• ३ असार २०८१, सोमबार

व्यास नगरपालिकाको पुनः मतगणना असार २ गते हुने

blog

फडिन्द्र अधिकारी
लेखनाथ, जेठ ११ गते ।
उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकाको प्रमुखको पुनः मतगणना असार २ गते गर्न आदेश दिएको छ । उच्च अदालतका न्यायाधीशहरु राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले गरेको जेठ २ गते गरेको फैसलाको पूर्णपाठ अहिले सार्वजनिक भएको हो ।

व्यास नगरपालिकाका प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटको फैसलाको पूर्णपाठमा यस्तो उल्लेख छ । खसेको मत र बदर मत कुल मतसँग नमिलेको उल्लेख गर्दै फैसलाको पूर्णपाठमा निर्वाचन कसुर तथा सजाय ऐन २०७३ बमोजिम पुरानो परिणाम बदर गरी पुनः मतगणना गर्न आदेश दिइएको हो ।

असार २ गते ११ बजे मत गणना सुरु गर्न खर्च व्यवस्थापन र समन्वयका लागि निर्वाचन आयोगलाई लेखी पठाउने पूर्णपाठमा उल्लेख छ । स्थानीय तह मतगणना निर्देशिका २०७८ बमोजिम मतगणना फारममा वडा नम्बर ४ र ५ को बदर मत कतै उल्लेख नभएको, ७ र ११ को आंशिक उल्लेख भएको पूर्णपाठमा जनाइएको छ ।

पूर्णपाठमा भनिएको छ, “यसरी एउटै वडाबाट नगर प्रमुखको पदका लागि खसेको मत बदर र पूर्ण बदर भएको तथ्याङ्क फरक फरक ठाउँमा फरक फरक उल्लेख हुनुलाई रीतपूर्वक मान्न मिल्ने देखिएन ।”

व्यासको मतगणनामा धाँधली भएको भन्दै जोशीले २०७९ जेठ १२ गते रिट दर्ता गर्नुभएको थियो । गएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठ न्यौपाने व्यास नगरपालिका प्रमुखमा १२ हजार ७८ मतसहित विजयी घोषणा हुनुभएको थियो । ११ हजार आठ सय २६ मत पाउनुभएका निकटतम प्रतिस्पर्धी जोशीले पुनः मतगणना माग गर्दै रिट दायर गर्नुभएको थियो । जोशी कैँची चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार हुनुहुन्थ्यो ।