• ११ मंसिर २०८१, मङ्गलबार

बुद्धकाललाई प्रमाणित गर्ने स्तूप

blog

वैशाख पूर्णिमाको दिन गौतम बुद्धसँग त्रिसंयोगले जोडिएको छ । यो दिन शाक्यमुनि बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको दिनका रूपमा स्मरणीय छ । त्यसैले यस दिनलाई बुद्धपूर्णिमा भनी मनाउने चलन छ । बौद्धमार्गी संसारभर फैलिएका कारण र उनीहरूको आफ्नो पात्रोका आधारमा केही देशले केही दिन फरक पारेको पनि पाइन्छ । संयुक्त राष्ट्रसङ्घले पनि वैशाख पूर्णिमाको दिनलाई बुद्ध जयन्ती मानेको छ । मानव बुद्धको रूपमा समेत परिचित सिद्धार्थ गौतम ऐतिहासिक व्यक्ति पनि हुन् । अरू विभिन्न धर्ममा मानिएका देवीदेवताको तिथि, मिति, जन्म र मृत्युका सम्बन्धमा तिनका ग्रन्थले सही रूपमा प्रमाण दिन सक्दैनन् । गौतम बुद्धका सम्बन्धमा अधिकांश कुरा वा विषय तिथि मितिकै आधारमा प्रामाणित गर्न सकिन्छ । यहाँ बुद्धलाई काल्पनिक पात्र भन्ने ठाउँ भेटिँदैन । उनीभन्दा अघिका बुद्धहरूका सम्बन्धमा भने धेरै कुरा एकिन गर्न सकिँदैन । सिद्धार्थ गौतम इसापूर्व ६२३ मा लुम्बिनीमा जन्मेको र ८० वर्षको उमेरमा उनले महापरिनिर्वाण प्राप्त गरेका हुन् । पुरातात्त्विक  एवं ऐतिहासिक स्रोतका आधारमा उनको समयका राजा, महाराजा वा स्थान आदिको बारेमा पनि प्रमाणित गर्न सकिन्छ । प्रमाणिकताका साथ यो भन्न सकिन्छ कि उनी हालको नेपालको तत्कालीन कपिलवस्तु गणराज्यका राजकुमार हुन्, लुम्बिनीमा जन्मेका हुन् र उनको ससुराली तथा मामाघर देवदह हो । जसले बुद्धत्व प्राप्ति पछि तत्कालीन समाजमा मध्यममार्गको सुरुवात गरे । शान्ति, करुणा र मैत्रीभाव जसलाई बौद्ध शिक्षाका रूपमा मानिसले जीवनचर्यामा अवलम्बन गरे । जुन आजसम्म चल्दै र बढ्दै जीवन उपयोगी मानिँदै आएको छ । उनको महापरिनिर्वाणपछि भएको दहासंस्कारका समयमा वितरण गरिएको अस्तु पनि आजसम्म रहेको देखिन्छ । बुद्धको दाहसंस्कारपछि बाँकी रहेका शरीरका केही ती टुक्रा वा अस्तुले सिद्धार्थ गौतमका बारेमा उठेका भ्रम वा मिथ्या कुरालाई सही वा गलत पुष्टि गर्ने विषय बन्न सक्छन् । उनको अवशेष वा अस्तु वैज्ञानिक परीक्षण गर्न सकिने विषय हो । जसले धेरै यथार्थ उजागर गर्न सक्छ । बुद्धको तत्कालीन समयकै अवस्थाको एक भाग अस्तु संसारमा अब नेपालको नवलपरासीको रामग्राममा मात्र संरक्षित छ । जुन बौद्ध इतिहासका लागि अमूल्य सम्पत्ति मानिन्छ । बौद्धमार्गीहरू त्यस स्थानलाई पवित्र स्थल मान्छन् र विशेष गरी बुद्धपूर्णिमाको दिन धेरै मानिस त्यहाँ पुग्छन् । 

