बोमलाल गिरी
नवलपुर, जेठ ८ गते। एक सिंगे गैँडाको खाग खरिद बिक्री गरेको आरोपमा नवलपुरबाट पाँचसहित ६ जना पक्राउ परेका छन्। चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको विशेष टोली र श्री नयाँ गोरख गणको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेर सार्वजनिक गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार पक्राउ पर्नेमा नवलपुर सदरमुकाम कावासोती १५ का ५० वर्षीय छविलाल परियार, कावासोती १५ कै ३६ वर्षीय प्रकाश घिमिरे, कावासोती १६ का ३८ वर्षीय लेखनाथ सुनार, कावासोती १६ कै २९ वर्षीय क्रान्ति खड्का, बुलिङटार गाउँपालिका ४ का ३५ वर्षीय खिमबहादुर बराल र बझाङ जिल्लाका छविस पाथीभरा गाउँपालिका १ का २७ वर्षीय प्रकाश राज जोशी रहेका छन्।
उनीहरूलाई चैतको अन्तिम साता पक्राउ गरिएको थियो। संरक्षित वन्यजन्तु एकसिंगे गैँडाको खाग खरिदबिक्री गर्न ६ जना मिली शंकासपद गतिविधि गरिरहेको देखेपछि गोप्य रूपमा निगरानी गर्दै जाँदा भरतपुर महानगरपालिका–६ चितवनमा कावासोतीका क्रान्ति खड्काको साथबाट रातो रङ्गको प्लाष्टिकको झोलामा संरक्षित वन्यजन्तु एक सिंगे गैँडाको खाग (आखेटोपहार) १ थानसमेत बरामद गरेको निकुञ्जले जनाएको छ।
खुड्को साथबाट ८.५ इन्च उचाइ २.४ इन्च मोटाइ, ६० ग्राम तौल भएको खाग फेला परेको प्रमुख संरक्षक अधिकृत पुनले जानकारी दिनुभयो। खड्कासँगै खाग खरिद बिक्रीमा संलग्न रहेको बयानका आधारमा थप ५ जनालाई पक्राउ गरिएको उहाँको भनाइ छ।
उक्त खाग २०७२ साल चैत्रमा निकुञ्जको अमलटारी सेक्टर अन्तर्गतको गुन्द्रेढाकाहा मध्यवर्ती सामुदायिक वनमा मरेर सडेको अवस्थामा रहेको गैँडाबाट चोरी भएको खुल्न आएको प्रमुख संरक्षक अधिकृत पुनले बताउनुभयो।
उक्त मृत गैँडाको खाग कावासोती १५ निवासी छविलाल थापा र भैरव थापा घाँस दाउरा गर्न भनी गएको बेला चोरी गरेका थिए। भैरव थापाको भने निधन भइसकेको छ। उक्त गैँडाको खाग तस्करमा संलग्न थप एक जना फरार रहेको निकुञ्जले जनाएको छ।
पक्राउ परेका ६ जना र फरार एक गरी ७ जनालाई संरक्षित वन्यजन्तु एकसिंगे गैँडाको खाग (आखेटोपहार) खरिद तथा बिक्री मुद्दामा जिल्ला अदालत चितवनमा मुद्दा दायर भएको छ।