बोमलाल गिरी
नवलपुर, जेठ १५ गते । एउटा ट्रकका कारण गए रातिदेखि अवरुद्ध नारायणघाट–बुटवल सडक खण्ड अझ पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । बाटो दुईतर्फी सञ्चालन नहुँदा यात्रुले सास्ती पाएका छन् ।
सोमबार साँझदेखि परेको पानीका कारण नवलपुरको गैँडाकोट थुम्सीमा सडक भासिँदा राति २ बजेदेखि अवरुद्ध सडक ११ घण्टापछि एकतर्फी सञ्चालनमा आए पनि अझै पूर्णरुपमा सञ्चालनमा आउन नसकेको हो ।
सडक छेउमा फसिरहेको बा प्र ०३–००१ ख ०९६१ नम्बरको ट्रकका कारण बाटो अवरुद्ध हुँदा दुईतर्फी खुल्न नसकेको नारायणघाट–बुटवल सडक योजनाका प्रतिनिधिले जनाएका छन् । कार्यालयले सो ट्रक चालक, सहचालक र सवारीधनी हालसम्म सम्पर्कमा नआएका कारण त्यसलाई हटाउन नसकेको र राजमार्गमा यात्रुले दुःख पाएको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेको छ ।
योजनाले ट्रकसँग सम्बन्धित व्यक्ति वा ट्रकसँग सम्बन्धित व्यक्तिलाई चिन्ने व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेको छ । तर आयोजनाले यसो भने पनि ट्रक तान्ने क्रेन आउन ढिलाइ भएकाले बाटो पूर्णरुपमा सञ्चालनमा आउन नसकेको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी सहायक उपरीक्षक वेदबहादुर पौडेलले ट्रक चालक घटनास्थलमै रहेको र ट्रकधनीसँग सम्पर्क भइरहेको बताउनुभयो ।
सडक आयोजना स्थलमा समस्या आएमा निर्माण कम्पनी आफैंले तत्काल सहज गराउनुपर्ने भए पनि क्रेन ल्याउन नसक्दा लामो समय बाटो अवरुद्ध भएको छ । पौडेलका अनुसार निर्माण कम्पनीसँग समन्वय गरेर उक्त ट्रक तान्न सक्ने क्रेन दुम्किबासबाट मगाइएको छ ।