्या समाधान गर्ने, कर्मचारीलाई वितरणमा सचेत गराउने जस्ता काम गर्दै आएकाले खानेपानी समस्या समाधानमा सहज भएको तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिनुभयो । 

वितरण प्रणाली व्यवस्थित हुन नसक्दा तानसेनवासीले वर्षौदेखि खानेपानी समस्या झेल्दै आएकाले अव्यवस्थित वितरण प्रणालीलाई व्यवस्थित गरेपछि खानेपानीको समस्या हटेको श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “तानसेनमा खानेपानीको समस्या पूर्णरुपमा हटेको छ, उपभोक्ताको धारामा एक दिन बिराएर पानी वितरण हुँदै  आएको छ । पानी नआएर दुःख पायौं भन्ने दिन हटेको छ । होटल व्यवसायीका कारण पर्यटन क्षेत्रमा समेत राहत मिलेको छ ।” 

तानसेनका उपभोक्तालाई दैनिक २६ लाख लिटर पानीको आवश्यकता रहेको बताउँदै  १९ लाख लिटर पानी तानसेनमा वितरण भएको समितिले जनाएको छ । पूूर्ण क्षमतामा मोटर पम्प सञ्चालन गर्ने हो भने दैनिक रुपमा पानी वितरण गर्न सकिने अवस्था रहेको पनि मोटर पम्पलाई टिकाउन राति मोटरपम्प गर्दै आएको छ । 

अहिले तानसेनमा कालीगण्डकी, भुल्के, सिस्ने, तीनधारा, होलाङ्दी र बाझा मूलबाट पानी सङ्कलन गरी तानसेनमा वितरण हुँदै आएको छ । खानेपानीलाई व्यस्थित र नियमित गर्न सबै स्थानको पम्प स्टेशनमा केही मोटरको व्यबस्था मिलाइएको, विद्युुत् लाइनलाई व्यस्थित गरेको, विभिन्न स्थानहरुका वितरण लाइनहरु मिलाएको  समितिका सदस्य महेन्द्र खातीले बताउनुभयो । 

पुसदेखि वैशाखसम्मको ५ महिनामा १ करोड ८५ लाख ९५ हजार, ९ सय १५ रुपियाँ आम्दानी भएको र विद्युत् महसुल, नयाँ मोटर खरिद, कर्मचारी तलबलगायत विविधमा १ करोड ५९ लाख ७० हजार ५ सय २० रुपियाँ खर्च भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 

विभिन्न बैंकमा ५ करोड ८९ लाख ७२ हजार ८ सय ५९ रुपियाँ नगद मौज्दात रहेको समितिले सार्वजनिक गरेको छ ।  समितिका अनुसार वैशाख मसान्तसम्म ४ हजार ४ सय ३० वटा धारा वितरण भएकोमा ४ हजार १ सय ६६ वटा निजी, २ सय ४४ वटा संघ संस्था र १७ वटा सामुदायिक धारा छन् । अब छिट्टै विभिन्न सार्वजनिक स्थलमा ट्याङ्की निर्माण गरी सार्वजनिक धारा सञ्चालनमा ल्याउने समितिले जनाएको छ । 

समितिले सबैको जिम्मेवारी बाँडफाँट गरी कामलाई चुस्त दुरूस्त बनाउने काम गरेको छ । समितिले उपाध्यक्ष लालमने अदै पुनलाई स्टोर व्यवस्थापन, नियन्त्रण, मूल आपूर्ति व्यवस्थापन, सचिव प्रेमबहादुर मल्ललाई सचिवालय व्यवस्थापन, कोषाध्यक्ष सुशीला कर्माचार्यलाई लेखा व्यवस्थापन, सहसचिव विर्जु खातीेलाई गुनासो व्यवस्थापन, सदस्य महेन्द्रबहादुर खातीलाई वितरण प्रणाली र लाइन व्यवस्थापन, वसन्तराज गहतराजलाई नयाँ मूल स्रोत पहिचान र रेणुका बस्याललाई अनुगमन तथा मूल्याङ्कनको जिम्मेवारी दिइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।  

खानेपानीलाई नियमित र व्यस्थित रुपमा वितरणका लागि विभिन्न स्थानमा ३०–३० लाख लिटरका ठूला ट्याङ्की निर्माण गर्ने, जीर्ण भएका मुख्य पाइपलाइन हटाउँदै नयाँ पाइपलाइन राख्दै बस्ती बसेका नयाँ स्थानमा खानेपानी विस्तार गर्दै जाने, वडा–वडामा उपभोक्ता समिति गठन गर्ने, वैज्ञानिक ढङ्गले पानी वितरण गर्ने, साउनदेखि मूूल्य समायोजन गरेर नयाँ मूूल्य निर्धारण गरिनेछ । विभिन्न व्यक्ति तथा कार्यालयमा पुरानो बाँकी रकम असार मसान्तसम्म भुक्तानी नगरेमा खानेपानीको धारा काटिदिने समितिले निर्णय गरेको छ । 

कार्यक्रममा पत्रकार महासङ्घका अध्यक्ष रेखीराम रानाले उपभोक्तामैत्री भएर समितिले काम गर्नुपर्ने, प्रत्येक व्यक्तिलाई दैनिक ५० लिटर पानी निःशुल्क प्रदान गर्नुपर्ने, तानसेनको पर्यटन व्यवसाय फस्टाउने गरी पानीको व्यवस्थापन गर्नुपर्नेलगायतका सुझाव दिनुभएको थियो ।