• ४ असार २०८१, मङ्गलबार

रफाह हमलाले गाजा युद्धविराम वार्तालाई बाधा पुर्‍याउन सक्ने कतारको भनाइ

blog

दोहा, जेठ १४ गते । इजरायलले गाजाको दक्षिणी सहर रफाहनजिकै गरेको पछिल्लो आक्रमणले युद्धविराम र बन्धक मुक्त गर्नेसम्बन्धी वार्तामा बाधा पुर्‍याउन सक्ने मध्यस्थ राष्ट्र कतारले सोमबार जनाएको छ ।

कतारको विदेश मन्त्रालयले ‘शिविरमा भएको हवाई आक्रमणले जारी मध्यस्थता प्रयासलाई जटिल बनाउने र तत्काल र स्थायी युद्धविरामका लागि सम्झौतामा पुग्न बाधा पुग्ने’ भन्दै चिन्ता व्यक्त गरेको छ ।

संयुक्त राज्य अमेरिका र इजिप्टसँगै कतारले इजरायल र हमासबिच युद्धबाट तहसनहस बनेको गाजामा युद्धविराम सम्झौता गर्ने उद्देश्यले महिनौँदेखि वार्ता गरिरहेको छ ।

तर यसै महिनाको सुरुमा इजरायलले राफाहमा स्थल सेना पठाएपछि वार्ता प्रयासमा गतिरोध पुगेको थियो ।

संयुक्त राज्य अमेरिकाको सहमतिमा सन् २०१२ देखि हमासको राजनीतिक नेतृत्वलाई आश्रयस्थल दिँदै आएको कतारले इजरायली बमबारीलाई ‘अन्तर्राष्ट्रिय कानुनको खतरनाक उल्लङ्घन’ भन्दै निन्दा गरेको छ ।

विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायसँग इजरायललाई ‘रफाह सहरबाट प्यालेस्टिनीहरूलाई जबरजस्ती विस्थापित गर्ने आफ्नो योजना कार्यान्वयन गर्न रोक्न तत्काल कदम चाल्न आह्वान गरेको छ । गाजा लाखौँ मानिसहरूको लागि अन्तिम आश्रय स्थल बनेको छ ।”

कुवेतको विदेश मन्त्रालयले पनि राफाह नजिकै विस्थापित प्यालेस्टिनीहरूको शिविरमा इजरायली आक्रमणको निन्दा गर्दै यसले इजरायलको ‘स्पष्ट युद्ध अपराध र अभूतपूर्व नरसंहारलाई सम्पूर्ण विश्वमा उजागर गरेको’ बताएको छ ।

खाडी मुलुक कुबेतले ‘अन्तर्राष्ट्रिय समुदायको तत्काल र दृढ हस्तक्षेप’ को लागि आह्वान गरेको छ । रासस/एएफपी