• १३ मंसिर २०८१, बिहिबार

मुक्तिनाथ मन्दिरमा चढाइएको विदेशी मुद्रा कामै नलाग्ने

blog

मुक्तिनाथ विकास कोष अन्तर्गत मुक्तिनाथ मन्दिरमा रहेको दानपेटिका खोलेर रकम गणना गरिँदै ।

अमृतप्रसाद पौडेल

म्याग्दी, जेठ १३ गते । हिमालपारिको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिरको दानपेटिकामा विदेशी भक्तजनले चढाउने गरेको आफ्नै देशको मुद्रा सटही हुन नसक्दा कुनै काम नलाग्ने कागज जस्तै मात्र हुने गरेको छ । विदेशी मुद्रा गणना गरी मुचुल्का गरेर प्रहरीको जिम्मा लगाइने तर त्यो रकम सटही नहुँदासम्म काम नलाग्ने कागज जस्तै मात्र हुने गरेको छ । 

अहिले गएको पुसदेखि जेठ पहिलो सातासम्मको भेटी गणना गर्दा पनि दानपेटिकामा भेटिएका नेपाली मुद्रा बैङ्क जम्मा गरिएको भए पनि विदेशी मुद्रा भने गणना गरी मुचुल्का गरेर प्रहरीको जिम्मा लगाउने सिवाय अरू काम हुन सकेको छैन । गएको पुसयता झन्डै २५ लाख रुपियाँ सङ्कलन भए पनि त्यसमध्ये झन्डै १३ लाख नेपाली रुपियाँ बराबरको विदेशी मुद्रा दानपेटिकामा भेटिएपछि त्यो रकम पनि पुनः प्रहरी कार्यालयको नै जिम्मा लगाइएको छ । सर्वपक्षीय उपस्थितिमा भएको गणनामा नेपाली रुपियाँ ११ लाख ८९ हजार ७४५ रुपियाँ सङ्कलन भएको थियो । त्यस्तै भारतीय रुपियाँ आठ लाख १५ हजार आठ सयको नेपाली रूपान्तरण गर्दा १३ लाख पाँच हजार २८० रुपियाँ गरी कुल २४ लाख ९५ हजार २५ रुपियाँ रकम जम्मा भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो । 

मुक्तिनाथ विकास समिति अन्तर्गत मुक्तिनाथ मन्दिरमा रहेका पाँच वटा दानपेटिका खोल्दा नेपाली नोट एक हजार दरका २१६ थान, पाँच सय दरका ४७० थान, एक सय दरका तीन हजार ६६० थान, २० रुपियाँका तीन हजार ७९५ थान, १० रुपियाँ दरका छ हजार ७२५ थान र पाँच रुपियाँका नोट १२ हजार ४३९ थान रहेको मुक्तिनाथ विकास कोषका सदस्यसचिव एवं मालपोत कार्यालयका प्रमुख सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीको अध्यक्षतामा मुक्तिनाथ विकास समिति अन्तर्गत मुक्तिनाथ मन्दिरमा रहेका पाँच वटा दानपेटिका खोलिएको थियो ।

मुक्तिनाथ विकास कोषका सदस्य सचिव एवं मालपोत अधिकृत सूर्यप्रसाद शर्मा अर्यालका अनुसार नेपाली पैसा समितिको खातामा जम्मा गरिएको र विदेशी मुद्रा भने मुचुल्का गरेर नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ । विदेशी पैसा सटही भएपश्चात् मात्रै काम आउने र बैङ्क जम्मा गर्न मिल्ने भए पनि अहिले विदेशी पैसा सटही हुन नसक्दा केही प्रयोग नै नहुने कागज जस्तै भएको उहाँको भनाइ छ । रकम गणना गर्ने समयमा जिल्ला प्रशासन, प्रहरी, मालपोतका प्रतिनिधिका साथै निर्वाचित जनप्रतिनिधिको समेत उपस्थिति रहेको मुक्तिनाथ विकास कोषका कर्मचारी रविन सुवेदीले जानकारी दिनुभयो ।