• ३ असार २०८१, सोमबार

‘लान्द्रुक हनी हन्टिङ’ महोत्सवको रौनक

blog

फडिन्द्र अधिकारी

लेखनाथ, जेठ १३ गते । गत वर्षको ‘लान्द्रुक हनी हन्टिङ’ महोत्सवमा तीन लिटर मात्र मह जम्मा भएकोमा खिन्न कास्कीको अन्नपूर्ण गाउँपालिका–७, लान्द्रुकका बासिन्दा यसपालि भने प्रशन्न छन् । उनले मङ्गलबार सुरु भएर शुक्रबार सकिएको लान्द्रुक हनी हन्टिङ महोत्सवमा १७ गोलाबाट १३० लिटर मह भिरौटेहरूले निकालेका छन् ।

महोत्सवका संयोजक विष्णुप्रसाद चपाई यसरी निकालिएको मह हातहातै बिक्री भएकोमा झनै उत्साहित हुनुहुन्छ । मोदीखोलामाथिको छङ्गाछुर कोसेटाङ भिरमा सिमसिम पानी र टन्टलापुर घाम दुवैको परवाह नगरी मह निकालिएको हो । चार दशकदेखि भिरौटे बन्दै आउनुभएका ६१ वर्षीय खड्गबहादुर गर्बुजामगर यसपालि पनि निगालोको चोया बाटेर बनाइएको डोरी (पराङ) को सहायतले भिरमा जानुभयो । 

छ दशक नाघे पनि ज्यान हत्केलामा राखेर भिरबाट मह निकाल्ने गर्बुजामगरलाई यो पेसामा लागेकोमा दुखेसो छैन । उहाँ भन्नुहुन्छ, “एकदम जोखिमकै काम हो । गाउँघरमै बसेर यही काम गरियो । खुसी नै छु ।” यसका बासिन्दा पहिले आफूलाई चाहिने महको जोहो गर्न भिरमा जान्थे, अहिले त्यही काम पर्यटकको आकर्षणसमेत बनेको छ । 

अहिले भिरौटेलाई प्रविधिले सजिलो बनाइदिएको छ । पहिले कोराको कपडा मुखमा बाँधेर मह काढिन्थ्यो, अहिले साधन, स्रोत हुँदा मौरीले टोक्न पाउँदैन, कोरा कपडा बाध्नुपर्ने बाध्यता छैन । महोत्सव गर्न अन्नपूर्ण गाउँपालिकाले सघाएको छ । गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङ यो महोत्सवले पर्यटन प्रवर्धनसहित लान्द्रुकलाई परिचित गराउन भूमिका खेलेको बताउनुहुन्छ । वर्षमा तीन पटकसम्म भिरमौरीको मह निकाल्ने गरिएको छ । कात्तिक, फागुन र जेठमा मह काढिने गुरुङ बताउनुहुन्छ ।