• ३ असार २०८१, सोमबार

पर्यटक आकर्षित गर्न सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण

blog

ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ १२ गते ।
म्याग्दी र बागलुङ जिल्लाको सिमानामा रहेको सोलेडाँडालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको छ । समुद्री सतहदेखि दुई हजार छ सय ३० मिटरको उचाइमा अवस्थित सोलेडाँडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ ।

बागलुङको तमानखोला र म्याग्दीको मालिका गाउँपालिकाले सोलेडाँडालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न संयुक्त रुपमा पर्यटकीय पूर्वाधार निर्माणमा जुटेका छन् ।   

तमानखोला गाउँपालिकाले यहाँ सहिदपार्क, शौचालय, खानेपानी व्यवस्थापन, पिकनिक स्पट, सत्तल लगायतका संरचना निर्माण गरेको छ । गाउँपालिकाले संरचना निर्माणसँगै प्रचारप्रसारलाई जोड दिएपछि आन्तरिक पर्यटकसमेत बढ्न थालेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताउनुभयो ।

उहाँका अनुसार गत वर्ष गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रलायले विनियोजन गरेको बजेटबाट पूर्वाधार निर्माण गरिएको हो । सोलेडाँडामा पुग्ने पर्यटकलाई विश्रामका लागि चालु आर्थिक वर्षमा सत्तल निर्माण गरिएको छ ।

स्थानीय काठ, ढुङ्गाको प्रयोग गरेर सत्तल निर्माण गरिएको छ । पानी, झरी पर्दा, हावाहुरी चल्दा बाहिरबाट घुम्न आएका पर्यटकलाई ओत लाग्नका लागि सहज भएको उहाँले बताउनुभयो । सोलेडाँडामा तमानखोला गाउँपालिकाले सहिदपार्क निर्माण गरेर सालिक राखेको छ ।

नेपालका प्रथम सहिद लखन थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दसहित माओवादी जनयुद्धका बेला तमानोलाका विभिन्न गाउँबाट ज्यान गुमाएका स्थानीयवासी दुर्गाबहादुर बुढा, प्रेम घर्तीमगर, ओमकार बुढा र गङ्गाबहादुर पुनको सालिक राखेको गाउँपालिकाका अध्यक्ष  बुढामगरले बताउनुभयो ।

गाउँपालिकाले हालसम्म करिब ३० लाख रुपियाँ बढीको संरचना निर्माण गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सोलेडाँडालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा पर्यटन पूर्वाधार निर्माण थालिएको छ । पूर्वाधार निर्माणसँगै खुल्ला डाँडोमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । पर्यटकले पिउने पानी, पाएका छन्, शौचालय, विश्राम गर्ने ठाउँ बनेको छ, सहिदको सम्मानमा पार्क निर्माण गरेर सालिक पनि राखेका छौँ, अन्य पूर्वाधार विस्तारै थप्दै जाने छौँ ।”

हिमशृङ्गला र सूर्योदय र सूर्यास्त अवलोकनका लागि उपयुक्त मानिने सोलेडाँडा बाह्रै महिना पर्यटकको रोजाईमा पर्ने गरेको छ । वनभोज, रात्री ‘क्याम्प’ र पदयात्राका लागिसमेत मानिस सोलेडाँडा पुग्छन् ।

यहाँबाट देखिने हिमशृङखला र दर्जनौँ प्राकृतिक मनोरम दृश्यले धेरैलाई लोभ्याउने गर्छ । उच्च पहाडी क्षेत्रमा रहेको यसडाँडामा शान्त वातावरण, स्वच्छ हावापानीसँगै जीवजन्तुको चिरवीर आवाजले मन मस्तिष्कलाई आनन्दित बनाउँछ ।

बागलुङ र म्याग्दीको मालिका गाउँपालिका ३ को सिमनामा पर्ने सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण र प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने निति रहेको मालिका गाउँपालिका ३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो । मालिका र तमानखोला गाउँपालिकाले सोलेडाँडासम्म सडक विस्तार गरिसकेका छन् ।