• १४ मंसिर २०८१, शुक्रबार

यस्तो छ तीन महिला मन्त्रीको सम्पत्ति विवरण

blog

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा ।

काठमाडौँ, जेठ ८ गते। सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो। सार्वजनिक विवरणअनुसार महिला मन्त्रीहरूको सम्पत्ति  केही स्वआर्जनबाट प्राप्त भएपनि अधिकांश पैतृक सम्पत्तिबाट प्राप्त भएको उल्लेख छ। 

सञ्चार मन्त्री शर्माको छ तोला सुन र दुई तोला चाँदी

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ।

मन्त्री शर्माले कृष्णध्वज खड्काको नाममा कीर्तिपुर वडा नम्बर ७ मा छ आना एक पैसा एक दाम जग्गामा साढे दुई तलाको घर भएको उल्लेख गर्नुभएको छ। उक्त सम्पत्ति परिश्रमिक र पैतृक आयबाट प्राप्त गरेको हो। 

साथै उहाँले कृष्णध्वप खडका, घमान सिंह खड्काको नाममा प्युठान वडा नम्बर सातमा  पैतृक संगोल सम्पत्ति भएको उल्लेख गर्नुभएको छ। 

उहाँले पैतृक तथा उपहारबाट प्राप्त गरेको सुन ६ तोला र २ तोला चाँदी रहेको उल्लेख गर्नुभएको छ। 

शर्माले तलब तथा अन्य आयबाट जम्मा गरेको राष्ट्रिय वाणिज्य बैङ्कमा एक लाख ५० हजार, एभरेष्ट बैङ्कमा २८ हजार, र क्यारिना श्रवण तथा बचत सहकारी संस्थामा २० लाख मौज्दात रकम रहेको उल्लेख गर्नुभएको छ। 

मन्त्री शर्मा, श्रीमान् कृष्णध्वज खड्का र छोरीहरू समेतका नाममा एक हजार पाँच सय शेयर रहेको विवरण सार्वजनिक गर्नुभएको छ।  

उहाँले राष्ट्रिय वाणिज्य बैंकबाट ६५ लाख ऋण लिएको सार्वजनिक गर्नुभएको छ। शर्माले आफ्नो नाममा ३६ लाख बराबरको  होण्डाई कार रहेको विवरणमा उल्लेख गर्नुभएको छ। उक्त कार पारिश्रमिक, राष्ट्रिय वाणिज्य बैकबाट ऋणबाट लिएको उल्लेख गर्नुभएको छ।  

शिक्षामन्त्रीको ११ तोला सुन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठसँग ११ तोला सुन, १०० तोला चाँदी भएको देखिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार शिक्षा मन्त्री  श्रेष्ठले काभ्रेमा नौ लाख ९५ हजारमा किनेको आठ आना छ पैसा ३० दाम बराबरको जग्गा परिश्रमबाट किनेको उल्लेख गर्नुभएको छ। 



चाल सम्पत्तिको वितरण सुन ११ तोला, चाँदी १०० तोला हिरा एक सेट, हिराको टप एक सेट रहेको सार्वजनिक गर्नुभएको छ। १० तोला सुन र हिराको सेट विवाहमा  उपहार प्राप्त भएको र १ तोला सुन र हिराको  सेट हजुरआमाको शेषपछि पाएको उल्लेख गर्नुभएको छ। 

श्रेष्ठको नाममा एनआइसी बैंकमा ११५ लाख, एभरेष्ट बैङ्कमा ३७ लाख, पाबल स्बविन्सको नाममा १८९.७ के डलर, १८० के डलर  बराबरको रकम बैंकमा रहेको उल्लेख गर्नुभएको छ। उहाँले उक्त रकम पारिश्रमिक र उपहारबाट प्राप्त गरेको उल्लेख गर्नुभएको छ। 

उहाँसँग एक लाख ८५ हजार बराबरको स्कुटर र २० लाख बराबरको इभी कार भएको उल्लेख गर्नुभएको छ। उक्त सवारी साधन परिश्रमिकबाट प्राप्त गरेको उल्लेख गर्नुभएको छ। 

महिला मन्त्री चौधरीको दुई करोड ६७ लाख 

महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले झण्डै तीन करोडको बराबरको सम्पत्ति रहेको सार्वजनिक गर्नुभएको छ।  चौधरीको सुनसरी दुहबी गाउँपालिका वडा नम्बर तीनमा एक कठ्ठा एक धुर क्षेत्रफल वर्ग मिटरमा घर र काठमाडौँ नौमा १२ आना एक पैसा तीन दाम क्षेत्रफलमा दुई करोड ६७ लाख बराबरको सम्पत्ति भएको उल्लेख गर्नुभएको छ। उक्त सम्पत्ति स्वाआर्जन गरेको उहाँले  उल्लेख गर्नुभएको छ ।  


महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी ।

साथै सुनसरीका विभिन्न ठाउँमा स्वआर्जन गरेको ४६ लाख बराबरको सम्पत्ति रहेको उल्लेख गर्नुभएको छ। साथै १५ कण्डा अंशबण्डामा प्राप्त गरेको सार्वजनिक गर्नुभएको छ। 

७५ तोला सुन र चाँदी २५ तोला रहेको उल्लेख गर्नुभएको छ। चौधरीको नाममा एभरेष्ठ बैङ्कमा १२ लाख ४१ हजार ८३०, राष्ट्रिय वाणिज्य बैङ्कको  पाँच लाख ४६ हजार ११९, नबिल बैङ्कमा १२ हजार मौज्दात  रहेको सार्वजनिक गर्नुभएको छ। चौधरीको स्वआर्जन गरेर लगानी गरेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड  दुई लाख ४२ हजार १०५ , अन्य विभिन्न कम्पनीमा एक लाख ५० हजार बराबरको  शेयर रहेको सार्वजनिक गर्नुभएको छ। 

विभिन्न बैंकबाट  एक करोड बराबरको ऋण लिएको उल्लेख गर्नुभएको छ।