• १२ साउन २०८१, शनिबार

सम्पूर्ण प्राणीको मोक्षको कामना गर्दै बुद्ध पूजा

blog

फाइल तस्बिर

काठमाडौँ, जेठ १५ गते । राष्ट्र कल्याण तथा सम्पूर्ण प्राणीको मोक्षको कामना गर्दै बुद्ध पूजा गरिएको छ । हिमालयन बौद्ध शिक्षा तथा संभोटा लिपि प्रशिक्षण केन्द्रद्वारा स्वयम्भूमा आयोजित उक्त कार्यक्रममा २१ ताराको पूजा तथा प्रज्ञापारमिता ग्रन्थको पाठ गरिएको हो । 

बौद्ध गुरु क्याब्जे ढाग्री रिन्पोछेले विशेष पूजा गरी करिब एक हजार पाँच सय बौद्ध अनुयायीलाई अभिषेकको प्रवचन दिनुभयो । बौद्ध साहित्यमा सूत्रपिटकअन्तर्गत पर्ने उक्त प्रज्ञापारमितामा शून्यताको दार्शनिक विषय समेटिएको छ । कुनै पनि व्यक्ति तथा वस्तुको स्वतन्त्र अस्तित्व हुँदैन र अरु वस्तुमा निर्भर हुने गर्दछ भन्ने सन्देश यसमा दिइएको छ । व्यक्ति व्यक्तिकाबिच हुने मनमुटाव, लोभ, क्रोध, मोहका कारण फैलिएका हिंसा तथा अशान्तिलाई न्यूनीकरण गरी शान्ति कायम गर्न सकिने उपाय बौद्ध शिक्षामा उल्लेख गरिएको छ । 

बुद्ध वचन अनुवाद समितिका अध्यक्ष एवम् बौद्ध विद्वान टीका शेर्पाले यस किसिमको पूजाले सकारात्मक ऊर्जा उत्पन्न गरी अनुयायीलाई सत्मार्गमा लाग्न प्रेरित गर्ने हुँदा शान्तिपूर्ण वातावरण निर्माण भई सबैको कल्याण हुने बताउनुभयो । उहाँले बुद्ध साहित्य तथा दर्शनलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्धन गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । केन्द्रका अध्यक्ष कोशिश लोब्वसाङ वाइवाले पछिल्लो समय विभिन्न शक्ति राष्ट्रबिच बढ्दै गइरहेको द्वन्द्व अन्त्यका लागि बुद्धका शिक्षा तथा उपदेशलाई फैलाउनुपर्ने बताउनुभयो । 

उहाँले बुद्धले प्रतिपादन गर्नुभएको दर्शन सबै मानव समुदायका लागि प्रेरणादायी रहेको बताउँदै समग्र प्राणीको कल्याणका लागि तथा मानवका लागि दुःखबाट मुक्ति गराउने उपाय रहेको बौद्ध दर्शन अनुकरणीय रहेको विचार व्यक्त गर्नुभयो । विभिन्न सम्प्रदायका बौद्ध अनुयायीले विभिन्न कार्यक्रम गरी बौद्ध दर्शनमा आधारित गतिविधि तथा भावनात्मक विश्वासलाई अभ्यास गरिरहेका छन् । महायानी बौद्धमार्गीले बुद्धजयन्तीको महिनालाई पवित्र महिनाका रुपमा (साकादावा) मनाउने गर्दछन् । 

करिब तीन दशक अगाडि प्रथम विश्व बौद्ध शिखर सम्मेलन सम्पन्न गरिएको नेपालमा बुद्धजयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाइन्छ । विभिन्न परम्पराका बौद्ध अनुयायीले नेपालसहित भारत, चीन, श्रीलङ्का, भूटान, थाइल्यान्ड, म्यान्मा, मङ्गोलिया, कम्बोडिया, लाओसमा बौद्ध धर्म तथा दर्शनलाई महत्व दिइएको छ । नेपालमा तत्कालीन राजा त्रिभुवनले वि.सं.२००६ जेठ ८ गतेदेखि सरकारी तवरबाट मान्यता दिएपछि नेपालमा बौद्धमार्गी नेपालीले बुद्धजयन्ती मनाउन थालेको अभिलेख पाइन्छ । रासस