• २ असार २०८१, आइतबार

हिउँ पग्लँदा जनजीविकामा ठुलो असर

blog

काठमाडौँ, जेठ १० गते । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जलवायु परिवर्तनका कारण नेपालका हिमालबाट लगातार हिउँ पग्लिँदा हिमाली जनजीविकामा ठुलो असर पुगेको बताउनुभएको छ । 

हिमाल, जनता र जलवायु परिवर्तन नारासाथ बुधबार काठमाडौँमा सुरु भएको अन्तर्राष्ट्रिय विज्ञ संवादको पहिलो सत्रमा उहाँले हिमालमा तापक्रम वृद्धिको दर उच्च रूपमा बढ्दै जानु चिन्ताको विषय रहेको बताउनुभयो । 

विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने शीर्षकमा भएको सो सत्रमा हिमालबाट हिउँ हराउँदै जाने क्रम रोक्न तत्काल न्यूनीकरणका कार्यलाई कार्यान्वयनमा लैजान आवश्यक भइसकेको स्पष्ट पार्नुभयो । 

यही स्तरले तापक्रम बढेमा हिमालको हिउँ पग्लँदै जाने हो भने सन् २१०० सम्ममा ८० प्रतिशत हिउँ हिमालबाट विलीन हुने अध्ययनले औँल्याएको प्रस्ट पार्दै उहाँले अब काम गर्न ढिला गर्न नहुनेतर्फ सबै सरोकारवालाको ध्यान जानुपर्नेमा जोड दिनुभयो । 

किर्गिस्तानका प्रतिनिधि अटमुरजाउले हिमालमा जलवायु सङ्कटको प्रभाव नेपालले गम्भीर स्तरमा भोगिरहेको बताउनुभयो । त्यसबाट बाहिर निस्कन संवादसँगै ठोस रूपमा साझा अनुकूलका रणनीतिको निर्माण गर्न सहकार्य गर्न आवश्यक रहेको हुनुपर्ने धारणा राख्नुभयो ।

नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलोसिटी भोल्कले समाधानका रूपमा तत्काल कार्यगत प्रक्रियामा जाने, सन्तुलित जलवायुको अवधारणामा दिगो समाधानको खोजी गर्ने, समावेशी बहस गर्ने र अन्तर्राष्ट्रिय सहकार्यलाई बढावा दिने गरी काम गर्नुपर्ने सुझाव दिनुभयो । 

युएनएफसिसी साब्स्टाका अध्यक्ष ह्यारी भेरेअल्सले तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न समुदायस्तरबाटै समाधानका लागि सचेतना वृद्धि गर्नुपर्ने बताउनुभयो । 

बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री सबिर हुसेन चौधरीले विश्वशक्ति राष्ट्रलाई एक डिग्री सेल्सियस तापक्रममा सीमित गराउनेतर्फ हिमाली तथा टापु देशहरूले प्रतिबद्ध गराउनुपर्ने बताउनुभयो किनभने विश्वव्यापी विकासको होडबाजीमा उनीहरू बढी जिम्मेवार रहेकाले त्यसमा गम्भीर बनाउनु पर्छ ।