बुद्धका प्रमुख शिक्षामध्ये चार आर्य सत्य पनि एक हो । यस शिक्षामा दुःख सत्य छ भनी पहिलो सत्यको उद्घाटन गरिएको छ । जन्मनु दुःख हो । बुढो हुनु र मर्नु दुःख हो । शोक, बिलौना शारीरिक पीडा, मानसिक हैरानी, निराशा सबै दुःख हुन् । प्रिय कुरा छुट्नु मात्र दुःख होइन अप्रिय कुरासँग भेटिनु पनि दुःख हो । साथै चाहेको कुरा प्राप्त नहुनुलाई पनि दुःख मानिन्छ । रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान यी पाँच स्कन्द उपादान पनि दुःख हुन् । अतः बुद्धले संसार दुःखमय छ भनेको हुँदा बुद्ध निराशावादी हुन् भन्ने अर्थ पनि लगाइयो । बुद्धलाई निराशावादी मान्नेहरू बुद्ध शिक्षासँग राम्रोसँग परिचित नहुनेहरू नै हुन् । किनकि बुद्धले चार आर्य सत्यमा अरू तीन सत्य पनि भनेका छन् । दोस्रो दुःखको कारण छ । तेस्रो दुःख निरोध गर्न सकिन्छ र चौथो दुःख निरोध गर्ने उपाय भनेको आर्य अष्टाङ्गिक मार्ग हो ।
आर्य अष्टाङ्गिक मार्गबाट दुःख मुक्त गर्न सकिन्छ । अर्थात् जन्म मरणको भवचक्रबाट मुक्त हुन सकिन्छ । बौद्ध शब्दमा भन्ने हो भने निर्वाण सुख प्राप्त हुन्छ । यस प्रकार बुद्धले हामीले सुख ठान्दै आएका जति पनि चिजहरू छन् ती सबै क्षणिक र नाशवान् छन् । अर्थात् सबै अनित्य छ । त्यसैले यस्ता चिजहरूबाट सुख प्राप्त गर्न सकिँदैन भन्ने बुद्धको तर्क हो । त्यसैले बुद्धले ज्ञान प्राप्त गरेको ४५ वर्षसम्म संसारलाई निरन्तर दुःख मुक्तिको बाटो देखाए । ‘बहुजन हिताय, बहुजन सुखाय’ को अवधारणा अनुसार नै बुद्धले आफ्ना शिष्यलाई एकै स्थानमा नबसी बुद्ध शिक्षालाई फैलाउन उत्प्रेरणा दिए । लोक कल्याणको भावले निर्वाण लाभ गर्न सिकाउने गुरु हुन् बुद्ध । त्यसैले बुद्ध कसरी निराशावादी भए ?
बुद्धले भिक्षु–भिक्षुणी र उपासक–उपासिकालाई बुद्ध धर्मको रथका चार पाङ्ग्रा मानेका छन् । उपासक उपासिका भनेको बौद्ध धर्म मान्ने गृहस्थ क्रमशः पुरुष र नारी हुन् । भिक्षु भिक्षुणी भनेको गृहस्थ जीवन त्याग गरी ब्रह्मचर्य पालना गर्ने र बुद्ध शिक्षाको अभ्यास गर्दै त्यसको प्रचार प्रचार प्रसार गर्नेहरू हुन् जो चिवर लगाएका हुन्छन् । सामान्य मानिसको बुझाइमा चिवर लगाएका ब्रह्मचर्य पालन गर्नेहरू मात्र बौद्ध हुन् । त्यसैले उनीहरूको विचारमा