काठमाडौँ, जेठ १३ गते । सरकारले महिला तथा बालबालिका विभाग खारेज गरेपछि विगत छ महिनादेखि केही कर्मचारीको व्यवस्थापन हुन सकेको छैन । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा विभाग खारेज गर्ने घोषणा भएपछि गत मङ्सिरमा कर्मचारीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा
समायोजन गरिएको थियो तर विभाग खारेज भएको छ महिना पुग्दासमेत कर्मचारी व्यवस्थापन नहुँदा उनीहरू भूमिकाविहीन भएका हुन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव विनोद दाहालका अनुसार यसरी जिम्मेवारी नपाएका कर्मचारीमा प्रशासनतर्फका तीन जना, लेखातर्फ एक जना अधिकृत र एक जना कार्यालय सहयोगी छन् ।
उहाँले कर्मचारीलाई भूमिका दिएर सरुवा गर्न धेरै प्रयास गरिए पनि नसकिएको जानकारी दिनुभयो । “मन्त्रालयमा व्यवस्थापन गर्न सकिने कर्मचारीलाई गरियो । अरू कर्मचारीलाई भूमिका दिन नसक्दा उहाँहरू कामविहीन हुनुभएको छ,” उहाँले भन्नुभयो ।
सरकारले २०५७ साल असार २६ गते महिला विभागको स्थापना गरेको थियो । पछिल्लो समय विभागको काम कारबाही प्रभावकारी नभएको भन्दै सरकारले खारेज गर्ने नीति लिएको हो तर मन्त्रालयका कतिपय कर्मचारीले कुनै अध्ययन नभएर खारेज गरेको भन्दै असन्तुष्टि जनाउने गरेका छन् ।