काठमाडौँ, जेठ ७ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग पुनः दोहोर्याएको छ ।
कांग्रेस सदंसदीय दलको सोमबार बसेको बैठकले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने संलग्न रहेको स्पष्ट प्रमाण देखिएको जनाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्न पुनः माग गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सहकारीमा गृहमन्त्री लामिछानेको संलग्नताको विषय सञ्चारमाध्यममा आएको विषय मात्र नभई प्रहरीले छानबिन गरेको र जिल्ला अदालतमा दायर गरेको अभियोगको विषय भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सहकारीको रकम अपचलनमा छानबिन गर्न र संलग्नलाई कडा कारबाही गर्न स्वतन्त्र निष्पक्ष समिति हाम्रो बटनलाइन हो । प्रतिनिधिसभाको आइतबारको बैठकमा गृहमन्त्री लामिछानेले कांग्रेसलाई लगाएका आरोप असत्य, भ्रामक, कपोलकल्पित हुन् ।”
सचेतक लेखकले गृहमन्त्री लामिछानेले सदनमा अर्कालाई प्रश्न गर्ने होइन, आफूमाथि उठेका प्रश्नको जवाफ दिने हो भन्नुभयो ।
गृहमन्त्री लामिछानेको गैरजिम्मेवार भनाइ र प्रस्तुतिका सन्दर्भमा कांग्रेसले प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैठकले गृहमन्त्री लामिछानेले लगाउनुभएका आरोपलाई निष्पक्ष र स्वतन्त्र छानबिन गरी प्रमाणित गर्न खुला रहेको निर्णय गरेको प्रमुख सचेतक लेखकले बताउनुभयो । रासस