बुद्ध धर्म निराशावादी धर्म हो, जसले गृहस्थ जीवन त्याग्न सिकाउँछ । यो बुझाइ सतही हो । स्वेच्छाले बुद्ध शिक्षाको अध्यास गर्ने र बुद्ध शिक्षा सिक्ने सिकाउने कार्यमा समर्पित भई निर्वाणको मार्गमा हिँड्नेहरू नै भिक्षु भिक्षुणी हुन् । उनीहरूको अभ्यास उच्च किसिमको अभ्यास हो । उपासक उपासिकाहरूले भिक्षु भिक्षुणीहरूबाट बौद्ध शिक्षा प्राप्त गर्छन् भने भिक्षु भिक्षुणीहरूले उपासक उपासिकहरूबाट दान प्राप्त गर्छन् । यसरी बौद्ध समाजमा अध्यात्म एवं भौतिक दुवै पक्षको विकासलाई स्वीकार गरिएको छ । त्यसैले निर्वाण सुखका निम्ति हिँडेका भिक्षु भिक्षुणीहरूलाई देखेर बुद्ध शिक्षा निराशावादी शिक्षा हो र बुद्ध निराशावादी हुन् भन्नु गलत हो ।
बौद्ध शिक्षामा गृहस्थहरूको सुखको बारेमा पनि बताइएको छ । यी सुख चार प्रकारका हुन्छन् । अत्थि सुख, भोग सुख, अनन वा ऋण सुख र अनवज्ज सुख । मेहनतका साथ कमाएको पारिश्रमिकबाट परिवार र स्वयम् खुसी हुनु अत्थि सुख हो । त्यसै गरी भोग सुखले कमाएको धनबाट राम्रो काम गर्न पाउँदा जुन खुसी प्राप्त हुन्छ, त्यसैलाई भोग सुख भनिएको छ । ठुलो वा सानो जस्तो भए पनि ऋणबाट मुक्त हुनु अऋण हुनु पनि सुख हो । त्यसै गरी अनवज्ज सुखले काय, वाक, चित्तबाट दोषरहित छु भनेर सुखी हुनुलाई सङ्केत गर्छ । यसरी सुखको बारेमा मात्र होइन । सुखको प्रकारको बारेमा पनि ज्ञान दिने बुद्ध शिक्षा कसरी निराशावादी शिक्षा हुन सक्छ । यस्तो शिक्षा दिने बुद्ध कसरी निराशावादी हुन सक्छन् ?
आर्य अष्टाङ्गिक मार्ग अपनाउन सके दुःखबाट मुक्त हुन सकिन्छ भन्ने बुद्धको शिक्षाको मूल मर्म हो । यही मार्ग हुँदै भवचक्रबाट मुक्ति प्राप्त गर्न सकिन्छ भन्ने उनको मान्यता छ । आर्यअष्टाङ्गिक मार्गमा आठ वटा अङ्ग छन्, जसलाई तीन महत्वपूर्ण सोपान शील, समाधि र प्रज्ञा अन्तर्गत समावेश गर्न सकिन्छ । शील सोपान अन्तर्गत (सम्यक वचन, सम्यक कर्म, सम्यक आजीविका), समाधि अन्तर्गत (सम्यक व्यायाम, सम्यक स्मृति, सम्यक समाधि) तथा प्रज्ञा सोपान अन्तर्गत (सम्यक दृष्टि, सम्यक सङ्कल्प) पर्छन् । अष्टाङ्गिक मार्गले सफलता मात्र दिँदैन, खुसी र शान्ति पनि दिन्छ । यसले जीवनको बुझाइलाई गहि¥याउँछ । त्यसैले बुद्ध कसरी निराशावादी भए ?
