काठमाडौँ, जेठ १६ गते । सत्रौँ राष्ट्रिय गणतन्त्र दिवस मङ्गलबार चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासमा विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ । नेपालको राष्ट्रिय झण्डा फहराउँदै राष्ट्रिय गान र ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेर प्रारम्भ भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसका अवसरमा जारी गर्नुभएको बेग्लाबेग्लै शुभकामना मन्तव्य वाचन गरिएको थियो ।
त्यस अवसरमा महावाणिज्यदूत सुरेश राउतले गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको लामो सङ्घर्ष, त्याग र उत्सर्गको स्मरण गर्दै गणतन्त्रका उपलब्धिलाई रक्षा गर्नुपर्नेमा जोड दिनुभएको उक्त वाणिज्य दूतावासले आज जनाएको छ । उहाँले गणतन्त्रका उपलब्धिलाई रक्षा गर्दै त्यसलाई थप संस्थागत र समयानुकूल तुल्याउन स्वदेश र विदेशमा रहेका सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा महावाणिज्य दूतावासका कर्मचारी, महावाणिज्य दूतावासको क्षेत्राधिकार सिचुवान, छोङछिङ कुइचोमा बसोबास गर्ने नेपाली समुदाय र केही चिनियाँ नागरिकको पनि उपस्थिति थियो । सोही अवसरमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । गणतन्त्र दिवसलाई विशेष उत्सवका रूपमा तीन दिनसम्म साँझ दीपावली गरेर आजसम्म मनाइँदै छ । रासस