• १३ मंसिर २०८१, बिहिबार

दोस्रो योजनाको आधारपत्र परिमार्जन

blog

दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जन आधारपत्र सार्वजनिक गर्दै गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी । तस्बिरःगोरखापत्र

फडिन्द्र अधिकारी
लेखनाथ, जेठ ८ गते ।
गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्र परिमार्जन गरेको छ । सरकार परिवर्तन भएपछि प्रदेश नीति तथा योजना आयोगले तयार गरेको आधारपत्र परिमार्जन गरिएको हो ।

यसअघि नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेतत्वको सरकारले चैत १९ गते आधारपत्र सार्वजनिक गरेको थियो । त्यही आधारपत्रलाई मन्त्रिपरिषदको ४ जेठमा  भएको बैठकले परिमार्जन गरी मङ्गलबार सार्वजनिक गरिएको छ ।

गण्डकीको दोस्रो पञ्च वर्षीय योजना (२०८१/८२–२०८४/०८६) को अन्तिम तयारी भइरहेको छ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले केन्द्रको सोह्रौं पञ्चवर्षीय योजनासँग तादात्म्य हुने गरी नयाँ योजना बन्ने उल्लेख गर्नुभयो । “गण्डकीको आवश्यकता र सङ्घको योजनाको मर्मलाई आत्मसात् गरी हाम्रो दोस्रो योजना आउँछ,” मुख्यमन्त्री अधिकारीले भन्नुभयो ।

प्रथम पञ्चवर्षीय योजनाको कार्यान्वयनबाट प्राप्त उपलब्धि तथा पृष्ठपोषण समेतलाई दृष्टिगत गर्दै नयाँ योजना बनेको आयोगका उपाध्यक्ष श्रीकान्त खतिवडाले उल्लेख गर्नुभयो । नेपालको संविधान दीर्घकालीन राष्ट्रिय सोच २१००, वि.सं. २०८३ मा नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने र दिगो विकासका लक्ष्यहरू हासिल गर्न योजनाले भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ ।

समाजवाद उन्मुख स्वतन्त्र, आत्मनिर्भर र समृद्ध अर्थतन्त्रको विकास योजनाले लक्ष्य लिएको छ । अहिले योजनाको नारासमेत परिवर्तन गरिएको छ । यसअघि ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी’ भन्ने सोच रहेकोमा अहिले समृद्ध प्रदेशः सुखी प्रदेशवासी नारा तय गरिएको छ ।

आयोगका सदस्य डा. सुवास अधिकारीले आर्थिक वृद्धि एवम् विकासका लाभको समतामूलक र न्यायोचित वितरणमार्फत समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु नयाँ योजनाको मुख्य लक्ष्य भएको जनाउनुभयो । मानव पुँजी निर्माण, गुणस्तरीय पूर्वाधारको विकास एवम् उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध प्रदेशको आधारशिला निर्माण गरिने उहाँको भनाइ छ ।