आर्यअष्टाङ्गिक मार्गमध्ये सम्यक आजीविका पाँचौँ मार्ग हो । यस मार्गमार्फत बुद्धले व्यावसायिक दृष्टिकोण अगाडि सारेका छन् । बुद्धले कहिले पनि समस्यादेखि भागेर एक्लै गुफामा बस्ने वा अल्छी भएर बस्ने कुरामा प्रोत्साहन दिएनन् । बरु दुःखबाट मुक्त हुन आर्थिक चिन्तन गर्ने नाममा जीवनमा जुनसुकै काम पनि गर्नु भावी जीवनका लागि प्रत्युत्पादक हुने कुरा भन्नु हुँदै सम्यक आजीविकाको उपदेश दिए । अरूलाई हानिनोक्सानी नगरी आफ्नो जीवन निर्वाह गर्नु नै सम्यक आजीविका हो ।
अङ्गुत्तर निकायमा सम्मा आजीविका अन्तर्गत (१) शस्त्र अस्त्रको व्यापार, (२) मासुको व्यापार, (३) जीवित प्राणीको व्यापार, (४) मादक पदार्थको व्यापार र (५) विषको व्यापार गरी पाँच कामहरू जति फाइदा भए पनि नगर्नु भनी स्पष्ट भनेका छन् । व्यवसाय गर्न सिकाउने र त्यसमाथि पनि दिगो विकासको अवधारणालाई समेत ख्याल गरी व्यवसाय गरिनु पर्छ भन्ने शिक्षा दिने बुद्ध कसरी निराशावदी भए ? जब कि बुद्धको यही अवधारणालाई संयुक्त राष्ट्रसङ्घले पनि दिगो विकासको नाममा उच्च प्राथमिकता दिँदै आएको छ ।
बुद्धले भोग सम्पत्ति अचिरस्थायी हुनाका कारणहरूको सम्बन्धमा पनि शिक्षा दिएका छन् । उनका आधारमा (१) हराएको वस्तुहरू नखोज्ने, (२) पुरानो भएर जीर्ण भएको वस्तु मर्मत नगर्ने, (३) दुश्शील, असंयमी स्त्री वा पुरुषलाई ढुकुटीको अधिपति बनाउने र (४) खानपानमा मात्र ज्ञान नहुनाले । अर्थात् आय अनुसार व्यय नगर्नाले जोडेको सम्पत्ति पनि नाश भएर जान्छ । यसरी सम्पत्ति कसरी जोगाउनु पर्छ भन्ने उपाय बताउने बुद्ध कसरी निराशावादी भए ?
‘यो चे वस्ससतं जीवे कुसित हिन विरियं, एकाहं जीवितं सेय्यो ..’ धम्मपदमा बुद्धले अल्सी वीर्यहीन भई सय वर्ष जिउनुभन्दा दृढ उद्योगी भई एकै दिन जिउनु वेश हुन्छ भनी सम्बोधन गरेका छन् । ‘अचरित्वा ब्रह्मचरियं अलद्धा योव्वने धनं, जिण्ण कोच्चा व झायन्ति खीण मच्छे व पल्ले ।’ अर्थात्, गृहस्थ भएर जसले यौवनावस्थामा धन कमाउँदैन र भिक्षु भएर यौवन अवस्थामा नै ब्रह्मचर्या पालन गर्दैन, उसले सुक्खा पोखरीमा बकुल्ला झोक्राएर बस्नु परे झैँ बाँकी जीवन झोक्राएर बस्नुपर्ने हुन्छ । यो शिक्षा बुद्धले बनारसको एक सेठको छोरा, यौवनावस्थामा आयआर्जन गर्ने कुनै सिप नसिकेको र बुबाको मृत्युपछि नराम्रो सङ्गतमा परेर मगन्ते भएर बस्नु परेको कुरालाई अगाडि सारेर बताएका थिए । यसरी परिश्रम गर्नुपर्ने र यसरी परिश्रम गरेमा मात्र जीवन जिउन सहज हुने भन्ने प्रेरणादायी शिक्षा दिने बुद्ध कसरी निराशावादी भए ?
बुद्धको चार आर्य सत्यमध्ये संसारमा दुःख छ भन्ने पहिलो आर्य सत्यलाई मात्र लिएर बुद्ध निराशावादी थिए भन्नु नितान्त गलत हो । संसारमा दुःख छ र दुःखका कारण छन् (दोस्रो सत्य) भन्नु त एक आधार वाक्य हुन् । दुःख आफैँमा निराशा हो । निराशाका बिच त आशाको अस्तित्व हुन्छ नि । बुद्धले तेस्रो र चौथो सत्यका रूपमा क्रमशः दुःख निरोध गर्न सकिन्छ र दुःख निरोध गर्ने आर्य अष्टाङ्गिक मार्ग छ भन्ने बताएका छन् । यसरी बुद्धको निष्कर्ष निराशाबाट आशातिर लम्किएको छ । फेरि बुद्धले भनेको सुख त निर्वाण सुख हो । यस्तो सुख जसले यो जुनी मात्र होइन मानिसले अर्काे जुनी नै लिनु नपर्ने र सदा सदा निर्वाण सुख भोग गर्दै सुखावती भुवनमा विराजमान हुन सकिने हुन्छ । अनि बुद्ध कसरी निराशावादी भए त ?