• ३ असार २०८१, सोमबार

फुका लेकमा यार्चागुम्बा सङ्कलन अनुमति

blog

नार्पाभूमि गाउँपालिकाको संयोजकत्वमा फू गाउँको लेकमा यार्चागुम्बा सङ्कलनको सुरक्षाका लागि ५ जनाको च्याँखु प्रहरीलाई बिदाइ गर्दै । तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट
मनाङ, जेठ १२ गते ।
मनाङमा वैशाख १० देखि यार्चागुम्बा सङ्कलनको पहिलो गन्तव्य नाम्केखर्क सुरु भएको थियो भने दोस्रो गन्तव्यका रुपमा १४ जेठबाट फु गाउँले यार्चागुम्बा सङ्कलनको अनुमति पाएको छ ।

आइतबार १३ गतेदेखि पुर्जी काटेका मनाङीलाई मात्र १४ गतेदेखि यार्चागुम्बा सङ्कलनका लागि अनुमति दिइने नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले जानकारी दिनुभयो । उहाँले अनुमति पाएका मनाङीले फु गाउँको लेकमा एक महिनासम्म यार्चागुम्बा सङ्कलन गर्न पाउने बताउनुभयो । विगतको घटनाबाट पाठ सिक्दै यार्चागुम्बा सङ्कलनलाई व्यवस्थित बनाउन आफूहरु लागिपरेको उहाँको भनाइ छ ।

अध्यक्ष लामाले भन्नुभयो, ‘‘नार्पाभूमिको नार र फु संरक्षित तथा निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाको दृष्टिबाट पनि विगतको जस्तो अवस्था नाआओस् भनी मनाङीलाई मात्र यार्चागुम्बा संकलन गर्न अनुमति दिने निर्णय गरेका छौं । हाललाई फु गाउँका लेकमा मात्र यार्चागुम्बा सङ्कलन गर्न पाइन्छ ।’’

यार्चागुम्बा सङ्कलनका लागि ३५ हजार रुपियाँ शुल्क तिर्नुपर्ने हुन्छ । शुल्क तिरी सकेपछि मात्र सङ्कलनका लागि पुर्जी दिइन्छ । फु गाउँको लेकमा यार्चागुम्बा सङ्कलकबाट उठेको रकम ६० प्रतिशत संरक्षण क्षेत्र व्यवस्थापन समितिले राख्छ भने बाँकी ४० प्रतिशत गाउँपालिकाले राख्ने गरी पुर्जी काटिएको अध्यक्ष लामाले जानकारी दिनुभयो । त्यसैगरी, सङ्कलन भएको यार्चागुम्बाको प्रतिकेजी १० प्रतिशत निकासी कर लाग्ने उहाँले बताउनुभयो ।

शान्तिसुरक्षा मजबुत
यार्चागुम्बा सङ्कलनको समयमा झैझगडा नहोस् भनी शान्तिसुरक्षा मजबुत पारिएको छ । नार्पाभूमि गाउँपालिकाको संयोजकत्वमा फू गाउँको यार्चागुम्बा सङ्कलन समयका लागि शान्ति सुरक्षाको प्रयोजनार्थ च्याँखु प्रहरीलाई त्यसतर्फ खटाइएको छ । च्याँखु प्रहरी पोस्टबाट एक महिनासम्म पाँच जनाको प्रहरी टोलीले यार्चागुम्बा सङ्कलकलाई सुरक्षा दिनेछन् ।

फुमा प्रहरीको दरबन्दी नभएकाले सो टोलीले एक महिनासम्म फुमा बसेर यार्चा सङ्कलनकलाई सुरक्षा दिने अध्यक्ष लामाले बताउनुभयो । उहाँले प्रहरी टोलीलाई बन्दोबस्तीका सामानसहित रासनपानीको व्यवस्था गरी परिचालन गरिएको बताउनुभयो ।

यार्चागुम्बा खोज्ने क्रममा २०६६ सालमा नारस्थित नाम्ग्यखर्कमा गोरखाका सात जनाको स्थानीयले हत्या गरेका थिए । त्यसपछि सुरक्षा चुनौतीका कारण मनाङका साविकको नार र फु गाउँ विकास समितिमा यार्चागुम्बा सङ्कलन रोकिएको थियो । अहिले त्यस्ता घटना दोहोरिन नदिन अन्य जिल्लाका सङ्कलकलाई अनुमति दिइएको छैन ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जिल्लाभित्र यार्चागुम्बा सङ्कलनको याम सुरु भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हुन त पाँच जनाको टोलीले के नै सुरक्षा गर्न सकिन्छ र, तैपनि सुरक्षाकर्मी पनि छन् है ढुक्कसँग यार्चागुम्बा सङ्कलन गर्नुस् भनी आश्वत पार्न प्रहरी खटाइएको हो ।’’

