• ३ असार २०८१, सोमबार

प्रिमिक्स प्रविधिबाट सडक कालोपत्रे

blog

सुलीकोट समाचारदाता 

सुलीकोट, जेठ १२ गते  । गोरखाको पालुङटार नगरपालिका–१, सिमानामा पर्ने खारखोलादेखि–१० को जोहिडिहीसम्म सडक कालोपत्रे भएको छ । यो सडक प्रिमिक्स प्रविधिबाट कालोपत्रे गरिएको हो । विसं २०५३ मा तत्कालीन मिरकोट गाविसको पहलमा खुलेको यो सडक सङ्घीय बजेटबाट यसै वर्ष कालोपत्रे र ढलानसहित स्तरोन्नति गरिएको हो । सडक कालोपत्रे भएपछि पालुङटार नगरपालिका–१ र १० मा रहेका स्थानीय लाभान्वित भएका छन् । 

सामान्य मर्मत गरेर सञ्चालन हुँदै आएको कच्ची सडकमा हिलो र धुलोको सास्ती खेप्दै जोखिमपूर्ण यात्रा गर्दै आएका मिरकोट गाईखुरवासीलाई सडक बन्दा सहज भएको छ । जोहिडिहीका बासिन्दा बुद्धिमान तामाङले कच्ची सडक हुँदा गाईखुर र मिरकोटका स्थानीयलाई गोरखा सदरमुकामसम्म पुग्न निकै असहज भएको बताउनुभयो । निकै अप्ठ्यारो बाटो जोहिडिहीबाट खारखोलासम्म पुग्न २० मिनेट लाग्ने गरेकामा अहिले पाँच मिनेटमा पुग्न सकिने भएको छ । 

सडक कालोपत्रे भएपछि आवतजावत, कृषिउपज निकासी, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी, विद्यार्थीलाई विद्यालय जान, बिरामीलाई अस्पताल पुग्न सहज भएको पालुङटार–१०, जोहिडिहीवासीको भनाइ छ ।

खारखोलादेखि जोहिडिही जोड्ने करिव डेढ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, ढलान र कालोपत्रे गर्न २०८० कात्तिक २४ गते स्यस कन्स्ट्रक्सन कम्पनी प्राइभेट लिमिटेडले एक करोड दुई लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले निर्धारित समय २०८१ वैशाख २० गतेभित्र नै सडक निर्माण सकेको गोरखा सडक आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर गोविन्द श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यस ठेक्काको अवधि २०८१ असार मसान्तसम्म भए पनि निर्माण कम्पनीले समयभन्दा अगाडि नै काम सम्पन्न गरेको छ । 

पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले ऐतिहासिक र रणनीतिक महìव रहेको यो सडक स्तरोन्नतिलाई निरन्तरता दिन पहल गरेको बताउनुभयो । बाइसे/चौबिसे राज्य भएका बेलामा तत्कालीन राजाले किल्लाका रूपमा प्रयोग गर्दै आएको कोटगढीमा पुग्न आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ ।