• ३ असार २०८१, सोमबार

एकै ठाउँमा एक सय आठ चौतारी

blog

पर्वतको कुस्मा नगरपालिका–१२, ठुलीपोखरीमा रहेको कालिका भगवती मन्दिर परिसरमा निर्माण भएका १०८ बरपिपल चौतारी ।

पर्वत समाचारदाता

पर्वत, जेठ १३ गते  । पछिल्लो समय बरपिपलका रुख हराउँदै गएकाले पर्वतको एक स्थानमा भने १०८ बरपिपल चौतारी निर्माण गरी संरक्षण थालिएको छ । धार्मिक एवं पर्यावरणीय हिसाबले महत्वपूर्ण मानिएका बरपिपल संरक्षणका लागि पर्वतको कुस्मा नगरपालिका–१२, बाटुलेचौरमा संरक्षण थालिएको हो । 

कालिका भगवती मन्दिर क्षेत्र विकास संस्था र कालिका गुठीको पहलमा विभिन्न व्यक्तिको सहयोगमा चौतारी निर्माण गरी बरपिपल र शमीका बिरुवा रोपिएको छ । आफ्ना कुलको उद्धारका लागि भन्दै विभिन्न व्यक्तिबाट प्रतिचौतारी १० हजार रकम सङ्कलन गरी चौतारी निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । बाटुलेचौर क्षेत्र पुरानो धार्मिक स्थल भएकाले मन्दिरको नजिकमा बरपिपल चौतारी निर्माण गरिएको हो ।  

“प्रत्येक चौतारीको न्यूनतम १० हजार रुपियाँ लिएर काम सुरु गरेका हौँ,” मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद पौडेलले भन्नुभयो, “साना खालका चौतारी बनाएर बरपिपल र शमीका बिरुवा हुर्काएका छौँ ।” अहिले सबैको मागबमोजिम १२४ चौतारी पुगिसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पौडेलले बताउनुभयो । हिन्दु धर्ममा शनिबार र शनि त्रयोदशीमा बरपिपलको पूजा गरेमा सन्तान प्राप्ति हुने साथै मनोकाङ्क्षा पूरा हुने र कुल उद्धार हुने बताइन्छ । पछिल्लो समय बरपिपल लोप हुँदा पूजा गर्नसमेत समस्या भएकाले एकै ठाउँमा १०८ चौतारी बनाएर रोपिएको उहाँको भनाइ छ । “विकास निर्माणको तीव्रतासँगै गाउँघरमा रहेका बरपिपलका चौतारी मोटरबाटोले नासिएका छन्,” उहाँले भन्नुभयो, “केही ठाउँमा रुख भए पनि सडक नै अन्यत्रैबाट बनेपछि तिनको उपयोगसमेत हुन छाडेको छ ।” 

चौतारी निर्माण गर्नेले पितृको नाउँमा बनाइदिन समितिलाई रकम प्रदान गर्ने र समितिले सोही रकमबाट चौतारी बनाइदिने गरेको हो । अहिले चौतारी बनाउनेको माग अत्यधिक भए पनि ठाउँ र संरक्षणको समस्या हुँदा बन्द गरिएको अध्यक्ष पौडेलको भनाइ छ । चौतारी निर्माणका लागि हालसम्म १२ लाख ४० हजार खर्च भएको छ । केही व्यक्तिले संरक्षणका लागि बढी रकम दिए पनि त्यही रकमबाट नियमित रेखदेख र मर्मतसम्भार गरिएको समितिले जनाएको छ । सानो ठाउँमा बरपिपल हुर्काउन समस्या हुने भए पनि त्यसको कटनी÷छटनी गरी मिलाउने गरी संरचना निर्माण गरिएको छ । टाढा टाढा बनाउँदा संरक्षण गर्न समस्या हुने भएकाले नजिकमा बनाएर बिरुवाको व्यवस्थापन गर्ने पौडेलले बताउनुभयो । अहिले १०८ वटा पिपल चौतारी, आठ बर र आठ शमीका चौतारी रहेका छन् । 

एकै ठाउँमा बरपिपल चौतारी बनेपछि मन्दिरमा आउने धर्मावलम्बी बढेका छन् । पूजाका लागि पर्वतका विभिन्न स्थानका साथै स्याङ्जा, कास्की, बागलुङलगायतका ठाउँबाट समेत श्रद्धालु आउने गरेका छन् । अहिले चौतारीको संरक्षणका साथै सबै चौतारीमा पुग्न बाटो बनाउने कामसमेत भएको छ ।