• २ असार २०८१, आइतबार

बेहाल जिल्ला अस्पताल, जीर्ण भवन र जनशक्ति अभाव

blog

निर्माणाधीन जिल्ला अस्पताल भवन मनाङ ।

यदुप्रसाद भट्ट

मनाङ, जेठ ११ गते । साढे तीन दशकअघि (२०४६ साल फागुन १९) गते निर्माण सम्पन्न भई सेवा प्रदान गर्दै आएको मनाङको जिल्ला अस्पताल यति बेला बेहाल अवस्थामा पुगेको छ । 

दुर्गमका जनतालाई प्राथमिक उपचार दिने उद्देश्यले सञ्चालन गरिएको अस्पतालको भवन जीर्ण भएपछि नयाँ भवन निर्माण गर्ने सम्झौता भएको थियो । नयाँ भवन निर्माणका लागि १४ करोड रुपियाँ लागतमा ओम बुद्ध/बुद्ध जेवी कम्पनीले २०७६ सालमा ठेक्का सम्झौता गरेको थियो । अस्पताललाई १५ शय्यामा स्तरोन्नति गरेर जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहे पनि प्रदेश सरकारले चार वर्षको बिचमा तीन पटक म्याद थप ग¥यो । तैपनि निर्माण सम्पन्न हुन सकेको छैन । ठेकेदारले बेलैमा निर्माण सम्पन्न नगर्दा सामान्य रोगका लागि पनि दुर्गमका बिरामीले सास्ती खेप्नु परेको छ । 

सामान्य उपचारका लागि पनि हेलिकोप्टरको सहारा लिनुपर्ने वा जिल्लाबाहिरका सुविधासम्पन्न अस्पताल धाउनुपर्ने बाध्यताबाट मनाङी जनताले मुक्ति पाएका छैनन् । ओम बुद्ध/बुद्ध जेवी कम्पनीका ठेकेदार अनिल घिमिरेले आर्थिक रूपमा ८० र भौतिक रूपमा ९८ प्रतिशत काम सम्पन्न गरेको दाबी गर्नुभयो तर उहाँको यो भनाइ मान्न तथा पत्याउन तयार छैनन् मनाङी जनता । ठेकेदार घिमिरेले रङरोगन तथा टायल बिच्छ्याउने कार्य भइरहेको जानकारी दिनुभएको छ । 

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले २०७५ सालदेखि गण्डकी प्रदेश अन्तर्गत रही सञ्चालन हुँदै आएको अस्पतालबारे भर्खरै मात्र प्रदेश पुगी आफ्ना समस्याबारे जानकारी गराएको जानकारी दिनुभयो । उहाँले प्रदेश स्वास्थ्य सचिवबाट दुर्गममा जनसङ्ख्या कम हुने भएकाले जिल्लामा एउटै मात्र सुविधासम्पन्न अस्पताल बनाउनुपर्ने र जसरी भए पनि निर्माण सम्पन्न गरी नयाँ भवनबाट सेवा सुरु गर्नुपर्ने बताउनुभयो । अध्यक्ष घलेले भौतिक रूपमा कार्यप्रगति मूल्याङ्कन गरेर यही असार मसान्तसम्ममा नयाँ भवनबाट अस्पतालले सेवा दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो । घलेकै पालिकामा बन्न लागेको जिल्ला अस्पतालको नयाँ भवन निर्माण समितिमा उहाँ सदस्य हुनुहुन्छ । सुनिता घले अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ । 

यता अस्पतालकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. भारती मेहताले मुख्य ठेकेदार र स्थानीय (पिटी) ठेकेदारको बिचमा आन्तरिक कुरा नमिल्दा अस्पताल भवन निर्माणले तीव्रता पाउन नसकेको बताउनुभयो । अस्पतालको तर्फबाट पनि आफूले धेरै नै पहल गरेको उहाँको दाबी छ । डा. भारती पनि असार मसान्तभित्र अस्पताल निर्माण सम्पन्न भइसक्नेमा आशावादी रहेको बताउनुहुन्छ । उहाँले अस्पतालको नयाँ भवन मात्र नभई अन्य कुरा पनि नहुँदा समस्यै समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भवन मात्रै भएर के गर्नु ? दुर्गममा दरबन्दी अनुसारको दक्ष जनशक्ति पनि हुनुप¥यो नि !” सरकारले मनाङ जिल्ला अस्पतालका लागि १८ जनाको स्थायी दरबन्दी तोकेको छ तर हाल सो अस्पतालमा पाँच जना मात्र कार्यरत छन् । १३ जनाको दरबन्दी खाली छ । सरकारले हालसम्म सो दरबन्दी पूरा गर्न सकेको छैन ।

डा. भारतीका अनुसार भएका दरबन्दीमा दक्ष जनशक्ति छैन । दुई सिफ्ट गरेर काम गराउने वातावरण पनि छैन । दुर्गममा कर्मचारी आउनै मान्दैनन् । उहाँले थोरै जनशक्तिबाट धेरै काम गर्नुपरेको गुनासो गर्नुभयो । डा. भारतीले प्रतिप्रश्न गर्नुभयो, “अन्य अस्पतालको वार्षिक आम्दानी पाँच करोडभन्दा बढी हुन्छ । हाम्रोमा २० रुपियाँको टिकटले मुस्किलले वर्षमा दुई लाख उठ्छ । कसरी कर्मचारीलाई भत्ता व्यवस्थापन गर्ने ? जिल्लाभरि नै सशुल्क फार्मेसी छैन । सरकारले दिने ९८ प्रकारका निःशुल्क औषधीबाट जिल्ला अस्पताल चलाउनु परेको छ ।” उहाँले प्रदेश सरकारसँग सशुल्क फार्मेसीका लागि माग गरेको बताउनुभयो । 

साहसिक पदयात्राको प्रवेशद्वार चामेमा अवस्थित अस्पतालले विदेशी तथा स्वदेशी पर्यटकलाई पनि स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । प्रत्येक वर्ष लेक लागेर अकालमा हुने मृत्यु दर घटाउन अस्पतालको निकै ठुलो भूमिका छ तर नयाँ भवन दक्ष जनशक्तिका कारण निर्माणाधीन जिल्ला अस्पताल आफैँ थला परेको छ ।