• १३ मंसिर २०८१, बिहिबार

सुशासन, विकास र समृद्धिका लागि हातेमालो आवश्यक

blog

गणतन्त्र दिवसको अवसरमा दमौलीमा आयोजित कार्यक्रममा सहभागीहरू । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, जेठ १५ गते । 
नागरिकले महसुस हुनेगरी परिवर्तन ल्याउन सबै पक्ष एक जुट हुन आवश्यक रहेको कुरामा वक्ताहरूले जोड दिएका छन् ।

१७ औँ गणतन्त्र दिवसको अवसरमा गणतन्त्र दिवस मूल समारोह समिति तनहुँले मङ्गलबार दमौलीमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वक्ताहरूले सो कुरामा जोड दिनुभएको छ । समृद्धि, सुशासन र समग्र विकासका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने अधिकांश वक्ताहरूको जोड थियो ।

कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रामचन्द्र पोखरेलले सोचे अनुरूप प्रतिफल नपाइरहँदा जनताको मन अमिलो हुनु, विरोधको स्वर गुन्जिनु आउनु स्वाभाविक भएको उल्लेख गर्नुहुँदै जनताको आयस्तर परिवर्तन ल्याउन सबैपक्ष एक जुट हुन जरुरी रहेको बताउनुभयो ।

जनतामा असन्तुष्टि व्यापक छाएको छ गणतन्त्र अनन्त कालसम्म रहनका लागि सबै  सुशासन, विकास र समृद्धिका लागि हातेमालो आवश्यक रहेको उहाँको भनाइ थियो । गणतन्त्रले राजा फाल्ने मात्रै नभई जनताको सर्वोच्च अधिकार सुनिश्चित गरेको उहाँको भनाइ थियो । महिला, दलित, अल्पसङ्ख्यक सबैको अधिकार सुनिश्चित गर्ने विश्वको उत्कृष्ट संविधानमध्येमा पर्ने नेपालको संविधान गणतन्त्रले कार्यान्वयनमा ल्याएको उहाँले भन्नुभयो । पोखरेलले यसलाई अझै सुधार गरेर जनताको असन्तुष्टि अन्त्य गर्ने गरी काम गरिनुपर्ने बताउनुभयो ।

गणतन्त्रले ल्याएको उपलब्धि रक्षाका लागि विधिको शासन, सामाजिक न्याय र समग्र देशको समृद्धिका लागि हातेमालो गर्नुको विकल्प नभएको गण्डकी प्रदेशका पूर्वमन्त्री डोबाटे विश्वकर्माको भनाइरहेको थियो । पछाडि परेका अनि पारिएका वर्ग र समुदायलाई विकास र समृद्धिको मूल प्रवाहमा ल्याउने कार्य गणतन्त्रले गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिमरण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, जिल्ला समन्वय समितिको उपप्रमुख वासुदेव थापा, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, नेकपा एमालेका केन्द्रीय सदस्य पिएल श्रेष्ठ, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका संयोजक विश्व बास्तोला, नेकपा एकीकृत समाजवादीका मङ्गलप्रसाद श्रेष्ठ लगायतले सुशासनलाई मूलमन्त्र बनाएर अगाडी बढ्न सके गणतन्त्र मजबुत हुँदै जाने कुरामा जोड दिनु भएको थियो ।