• १७ असार २०८१, सोमबार

तामाकोशीका विद्यालयमा १२ कक्षासम्म दिवा खाजा

blog

तामाकोशी गाउँपालिकाको कार्यालय । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले                       

चरीकोट, जेठ १५ गते । दोलखाको तामाकोशी गाउँपालिकाले कक्षा १२ सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउन सुरु गरिएको छ । सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको भएपनि तामाकोसीले माध्यमिक तहका विद्यार्थीलाई आफ्नै स्रोतले दिवा खाजा खुवाउन सुरु गरेको हो । 

विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन र साथै टाढा टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीलाई सहज होस् भन्ने उद्देश्यले दिवा खाजा दिने निर्णय गरिएको तामाकोशी गाउँपालिका शिक्षा प्राविधिक सहायक गोविन्द डिसीले जानकारी दिनुभयो ।  

दिवा खाजाका लागि गाउँपालिकाले वार्षिक ३० लाख रुपियाँ छुट्याएको छ । अपुग भएमा अरू स्रोतबाट खर्च व्यवस्था गरिने डिसीको भनाइ छ । कतिपय विद्यार्थीको घरबाट विद्यालय आउन घण्टौ समय लाग्ने भएकाले विद्यालय मै खाजाको व्यवस्था हुदा विद्यार्थीलाई सहज हुने उहाँले बताउनुभयो । दिवा खाजा व्यवस्था गर्दा शैक्षिक गुणस्तर सुधार हुने र खाजा कार्यक्रमले विद्यार्थीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न र विद्यार्थी टिकाउन सहयोग पुग्ने नारायणी माध्यमिक विद्यालयका शिक्षक सन्तोष कार्काीले बताउनुभयो । दिवा खाजाले विद्यार्थीमा उत्साह र जाँगर थपिने छ । यसले विद्यार्थीलाई नियमित आउनसमेत सहयोग पुग्ने कार्कीको भनाइ छ । तामाकोशी गाउँपालिकाका दुर्गम भेगका बालबालिका र अभिभावकको लागी यो निर्णयले उत्साह थपिएको उहाँले बताउनुभयो । 

तामाकोशी गाउँपालिकाभर ३२ वटा सामुदायिक विद्यालय छन् । यी विद्यालयमा करिब १५ सय जना छात्रछात्रा अध्ययनरत छन् । विद्यार्थी र अस्थायी शिक्षकले दैनिक १५ रुपियाँ बराबरको दिवा खाजा पाउँदै आएका छन् । गाउँपालिकाले विद्यार्थी र अस्थायी शिक्षकको दिवा खाजामा स्थानीयस्तरमा उत्पादन गरिएका वस्तुलाई प्रयोग गर्न विद्यालयहरुलाई आग्रह समेत गरेको छ । यसले गर्दा स्थानीय कृषकले उत्पादन गरेका कृषि सामग्री खपत बढ्ने गाउँपालिकाको विश्वास छ । 

तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष सिर्जना सुवेदीले विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्नका लागी शैक्षिक क्षेत्रलाई प्राथमिकता साथ गाउँपालिकाले बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, "हामी विद्यार्थीको नतिजा राम्रो आउने गरि शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छौं, गत वर्षभन्दा यो वर्ष नतिजामा सुधार आएको छ ।" विद्यालयको अवस्था र विद्यार्थीको सङ्ख्या हेरेर तह घटबढ गर्ने उत्कृष्ट विद्यार्थी, विद्यालय र शिक्षकलाई सम्मान गर्ने गरिएको उपाध्यक्ष सुवेदीले बताउनुभयो ।