• १३ मंसिर २०८१, बिहिबार

नवलपुरमा अवरुद्ध सडक एकतर्फी सञ्चालन

blog

एकतर्फी रुपमा सडक खुलेपछि गाडीको लाम ।

मीना कँडेल

कावासोती, जेठ १५ गते । पूर्व–पश्चि राजमार्गको नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट –९ थुम्सीमा सडक भासिँदा अवरुद्ध राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएको छ । 

सडक भासिएको ठाउँमा ढुङ्गा–माटो भरेपछि अहिले एकतर्फी सञ्चालनमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट गैँडाकोटका प्रमुख, प्रहरी वरिष्ठ नायब निरीक्षक दामोदर मल्लले बताउनुभयो । 

दुईतर्फी सडक खुलाउने प्रयास पनि जारी रहेकाले दुईतर्फी यातायात सञ्चालन हुन करिब तीनदेखि चार घण्टा लाग्न  सक्ने उहाँले बताउनुभयो । अहिले क्रमैसँग साना ठूला गाडी पास भइरहेको उहाँले बताउनुभयो ।

सोमबार साँझदेखि परेको वर्षाका कारण राति १२ बजेदेखि अवरुद्ध राजमार्ग २४ घण्टा पछि एकतर्फी सञ्चालनमा आएको हो । खोलाले पुलसँगैको माटो बगाएपछि सडक अवरुद्ध बन्न पुगेको थियो । सडक अवरुद्ध हुँदा रातको समयदेखि लामो दूरीका यात्रुहरु अलपत्र परेका थिए ।

यस्तै, नवलपुरको विनयीत्रिवेणी गाउँपालिका –२ विश्वकर्मा मन्दिरनजिक नारायणघाट–बुटवल सडक खण्डमा बर्खाका कारण डाइभर्सनको माटो बगाएर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका –५ पाङग्रेस्थति दलदले डेढगाँउको भित्री सडक खण्डमा पहिरोले अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो  । अवरुद्ध सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।