यौन शिक्षा समग्र रूपमा मानवसँग जोडिएको विषय हो । यौन तथा यौनिकताको सम्बन्ध मानिसको शारीरिक, भावनात्मक, सांस्कृतिक, सामाजिक र व्यावहारिक पक्षसँग जोडिएको हुन्छ । बृहत्तर यौनिकता शिक्षाका बारेमा जानकारी लिनका लागि यौन तथा यौनिकताका बारेमा जानकारी हुनु आवश्यक छ । मानवले यौन व्यवहारसँग राख्ने सम्बन्ध नै यौन शिक्षा हो । यौन शब्दले जैविक गुणलाई जनाउँछ, जसले हामीलाई पुरुष र महिला भनी छुट्याउन मद्दत गर्छ ।
यौनिकता भनेको यौन र यौन व्यवहारसँग सम्बन्धित हाम्रा विचार, मूल्यमान्यता, भावना र व्यवहार हुन् । यौनिकतामा खास गरी यौन सम्बन्धका बारेमा हाम्रा विचार, यौनसम्बन्धी हाम्रा मूल्यमान्यता तथा धारणा, यौनका सम्बन्धमा हाम्रा दृष्टिकोण र त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा पर्छन् । त्यसैले पनि यौनिकताका बारेमा हामी सबै जानकार हुनु आवश्यक छ ।
कुनै पनि मानिसलाई स्वस्थ भएर जीवनयापन गर्न यौन र यौनिकतासम्बन्धीको शिक्षा हुनु आवश्यक छ । मानिसको सर्वाङ्गिण विकासका लागि मानिसको वृद्धि विकाससँगै यौन र यौनिकताका बारेमा जानकार हुनु अनिवार्य छ । यौन र यौनिकताका बारेमा कुरा गर्नु कुनै नौलो कुरा होइन यो एउटा प्राकृतिक चिज हो । कुनै पनि व्यक्ति जब बालकबाट किशोरकिशोरीतर्फ अघि बढ्छ तब उसलाई यौन शिक्षाको आवश्यकता पर्छ । व्यक्तिको शारीरिक बनावटमा आउने परिवर्तनका बारेमा जानकारी लिनका लागि उसलाई यौन शिक्षा हुनु आवश्यक छ । यसका बारेमा न औपचारिक शिक्षामा सम्पूर्ण ज्ञान लिन पाइन्छ न त अनौपचारिक रूपमा नै जानकारी लिने सुविधा छ । औपचारिक रूपमा जति ज्ञान लिन पाइन्छ त्यो पनि साघुँरो घेरामा सीमित रहेर अल्पज्ञान लिनुपर्ने बाध्यता रहिआएको छ । यौन शिक्षाका बारेमा न शिक्षक शिक्षिकाले खुलेर पढाउने गर्छन् न त विद्यार्थीले नै खुलेर सिक्ने गर्छन् । यौनको कुरा आउने बित्तिकै लुकीचोरी सिक्नु र खोजी खोजी अध्ययन गर्नु हाम्रो समाजले दिएको सङ्कीर्ण सोचको उपज हो । यौन शिक्षाका बारेमा समाज खुल्न नसकेकै कारण विद्यालयमा शिक्षक तथा विद्यार्थी पनि खुलेर सिक्न र सिकाउन सकिरहेका हुँदैनन् । हाम्रो जस्तो सामाजिक परम्परा भएको समाजमा धर्म र सामाजिक मूल्य मान्यताका कारण यौन शिक्षाका बारेमा चर्चा परिचर्चा हुन सकिरहेको छैन ।
किशोरकिशोरीलाई यौनिकताका बारेमा जानकारी दिँदै वयस्क अवस्थामा परिवर्तन गराउनु ठुलो चुनौती बनेको छ । घरमा होस् या विद्यालयमा यौनिकताका बारेमा खुलेर छलफल नहुँदा किशोरकिशोरीले आफ्नो जीवनमा आएको भौतिक परिवर्तनका बारेमा जान्न विभिन्न वैकल्पिक माध्यम प्रयोग गरिरहेका छन् । अहिले किशोर किशोरी विभिन्न प्रकारका सञ्चारका माध्यमबाट यौनिक सामग्रीसम्मको पहुँचलाई बढाइरहेका छन् । यस्ता सञ्चार माध्यमबाट आवश्यक पर्ने यौनिकतासम्बन्धी ज्ञान र सिप लिन बाध्य छन् । यसरी ज्ञान र सिप लिँदा चाहिने चिजको मात्र ज्ञान लिए त ठिकै हो तर यसको दुरुपयोग गरेर अनावश्यक यौनका सामग्रीमा पहुँच पु¥याएमा किशोरकिशोरी गलत बाटोतर्फ लम्कन पनि सक्ने सम्भावना छ । यसतर्फ हामी सबै सजग र सचेत बन्दै यौन र यौनिकताका बारेमा घरदेखि नै खुलेर कुरा गर्ने बानीको विकास गर्नु आवश्यक छ ।
हामीले धेरै पहिलेदेखि पढिरहेको पाठ्यक्रम अव्यावहारिक छ । जुन पाठ्यक्रम वर्षौंसम्म अध्ययन गरे पनि व्यावहारिक रूपमा लागु हुन सकिरहेको छैन । यौन शिक्षा जस्तो व्यावहारिक र अति आवश्यक चिजलाई पाठ्यक्रम निर्माताले अनिवार्य विषयका रूपमा राख्न नसक्दा अहिले यौन र यौनिकताको विषयले जटिलता प्रदान गरिरहेको छ । यस विषयमा अहिले सर्वत्र चासो र बहस चलिरहेको छ । निम्नमाध्यमिक र माध्यमिक तहको पाठ्यक्रममा यौन र यौनिकताका बारेमा विस्तृत अध्ययन हुन नसक्दा किशोरकिशोरीले अहिले यौन शिक्षाका लागि वैकल्पिक माध्यम प्रयोग गरिरहेका छन् । नीति निर्माताले नै यस विषयमा गहिरिएर नसोचिदिएपछि पढ्ने र पढाउनेलाई मात्र दोष दिएर केही हुँदैन ।
