• १३ मंसिर २०८१, बिहिबार

जनताको बलिदानीपूर्ण सङ्घर्षको प्रतिफल गणतन्त्र : प्रदेश प्रमुख भट्ट

blog

गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको विशेष समारोहमा गण्डकी प्रदेशका प्रमुख डिल्ली राज भट्ट ।

रमेश पौडेल

पोखरा, जेठ १५ गते । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले गणतन्त्र जनताको बलिदानीपूर्ण सङ्घर्षको प्रतिफल भएकाले जनताले अनुभूत गर्नेगरी गणतन्त्रको कार्यान्वयन अपरिहार्य रहेको बताउनुभएको छ । 

गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको विशेष समारोहमा उहाँले भन्नुभयो, ‘गणतन्त्र जनताको बलिदानीपूर्ण सङ्घर्षको प्रतिफल हो । वंश परम्परामा आधारित शासन व्यवस्थालाई जनतामा निहित सार्वभौम सत्ताको प्रयोगमार्फत जनताले नै चयन गरेका प्रतिनिधिबाट सञ्चालन हुने प्रणालीमा रूपान्तरण गर्नु हाम्रो गणतन्त्रको मूलभूत विशेषता हो ।’  

प्रदेश प्रमुख भट्टले संविधानअनुरूप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्नेगरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने बताउनुभयो । उहाँले गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माण गर्ने बताउनुभयो । सबै नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्द्धन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प सार्थक बनाउन प्रेरणा तथा ऊर्जा मिलोस् भन्ने शुभेच्छा पनि उहाँले प्रकट गर्नुभयो । 

उहाँले गणतन्त्र दिवस समारोहमा गण्डकी प्रदेश सरकारबाट पुरस्कृत तथा सम्मानित नमुना कार्यालयहरू, राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीलाई कदरपत्र प्रदानगरी सम्मान गर्नुभएको थियो । त्यसैगरी प्रदेश प्रमुख भट्टले लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ औँ वर्ष प्रवेशको अवसरमा प्रदेशवासी, देश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी एवं दाजुभाइमा शुभकामना व्यक्त गर्दै सहिदहरूको बलिदानलाई भुल्न नहुने बताउनुभयो ।