विगतको जस्तो अप्रिय घटना नहोस् भनी प्रहरी परिचालन गरिएको जानकारी दिनुहुँदै उहाँले भन्नुभयो, ‘‘यसपालि मनाङीलाई मात्रै फुमा यार्चागुम्बा सङ्कलनका लागि अनुमति दिइएको छ, त्यस्तो अप्रिय केही नहोस् । यदि केही भइहाल्यो भने पनि पहिलो कारबाही भनेको संरक्षण क्षेत्र व्यवस्थापनलाई नै हुनेछ ।’’ यसलाई व्यवस्थित गर्ने कानुन भनेको यससँग सम्बन्धित निर्देशिकामा यार्चागुम्बा सङ्कलन व्यवस्थापन संरक्षण समितिले गर्ने उल्लेख छ ।

प्रजिअ लामिछानेले भन्नुभयो, ‘‘सुरक्षाकर्मी छन् भनेर सोच्यो भने कहीँ पनि सुरक्षा हुँदैन, हाम्रा सुरक्षाकर्मी तपाईंको साथमा हुनुहुन्छ । सूचना समयमा दिने, आवश्यक सहयोग र समन्वय गर्ने कुरामा सहमति भएको छ ।’’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले यार्चागुम्बा सङ्कलनका लागि स्वीकृति दिएपछि मात्रै सङ्कलन गर्न खर्क पस्न पाइन्छ ।

एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलले नार्पाभूमिका खर्कमा यार्चागुम्बा खोज्न बाहिरी जिल्लाका सङ्कलकलाई अनुमति नदिएको बताउनुभयो । उहाँका अनुसार जिल्लाका तीन खर्कमा यार्चागुम्बा सङ्कलनमा बाहिरी जिल्लाका व्यक्तिलाई रोक लगाइएको छ । नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले सुरक्षा चुनौतीकै कारण बाहिरी जिल्लाबाट आउने यार्चागुम्बा सङ्कलकलाई रोक लगाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विगतमा भएको जस्तो घटना दोहोरिन दिनु हुँदैन भनेर स्थानीयलाई मात्र सङ्कलनको अनुमति दिँदै आएका छौं ।’’

नाम्केखर्कमा फस्टाएन यार्चा
वैशाख १४ गतेदेखि मनाङको नाम्केखर्कबाट यार्चागुम्बा सङ्कलन भइरहेको छ । यसपालि विगतको तुलनामा थोरै मात्र सङ्कलन गरिएको छ । नासोँ–८ का वडाध्यक्ष एवम् ताचै बगरछाप संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष याद घलेले मल र जल नमिल्दा साना मसिना मात्र सङ्कलन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जलवायु परिवर्तनका कारण समयमा हिउँ परेन, यार्चाका लागि मल तथा जल भनेकै हिउँ हो । यसपालि बल्ल थाहा भयो समयमा हिउँ नपर्दा यार्चागुम्बा पनि कमै सङ्कलन भयो । सङ्कलन गरिएका पनि साना र मसिना मात्रै छन् ।’’

वैशाख १० देखि दुई सय जनाको टोली औषधीय जडीबुटी यार्चागुम्बा सङ्कलनको अनुमति लिएर नाम्केखर्कतर्फ गएको थियो । ताचैको टोली वैशाख २८ गते सङ्कलनका लागि गएको भए पनि जेठ ४ गते फर्कियो । घलेले भन्नुभयो, ‘‘सिङ्गो गाउँ नै खर्कतिर लाग्दा मृत्यु संस्कार चलाउन गाह्रो भयो, गाउँमा ५ गते अर्घों परेको थियो, अर्घों सकेर फेरि टोली लेक पसेको छ ।’’

नाम्केखर्कमा मनाङीका अलावा अन्य गोरखा, लमजुङलगायत अन्य जिल्लाबाट आउनेलाई पनि यार्चागुम्बा सङ्कलनका लागि अनुमति दिइएको छ ।