फडिन्द्र अधिकारी
लेखनाथ, जेठ १५ गते । देशका सातै प्रदेशमा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवासीय सुविधासहितका छुट्टै विद्यालय चलाउने शिक्षा मन्त्रालयको योजना बजेट कम हुँदा प्रभावित बनेको छ । गण्डकी प्रदेशका लागि पोखरा महानगरपालिका–३०, खुदीमा बन्दै गरेको विद्यालय भवन निर्माण सुरु भएको तीन वर्षमा एक तला ढलान मात्र भएको छ ।
त्रिभुवन शान्ति नमुना माविको जग्गामा बन्दै गरेको भवनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बने पनि अझै स्वीकृत भएको छैन । सङ्घीय शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले चलाएको यो योजनाको अनुगमन र प्राविधिक सहयोग प्रदेशको सामाजिक विकास मन्त्रालयले गरेको छ । सालबसाली योजनाका रूपमा निकै कम बजेट आउँदा विद्यालय निर्माण प्रभावित बनेको हो । सामाजिक विकास मन्त्रालयका सचिव प्रकाश पौडेल यसलाई बहुवर्षीय योजनामा नलगी निर्माण पूरा हुन कठिन हुने उल्लेख गर्नुहुन्छ । सचिव पौडेलले भन्नुभयो, “डिपिआरभन्दा साह्रै कम आयो । यसरी वर्षको दुई करोड मात्र बजेट हुँदा योजना नै कार्यान्वयनमा जान नसक्ने भनी सङ्घीय शिक्षा मन्त्रालयमा लेखिपठाएका छौँ । यसपालिबाट विद्यालय सञ्चालन होला भनी सञ्चालनमा बजेट छुट्याएका थियौँ ।”
प्रदेशको स्रोत नै सीमित भएकाले यति ठुलो योजना कार्यान्वयन गर्न कठिन पर्ने उहाँको भनाइ छ । पौडेलले भन्नुभयो, “बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई सबै तहका सरकारले हेर्नु पर्छ तर हामी बढीमा ५० लाख वा एक करोड लगानी गर्न सक्छौँ ।” तीन वर्षअघि बेनेको डिपिआर अनुसार विद्यालय परिसरमा तीन ब्लक निर्माण हुने छन् । यो विद्यालय भवनको लागत ३३ करोड हुने डिपिआरमा उल्लेख छ । सङ्घीय शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अधिकृत अर्जुन ढकालले अबको आर्थिक वर्षमा धेरैजसो निर्माण सक्ने र अर्काे वर्षबाट विद्यालय सञ्चालन गर्ने योजना सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “अबको आर्थिक वर्षमा मुख्य काम सक्ने र त्यसपछिको वर्षबाट स्कुल सञ्चालन थाल्ने योजना छ । सबै निर्माण एकै पटक हुँदैन, चलाउँदै जाने, बनाउँदै जाने भन्ने हो ।” निर्माण र सञ्चालन दुवैमा प्रदेश र स्थानीय तहले पनि साझेदारी गर्नुपर्ने ढकालले औँल्याउनुभयो । सामाजिक विकास मन्त्रालयका उपसचिव तोयानाथ लम्सालले यो विद्यालयमा फिजियो थेरापी, स्पिच थेरापीसहित पेसागत सिपसमेत सिकाउने लक्ष्य राखिएको बताउनुभयो । आर्थिक वर्ष २०७८/७९ मा पहिलो पटक विनियोजन भएको दुई करोड फिर्ता गएको थियो । त्यसपछिका दुई वर्षमा दुई/दुई करोडबाट बजेट विनियोजन भएको छ । छुट्टै विद्यालय र विशेष सुविधा नहुँदा बौद्धिक अपाङ्गता भएका धेरै बालबालिका स्कुल जान पाएका छैनन् । अरू विद्यार्थीसँगै शिक्षा दिँदा उनीहरूको सिकाइसमेत प्रभावकारी बन्न सकेको छैन । खुदीमा बन्दै गरेको विद्यालयमा दुई सय जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आवासीय सुविधान दिने लक्ष्य राखिएको छ । दुई तलाका लिफ्टसहितका विद्यालय भवन र प्रशासकीय भवन यहाँ बन्ने छन् ।