फडिन्द्र अधिकारी
लेखनाथ, वैशाख ७ गते । पोखरामा महानगरको बिच भागबाट बग्ने सेती नदी कतै लुक्छ, कतै खुला भएर बग्छ । नदी खुला भएका ठाउँमा नदीजन्य पदार्थको उपयोगका लागि टेन्डर आह्वान गर्ने गरिएको छ । टेन्डर आह्वान नहुने ससाना ठाउँमा भने अवैध तवरले नदीजन्य पदार्थ निकाल्ने र ओसारपसार गर्ने क्रम चलिरहन्छ ।
ससाना घाटमा अवैध रुपले नदीजन्य पदार्थ निकालेर ओसारपसार गर्नेहरु कास्कीमा सक्रिय छन् । उनीहरु हत्तपत्त प्रशासन र प्रहरीको नजरमा पर्दैनन्, परिहाले पछि छुट्छन् । पोखरा महानगरपालिका वडा नम्बर १४ को बाच्छेबुडुवामा राती–राती नदीजन्य पदार्थ निकाल्ने र ओसारपसार गर्ने तीन गाडी कास्की प्रहरीले आइतबार नियन्त्रणमा लियो । नियन्त्रणमा लिएका गाडी प्रहरीले कारवाहीका लागि पोखरा महानगर पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताउनुभयो ।
पोखरा १४ बाच्छेबुडुवाको सेती घाटमा राती बालुवा, गिट्टी र ढुङ्गा उत्खनन् गरी दुई वटा ट्याक्टर नदीजन्य पदार्थसहित र एउटालाई खाली समातिएका थिए । त्यसरी नियन्त्रणमा लिइएका ग १ ख ६६०९ नम्बरको मिनी ट्रिपर, ग१त ५४१६ नम्बरको को ट्याक्टर र ग १ त ७०२४ नं. को ट्याक्टर महानगरले आइतबारे छाडिदिएको छ ।
महानगरको राजस्व शाखाले प्रमाण नपुगेको भन्दै गाडी छाडिदिएको हो । पोखरा महानगरका राजस्व शाखाका प्रमुख दीपेन्द्र पाण्डितले एउटा ट्याक्टरलाई १२ हजार जरिवाना र एउटा ट्याक्टरलाई त्यसै छाडिएको जानकारी दिनुभयो । “प्रहरीले कारबाहीका लागि पठाएको थियो । तर प्रमाण नै पुग्दैन । पुगेकालाई कारबाही गरेर पठाएका छौैं,’’ पण्डितले भन्नुभयो ।
अनकन्टार ठाउँमा रहेको बाच्छेबुडुवाको सेती घाटमा राती राती उत्खनन् हुने गरेको छ । अवैध रुपमा नदीजन्य पदार्थ ओसारपोसार गरेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालय र पोखरा १४ वडा कार्यालयलाई स्थानीयले दिएका थिए । नदी दोहन गर्नेलाई उन्मुक्ति दिइएको भन्दै स्थानीय आक्रोशित छन् ।
राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति अध्यक्ष सुनील पाण्डे सम्पदा संरक्षणमा भन्दा जनप्रतिनिधि र कर्मचारीहरु आर्थिक लोभमा परेको जस्तो देखिएको दाबी गर्नुभयो । यता, प्रहरीले भने नदीजन्य पदार्थको अवैध उत्खनन र ओसारपसार नियन्त्रण गर्न अझसम्म जनप्रतिनिधिबाट रोक्नुपर्ने आवाज नआएको बरु पक्राउ परेकालाई छाड्न दबाब आउने गरेको जनाएको छ ।
कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले आफ्नो कार्यकालमा कुनै जनप्रतिनिधिले नदी दोहन रोक्न सूचना नदिएको बरु छाड्न भने ताकेता गर्ने गरेको सुनाउनुभयो । “आजसम्म कास्कीका कुनै पनि जनप्रतिनिधिले उत्खनन् भइरहेका छ भनेर सूचना दिनुभएको छैन । प्रहरीले उत्खनन्मा प्रयोग भएको सवारी नियन्त्रणमा लिएपछि भने छाड्न ताकेता हुन्छ,” उहाँले भन्नुभयो ।
यसअघि पनि नदीजन्य पदार्थको अवैध उत्खनन् र ओसारपसारमा संलग्न गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर महानगरलाई बुझाए पनि ती गाडी सामान्य जरिवाना तिरेर छुट्ने गरेका छन् ।