अमरराज नहर्की
तनहुँ, जेठ ६ गते । तनहुँको मुक्तिनाथ शुक्लागण्डकी च्वयनधामको संरक्षकत्वमा सञ्चालित शुक्लागण्डकी नगरपालिका–९ स्थित गौ संरक्षण केन्द्र धार्मिक पर्यटकको गन्तव्य बन्न थालेको छ । यस केन्द्रमा धार्मिक पर्यटनको गन्तव्य हुँदै आर्थिक सहयोग जुट्न थालेपछि गाई पाल्न सहज भएको छ ।
मुक्तिनाथ शुक्लागण्डकी च्वयनधामका अध्यक्ष होमनाथ लम्सालले सहरबजार तथा बालीनाली भएका जग्गामा छोडिएका गाईको उचित व्यवस्थापन गर्न शुक्लागण्डकी नगरपालिकाको सहयोगमा केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । नगरपालिकाले छाडा गाई तथा गोरुको नियन्त्रणका लागि सुरुमा कान्जी हाउसका रूपमा १७९ रोपनी जमिनमा सञ्चालन गरिएको थियो । कान्जी हाउसमा स्याहार नपाएपछि गाई मर्ने क्रम बढेपछि धामलाई एक वर्षअघि सञ्चालनको जिम्मा लगाइएको थियो । २०८० वैशाख २२ गते नगर कार्यपालिकाको बैठकले धामलाई व्यवस्थापकीय जिम्मेवारी दिएपछि केन्द्र सञ्चालनमा ल्याइएको र हाल धार्मिक पर्यटकीय स्थलका रूपमा विकास हुँदै गएको अध्यक्ष लम्सालले बताउनुभयो । लम्सालका अनुसार हाल दुई सय गाई रहेका छन् । ती गाईको दाना, पराल, घाँस तथा गौपालक गरी मासिक करिब चार लाख रुपियाँ खर्च लाग्ने गरेको छ । एक गाई बराबर मासिक दुई हजार खर्च हुने गरी सो रकम खर्च हुने र धर्मावलम्बीबाट प्राप्त सहयोगले पाल्न सहज भएको छ । लम्सालले भन्नुभयो, “स्वदेश तथा विदेशमा रहेका नेपाली तथा हिन्दु धर्मावलम्बीले गौ रक्षाका निम्ति सहयोग गर्ने गरेकाले सहज भएको छ ।” विशेष गरी पछिल्लो समय जन्मदिन, विवाह उत्सव, पितृकार्य, श्राद्धको अवसरमा नगद तथा दाना, चोकर सहयोग गर्ने बढिरहेको अध्यक्ष लम्सालले बताउनुभयो । आम्दानी थोरै हुने भएपछि स्थानीय गाई र दुध धेरै दिने जर्सी गाई बुढो भएपछि जथाभावी छाडिँदा सवारी दुर्घटना हुने, अरूको बालीनाली खाएर सखाप पारिदिने र बजार क्षेत्रको स्वरूप बिगारिदिने जस्ता समस्या देखिएपछि धामले व्यवस्थापनको जिम्मा लिएको हो ।
उपाध्यक्ष अस्मिता खनाल पन्तले अहिले यो क्षेत्र धार्मिक अवलोकनको गन्तव्यस्थल बनिरहेको जानकारी दिनुभयो । पन्तले भन्नुभयो, “विभिन्न स्थानबाट गाईको अवलोकन गर्न आउने क्रम बढेको छ । गाई कसरी पाल्ने भन्ने चिन्ता हटेको छ ।” शुक्लागण्डकी नगरपालिकाको १७ लाख र स्थानीयवासीको तीन लाख गरी सुरुमा २० लाख रुपियाँको लागतमा संरक्षण केन्द्र निर्माण गरिएको थियो । लम्सालका अनुसार मासिक २५ हजार रुपियाँ तिरेर पाँच जना गौपालक राखिएको छ । दुई जना गौपालकको खर्च नगरपालिकाले बेहोर्दै आएको छ । यसका साथै नगरपालिकाले वार्षिक रूपमा आठ लाख रुपियाँ पराल किन्नका लागि रकम दिने गरेको छ । केन्द्र सञ्चालनमा ल्याइएपछि यहाँका स्थानीयले अहिले भने छाडा पशुचौपायाको समस्या भोग्नु परेको छैन ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईको दुध आमाको दुध जस्तै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । सेती नदीको तट नजिकै मरेतरामा गौशाला बनाइएपछि अहिले यत्रतत्र छाडा छाडिएका, हेयका रूपमा लिइएका गाईको संरक्षण हुन थालेको छ । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले पछिल्लो समय गौमाताको सेवामा धेरैको आकर्षण बढेकाले नगरपालिकालाई आर्थिक भार कम भएको बताउनुभयो ।