• ३ असार २०८१, सोमबार

टपरी बुन्न सिक्दै विद्यार्थी

blog

सालको पातको दुना टपरी बनाउन सिक्दै विद्यार्थी । तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, जेठ ११ गते । लोपोन्मुख नेपाली परम्परागत सीप र संस्कृतिको संरक्षणमा तनहुँले एक विद्यालयले विद्यार्थीले चासो दिन थालेका छन् । चासो राख्नेमा व्यास नगरपालिका–१० बैरेनी, कुमालटारी स्थित चण्डीदेवी राष्ट्रिय माध्यमिकमा अध्ययनरत विद्यार्थी रहेका छन् । विद्यालयले शिक्षाको साथै परम्परागत सीप सिकाउन थालेपछि विद्यार्थी चासो राख्दै सिक्न थालेका हुन् ।

विषयगत शिक्षाका अलवा विद्यालयमा व्यावहारिक ज्ञान सिकाएर नयाँ पुस्तालाई पुरानो सीप र संस्कृतिबारे नौलो ढङ्गले प्रयोगात्मक रूपले प्रशिक्षित गराउन थालिएकाले विद्यार्थीले परम्परागत सिप सिक्न थालेको पाइएको छ । लोपोन्मुख सीप र संस्कृतिलाई  सिकाउने कुरालाई प्राथमिकता दिएपछि यसको सर्वत्र प्रशंसा भएको छ । नेपाली गाउँघर र ग्रामीण जीवनयापनको जीवन्त पाटाहरुमा सालको पातको टपरी र दुना माटोको भाँडो भाँडाहरूमा दियो, आँडी, घैँटो, गाग्री, गमला, खुथु्रके बनाउने सीपहरू पर्छन् ।

कृषिप्रधान अधिकांश नेपाली ग्रामीण जीवन यापनको अनिवार्य अङ्ग हुन् यी सीप र संस्कृति । तर आधुनिकतासँगै भित्रिएको नवीनतम प्रविधि, औजार उपकरणले पुरानो सस्कतिलाई  नेपाली समाजले बिर्सँदै गएकोले सिकाउन थालिएको विद्यालयका प्रधानाध्यापक आरसी पोख्रेलले बताउनुभयो ।  पाठ्यक्रममा निर्धारित विषयका अलवा हाम्रो ग्रामीण जीवनको मूल आधारका रूपमा रहेको माटोको भाँडा, दुना टपरी बनाउने,  सीप सिकाइरहेको पोख्रेल बताउनुहुन्छ ।

प्रधानाध्यापक पोख्रेलले भन्नुभयो, ‘यो व्यवहारिक ज्ञान दिने माध्यम मात्र हैन र नेपाल र नेपाली चिन्ने र चिनाउने कडी पनि विद्यार्थीलाई सिकाएका हौँ ।’ सम्बन्धित सीप भएका पुराना शिक्षक विद्यालयमा भएकाले उनीहरूले विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत यस्तो शिक्षा प्रदान गर्ने गरिएको उहाँले जानकारी दिनुभयो  । विद्यार्थीहरूले ती सीपहरू रुची पूर्वक सिकिरहेका छन् । पुराना सिप नयाँ पुस्तालाई सिकाउन र संरक्षण गर्न विद्यार्थी सहयोगी हुने भएकाले यस्तो ज्ञान दिन थालिएको विद्यालयले जनाएको छ ।

किताबी ज्ञान भन्दा व्यवहारिक ज्ञानबाट विद्यार्थीले धेरै सिक्ने र सजिलैसँग सिक्ने भएकोले सामाजिक विषयसँग सम्बन्धित  भएकोले कक्षा ९ का ४३ जना विद्यार्थीले दुना टपरी र माटो भाँडा बनाउने तालिम लिई रहेको प्रधानाध्यापक पोख्रेलले जानकारी दिनुभयो ।