काठमाडौँ, जेठ १६ गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र स्थापनापछि भौतिक पूर्वाधार, सञ्चार तथा ‘डिजिटलाइजेसन’को क्षेत्रमा भएका विकास तथा मानव सूचकाङ्कमा आएका सुधारलाई उपलब्धिकारुपमा जनताका बिचमा लैजानुपर्ने बताउनुभएको छ ।
गणतन्त्र दिवस-२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उहाँले गणतन्त्रपछिका उपलब्धिबारे ठिक ढङ्गले सूचना प्रवाह गरी जनतामा आशा पैदा गर्न सकिने बताउनुभयो । ठुलो बलिदानी र सङ्घर्षबाट प्राप्त गणतन्त्रको रक्षा र संरक्षण गर्नु सबैको दायित्व भएको भन्दै अध्यक्ष दाहालले गणतन्त्रपछि समग्र क्षेत्रमा देखिएका प्रारम्भिक उपलब्धिले सम्भावनाका प्रशस्तै ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो ।
राससको तस्बिर प्रदर्शनीको अवलोकनबाट जनतामा आशा जगाउने प्रशस्त आधार रहेको उहाँको भनाइ थियो । पूर्वाधारका कतिपय आयोजनाबारे आफू पनि अनभिज्ञ रहेको र प्रदर्शनी अवलोकनबाट आफूले देशमा भइरहेका धेरै विकास योजना सम्बन्धमा जानकारी प्राप्त गरेको बताउनुभयो । गणतन्त्र प्राप्तिका लागि भएका आन्दोलनका क्रममा मुलुकमा तीव्र आर्थिक तथा सामाजिक परिवर्तन गर्ने जनचाहना र भावनाअनुसार अहिले परिवर्तनको अनुभूति नपाएको स्विकार्दै अध्यक्ष दाहालले गणतन्त्र आइसकेपछि समृद्धिका लागि कोरिएको बाटालाई गन्तव्यमा पुर्याइनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले भइरहेका विकासका गतिविधिबारे जनतालाई बुझाउन सक्नुपर्ने र यसको प्रतिफल छिट्टै प्राप्त हुनेमा विश्वस्त बनाउन सक्नुपर्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “राज्यसत्ता सञ्चालनमा जुन वर्ग र समुदाय पुगेको छ, मधेसी तथा महिला राष्ट्रपति बन्नुभएको छ, प्रदेश र स्थानीयमा महिलाको प्रतिनिधित्व बढ्दै गइरहेको छ । अब यसलाई सही ढङ्गले जनताबिच लिएर जानुपर्छ ।” सत्तामा को पुग्यो र अग्ला भवन कति बने भन्ने आधारमा नभई जनताको जीवनमा परिवर्तन आयो कि आएन भन्ने कुरा महत्त्वपूर्ण पक्ष भएको भन्दै उहाँले समग्र मानवीय र सन्तुलित विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
“भौतिक पूर्वाधारको दृष्टिकोणबाट हेर्दा त्यो सही हुन सक्ला तर जनताको आयस्तर र जीवनस्तरमा परिवर्तन आउने मुख्य विषय हो । अहिले प्रतिव्यक्ति आय, मानवविकास सूचकाङ्कमा सुधार हुँदैछ । यसलाई थप परिष्कृत र सुदृढ बनाउँदै लैजानुपर्छ”, अध्यक्ष दाहालले भन्नुभयो । राष्ट्रियसभा अविछिन्न, समन्वयकारी र अभिभावकीय भूमिकामा रहेकाकाले राष्ट्रियसभालाई राज्यका तल्ला निकायसँग जोड्नका लागि ‘प्रदेश सरोकार’ कार्यक्रम अघि बढाइएको उहाँले जानकारी दिनुभयो । “राष्ट्रियसभा कहिल्यै अन्त्य हुँदैन, जसले सधैँ जनताका समस्या र राज्यलाई अप्ठ्यारो परेका बेला समस्या हल गर्ने क्षमता राख्छ, यसबारे जनताले थाहा नपाएकाले भूमिकाका सम्बन्धमा टीकाटिप्पणी हुन सक्छ”, उहाँले भन्नुभयो,“तुलनात्मकता राष्ट्रियसभामा जिम्मेवारीपूर्ण ढङ्गबाट विषयवस्तु उठ्ने गरेका छन् । थप भूमिका बढाउने र सकारात्मक सन्देश प्रवाह गर्नेतर्फ सभा प्रयत्नरत रहेको छ ।”
अध्यक्ष दाहालले रासस सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने संस्थाका रूपमा रहेको र यसका समाचार पढ्दा, सुन्दा र ग्रहण गर्दा खास द्विविधा नहुने धारणा राख्नुभयो । “सही, सत्यतथ्य सूचनाका लागि रासस भरपर्दो माध्यमका रूपमा रहेको छ, त्यसैले राससका समाचार पढेपछि आश्वस्त भइन्छ । भविष्यमा पनि सबै खालका विषयवस्तुलाई राससले समेट्छ भन्नेमा म विश्वस्त छु । राष्ट्रियसभाका गतिविधि र सम्पादन भएका महत्त्वपूर्ण कामलाई पनि प्राथमिकताका साथ सम्प्रेषण गर्नुहुने छ भन्ने अपेक्षा छ”, अध्यक्ष दाहालले भन्नुभयो । रासस