• २ असार २०८१, आइतबार

निःशुल्क मुटु तथा हाडजोर्नी स्वास्थ्य शिविरबाट ४३७ जना लाभान्वित

blog

गोरखाको बारपाक सुलीकोट गाउँपालिका– ७ को पाँचखुवा देउरालीमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, जेठ ११ गते । गोरखाको बारपाक सुलीकोट गाउँपालिका– ७ को पाँचखुवा देउरालीमा मुटु तथा हाडजोर्नी निःशुल्क स्वास्थ्य शिविरबाट ४३७ जना लाभान्वित भएका छन् । शुक्रबार रोटरी क्लब अफ बज्र मनास्लुको आयोजना तथा बारपाक सुलीकोट गाउँपालिकाको विशेष समन्वयमा विज्ञान पोलिक्लिनिक प्रालि गोरखाको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

बारपाक सुलीकोट गाउँपालिकाका–७ पाँचखुबा देउरालीको शैलिपुत्री माबिमा भएको निःशुल्क मुटु तथा हाडजोर्नी स्वास्थ्य शिविरमा आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ नागरिक, अशक्त, माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी, विपन्न तथा अस्पतालसम्म पहुँच नपुगेकाहरुलाई मध्येनजर गरी स्वास्थ्य शिविर आयोजना गरिएको बारपाक सुलीकोट गाउँपालिका– ७ अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो ।

विशेषज्ञसहितको टोलीले बारपाक सुलीकोटको पाँचखुवा देउरालीमा ५१ जनाको मुटुको निःशुल्क ईको जाँच, १०५ जनाको निःशुल्क भिडियो एक्सरे जाँच, ५५ जनाको मुटुको ईसिजि जाँच र ३१ जनालाई निःशुल्क ल्याब सेबा प्रदान तथा औषधी समेत वितरण गरिएको विज्ञान पोलिक्लिनिकका प्रमुख विनोद अर्यालले बताउनुभयो ।