यौनिकता शिक्षासम्बन्धी ज्ञानको अभावका कारण देखापरेका समस्या समाधान गर्न यौन तथा प्रजनन अधिकारवादी, महिला र लैङ्गिक अधिकारवादी, स्वास्थ्य अधिकारवादी सङ्घ संस्थाहरूले यस्ता समस्यालाई समाधान गर्न व्यावहारिक यौनिकता शिक्षालाई बहसका रूपमा अगाडि सारेको पाइन्छ । उनीहरूले यौनिकता शिक्षालाई समग्रतामा आधारित अर्थात् बृहत्तर रूपमा दिइनु पर्छ भनी बृहत्तर यौनिकता शिक्षाको अवधारणालाई अगाडि सारेका छन् । नेपालमा पनि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको सहयोगमा बृहत्तर यौनिकता शिक्षासँग सम्बन्धित पाठ्यक्रम, स्रोत सामग्री, शिक्षक तालिम सामग्री, आदिको सुरुवात भएको पाइन्छ । यौनिकता शिक्षा पढाउने शिक्षकको क्षमता अभिवृद्धि गराउन संसारका विभिन्न देशमा लागु गरिएको यौनिकता शिक्षाको सकारात्मक परिणामका आधारमा नेपालमा पनि लागु गरिएको हो । यसका लागि युएनएड्स, युएनएफपिए, युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा युनेस्कोले विकास गरेको यौनिकता शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय निर्देशिकाले निर्देशित गरे अनुसारका विषयवस्तु र नेपालमा गरिएको पुनरवलोकनसमेतका आधारमा समावेश गरिएका विषयवस्तु समेटेर बृहत्तर यौनिकता शिक्षासम्बन्धी सन्दर्भ सामग्री विकास गरिएको हो ।
हाम्रो समाजमा अभिभावक सामाजिक तथा सांस्कृतिक मूल्यमान्यता तथा अज्ञानताका कारणले आफ्ना किशोरकिशोरी छोराछोरीसँग यौनिकतासँग सम्बन्धित विषयमा छलफल गर्न अप्ठ्यारो मान्छन् । एउटा व्यक्तिको यौनिक विकास भनेको शारीरिक, भावनात्मक तथा मनोवैज्ञानिक, सामाजिक र सांस्कृतिक प्रक्रिया हो । यो व्यक्तिको परिचयको विकाससँग अलग्याउनै नसकिने गरी जोडिएको हुन्छ । किशोरकिशोरीले अभिभावक, साथी दौँतरीहरू, शिक्षक, समुदाय तथा सञ्चारमाध्यमबाट लैङ्गिकता र यौनिकतासम्बन्धी मूल्यमान्यता सिक्छन् । किशोारकिशोरीको जीवनको आनन्द भनेको नै माया–प्रेमको भावना व्यक्त गर्ने र पारिवारिक जीवनको सुरुवात गर्ने अवस्था हो । यस बेलामा स्वास्थ्यसम्बन्धी नकारात्मक प्रभाव पर्ने तथा नकारात्मक सामाजिक अवस्था सिर्जना हुन पनि सक्छ । उमेर अनुसारको प्रभावकारी यौनिकता शिक्षाको कमीले गर्दा हाम्रो समाजमा कतिपय यौनिक व्यवहार सहमतिमा नहुने, जबरजस्ती हुने तथा बलात्कारसम्म हुने पनि गर्छन् । यौनिकता शिक्षाले यौनिक स्वास्थ्यको बारेमा जानकारी प्राप्त गर्न, प्रचलित सामाजिक सांस्कृतिक मूल्यमान्यतासँग सान्दर्भिक सिपको विकास गर्न र सकारात्मक धारणा अर्थात् मूल्य र मान्यता विकास गर्न सहयोग पु¥याउँछ । बृहत्तर यौनिकता शिक्षाले किशोरकिशोरीहरूलाई आफ्नो यौनिक जीवनलाई वर्तमान र भविष्यमा स्वस्थकर बनाउनका लागि समेत सहयोग पु¥याउँछ ।
यौनिकता शिक्षाको आवश्यकता जसले बलात्कार गर्छ उसलाई हुने गर्छ । बलात्कृत हुनेले त आफू कसरी जोेगिने भन्ने नै हुने भएकाले उसलाई कठिन हुन्छ । प्रायः बलात्कृत हुने भनेको केही नजान्ने, नबुझ्ने अबोध बालबालिका हुन्छन् । उमेर पुगेका बुझेका छन् भने त प्रतिकार गर्न सक्छन् । कानुनले बलात्कारलाई कहिल्यै कम गर्न सक्दैन । बलात्कारलाई कम गर्ने उपयुक्त उपाय भनेको नै बृहत्तर यौनिकता शिक्षा हो । शिक्षाले मानिसलाई चेतनशील बनाउँछ र यस्ता गलत कार्य गर्नबाट ऊ आफैँ सचेत रहन्छ । कानुन तगडा भयो भने महिला र पुरुषसँगै हिँड्ने र सँगै एउटै कार्यालयमा काम गर्ने वातावरण नै हुँदैन । रिसइबी भयो भने कुनै गल्ती नै नगरी पनि पुरुष आरोपित हुन सक्छन् । त्यसैले सकेसम्म त कानुनसँगै यौनिकता शिक्षाको विषयमा ज्ञान नै दिनु ठुलो कुरा हो ।