इसापूर्वको समयमा हालको पश्चिम नेपालको तराई भूभागमा शाक्य र कोलिय शक्तिशाली गणराज्य थिए । बौद्ध ग्रन्थका अनुसार उनीहरू कौशलका राजाका जेठा सन्तान थिए । उनले ती आफ्ना चार छोरा र पाँच छोरीलाई निर्वासित गरेका थिए । उनीहरू हालको कपिलवस्तु क्षेत्रमा भागीरथी नदीको जङ्गल छेउमा रहेको कपिलमुनिको आश्रम नजिक आएर एक आपसमा विवाह गरी बसे । शाक्य वंशको सुरुवात त्यसबेलाबाट भयो । यता निर्वासित अविपाहित जेठी छोरी प्रियालाई कुष्ठ रोग भएपछि एकान्त जङ्गलमा पठाइएको थियो । ललितविस्तार, बुद्धघोष, अर्थकथा, महावंश, अश्वघोष आदि लगायतका ग्रन्थका आधारमा त्यहाँको कोल वृक्षको फेदमा बसे कुष्ठरोग निको हुने मान्यता अनुसार बनारसका राजा राम भन्ने पनि कुष्ठ रोगले पीडित भएर त्यही जङ्गलमा आइपुगेका थिए । दुवैले उक्त वृक्षको फेदमा बसेर आफ्नो रोग निको पारे । उनीहरूले विवाह गरी सन्तान जन्माए । जसलाई उनीहरूले राज्यको रूपमा विकसित गरे । यो देवदह, रामग्राम, कोलग्राम, कोलियनगर आदि नामले चिनियो । पछि शक्तिशाली गणराज्य भएका कारण कोलिय राज्यका रूपमा परिचित भयो । कपिलवस्तु र कोलिय गणराज्यको पूर्व उत्तर सीमा रोहिणी नदी थियो । जुन अहिले पनि त्यही नाममा छ । कोलियको कपिलवस्तुसँग वैवाहिक सम्बन्ध जोडिन थाल्यो । गौतम बुद्धका दुई आमा र उनको श्रीमती यशोधरा त्यहीका कन्या थिए । बुद्धसँग प्रत्यक्ष रूपमा जोडिएका कारण उनीहरूले पनि बुद्धको अस्तु पाएका थिए । जसलाई रामग्राम स्थानमा ल्याएर विधिपूर्वक चैत्य बनाई राखिएको थियो । 

गौतम बुद्धको महापरिनिर्वाण कुशीनगरमा भएको थियो । त्यहाँका मल्ल राजाले दाहसंस्कारपछि बाँकी भएको अस्तुलाई जम्मा पारेर सुनको बट्टामा राखेर त्यसलाई धुमधामले महोत्सव गरी परिक्रमा गराएका थिए । अस्तिधातु छ भन्ने थाहा पाएपछि बुद्धसँग सम्बन्धित राज्य, बौद्ध धर्मलाई मान्ने राज्य र राजपरिवार र धातु विवादलाई मिलाउने व्यक्ति विशेषले समेतले अस्तुको माग गर्दै कुशीनगरका मल्ल राजाकोमा पुगे । सुरुमा उनीहरूले कसैलाई नदिने बताए पनि पछि विवाद साम्य पार्न त्यसलाई आठ भाग गरियो । अस्तु भाग लगाउने आचार्य द्रोणले दन्तधातलाई आफ्नो पगरीमा लुकाएका थिए । बौद्ध ग्रन्थहरूका अनुसार जसलाई देवानुभावले देवलोकमा पु¥याएको र त्यहाँ त्यसलाई देवहरूले पुजे भन्ने भनाइ छ । यसरी बुद्धको अस्तु नौभागमा विभाजित भयो । पछि पिप्लिवन नामक देशका मौर्यहरू पनि अस्तु लिन पुगे । अस्तु भागबन्डा भइसकेकाले उनीहरूले बुद्धको संस्कार स्थलमा गएर बाँकी रहेको गोल र खरानी लिएर गए । पृथ्वीमा, आठ भागमा बुद्धको अस्तु भएको तत्कालीन ऐतिहासिक स्रोत र बौद्ध गाथाहरूले प्रमाणित गर्छन् । त्यसमध्ये दुई भाग हालको नेपालको कपिलवस्तुका शाक्य र देवदहका कोलियहरूले पाएका थिए । सबैले त्यसलाई चैत्य वा स्तूप बनाएर संरक्षण गरी राखे । बुद्धको महापरिनिर्वाणसँगै अस्तु भएको आठ वटा, धातु बाँड्दा प्रयोग भएको वा भरिदिएको मानाको एक वटा र गोल वा खरानी भएको एक वटा गरी दस वटा स्तूप बुद्ध स्मरणको पवित्र स्थल निर्माण भए । सबैले स्तूप बनाएर महोत्सव पनि गरे । बुद्ध जयन्तीका दिन यसलाई विशेष महत्वका साथ पूजाआजा गर्दै आए । 

गौतम बुद्धको महापरिनिर्वाणको करिब दुई सय वर्षपछिका सम्राट अशोक, जसले हत्या र हिंसा परित्याग गरी बौद्धमार्गी बने । उनै राजाले बौद्ध शिक्षालाई पुनः प्रसारित गर्न थाले । उनी बुद्धसँग प्रत्यक्ष रूपमा जोडिएका सबै स्थानहरूमा पनि पुगे । उनी पुगेका स्थलहरूमा प्रमाणिक शिलास्तम्भ राखे । यसै क्रममा उनले लुम्बिनी र कपिलवस्तु क्षेत्रमा गौतम बुद्धभन्दा अगाडिका कनकमुनि र क्रकुछन्द बुद्धको पहिचान स्थलमा पनि शिलास्तम्भ राखे । जसलाई अहिले अशोक स्तम्भ भन्ने गरिन्छ । उनले विश्वभर बौद्ध धर्म वा बुद्ध शिक्षालाई विस्तार गर्न आफू र आफ्ना परिवारका सदस्यलाई समेत बाहिरी देशमा पठाए । यसै व्रmममा उनले बुद्धको अस्तुलाई संसारभर फैलाउन बुद्धको अस्तु राखी बनाइएका पहिलेका स्तूपहरूको उत्खनन् गरी अस्तु जम्मा पारे । त्यसमध्ये सात स्तूपबाट धातु निकाले । आठौँ नेपालस्थित रामग्रामको स्तूपबाट भने झिक्ने प्रयास सफल भएन । विभिन्न बौद्ध गाथाहरूका अनुसार उनले आफूले निकालेको अस्तुबाट विभिन्न स्थानमा चौरासी हजार स्तूप बनाए भन्ने देखिन्छ । बौद्ध गाथाहरूका अनुसार रामग्राम जङ्गलका रूपमा परिणत भएको त्यहाँ नाग र हात्तीहरूले त्यसलाई संरक्षण गरिराखेकाले जान सम्भव भएन भन्ने छ । त्यसैले रामग्रामको स्तूप बुद्धको वास्तविक अस्तु भएको संसारको एक मात्र बाँकी स्तूप हो । 

रामग्रामको स्तूप अहिले नवलपरासीको परासी बजारबाट करिब तीन चार किलो मिटर दक्षिणमा झरही खोलाको किनारमा पर्छ । यो लुम्बिनीबाट ४८ किलोमिटर पूर्वमा छ । जसका विषयमा भारतीयहरूले बेलाबेलामा विवाद उठाउँदै आए पनि बौद्ध गाथाहरूमा उल्लेख भएको स्थान विवरण, नदी आदि वास्तविकताका कुरा रामग्रामबाहेक अन्यत्र मिल्दैन । पाँचौँ र सातौँ शताब्दीमा आएका चिनियाँ यात्री फहियान र हुएन साङले आफ्नो यात्रा विवरणमा उल्लेख गरेको स्थान मापन, तत्कालीन अवस्था र नदी त्यही नै भएको प्रमाणित हुन्छ । जसलाई पछि स्वदेशी र विदेशी पुरातìवविद्ले पनि प्रमाणिक मानेका छन् । यो लामो समयसम्म उपेक्षित बनेर देखियो । स्तूपको वास्तविक स्वरूपमा ठडिरहन सकेन । हाल थुम्कोको रूपमा परिणत भएको उक्त स्तूप ८० फिट चौडाइको छ । नब्बे फिट लम्बाइ र तीस फिट उचाइमा रहेको छ । पुरातìव विभागले स्तूपको वरपर गरेको उत्खननका समयमा त्यहा ती प्राचीनतम जनाउने विभिन्न वस्तु फेला पारेको थियो भने त्यस स्तूपको निर्माण तत्कालीन चिल्लो इँटाको प्रयोगबाट बनेको भेटिएको छ । हालसम्म त्यसभित्रको उत्खनन भने गरिएको छैन । त्यसो त सम्राट अशोकले अन्यत्रबाट झिकेको अस्तु सानो सुनको डिब्बामा राखी आफू पुगेको स्थानहरूमा लगेर स्थापित गरी पूजा गर्ने गरेको पनि देखिन्छ । त्यस्तै उनले एउटा डिब्बा लुम्बिनीमा पनि राखेका थिए । जुन लुम्बिनीको उत्खननमा पनि भेटिएको थियो । जसलाई हाल छाउनीस्थित सङ्ग्राहलयमा सुरक्षित राखिएको छ । 

बौद्ध धर्म र बुद्धकाललाई अझ बढी प्रमाणिक बनाउने बुद्धको वास्तविक एक मात्र अस्तु नेपालको रामग्राममा मात्रै बाँकी छ भन्ने विभिन्न तवरले प्रमाणित भएको छ । जुन पुरातात्त्विक, ऐतिहासिक र धार्मिक रूपमा ज्यादै महत्वपूर्ण मानिन्छ । बुद्ध कालको वास्तविकतालाई प्रमाणित गर्ने यो स्थल वर्तमान अवस्थामा विश्व पर्यटनको एक गन्तव्य पनि हो । जसको उत्खनन र संरक्षण सामान्य रूपमा मात्र भएको छ । देवदह र रामग्राम वा तिनको राजधानी आदिका बारेमा धेरै वास्तविकता अहिलेसम्म पनि पहिचान बिहीन बनेका छन् । सरकारले वा सम्बन्धित निकायले त्यस क्षेत्रको उत्खनन र संरक्षण लुम्बिनी र कपिलवस्तु सरह नै प्राथमिकतामा राख्नु पर्ने देखिन्छ । यो विश्व सम्पदा सूचीमा पर्नुपर्ने विश्वकै अमूल्य सम्पदा पनि हो । 

  

Author

डा. उद्धव पुरी