• १३ असोज २०८१, आइतबार

कांग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छ : एमाले प्रमुख सचेतक बर्तौला

blog

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैला । फाइल तस्बिर

काठमाडौँ, जेठ ५ गते। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले नेपाली काँग्रेसले संसदमा मुठभेडमा लैजान चाहेको आरोप लगाउनुभएको छ। 

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गत जेठ ३ गते बिहीबार संसद् अवरोध गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहारको प्रयास गरेको उल्लेख गर्दै उहाँले कांग्रेसले संसदमा उद्दण्ड, अभद्र, अशिष्ट र अमर्यादित ढङ्गले प्रस्तुत भएर मुठभेडमा लैजान चाहेको जिकिर गर्नुभएको हो। 

शनिबार काठमाडौँमा आयोजित युवा विषयक विचार गोष्ठीमा बोल्दै प्रमुख सचेतक बर्तौलाले पार्टी अध्यक्ष ओलीमाथि काँग्रेस उपसभापति गुरुङले संसदमा उद्दण्ड व्यवहार प्रदर्शन गरेर संसदीय मूल्य, मान्यताको नै खिल्ली उडाएको बताउनुभयो। उहाँले संसदमा काँग्रेसले सत्तापक्षको आसनमा आएर गरिएको दुर्व्यवहारको जति निन्दा गरे पनि कम हुने बताउनुभयो।

प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, ‘‘नेपाली काँग्रेसले संसदमा गरिरहेको हर्कत हेर्नुहोस्। संसदमा सत्ता पक्ष कहाँ बस्ने, प्रतिपक्ष कहाँ बस्ने, सरकार कहाँ बस्ने ? त्यहाँ डिफाइन गरेको हुन्छ। आसन निर्धारण गरिएको हुन्छ। तर प्रमुख प्रतिपक्षका साथीले बेल घेराउ गर्न जानुभएको छ, आपत्ति छैन। नारा लगाउनुभएको छ। हामीलाई आपत्ति छैन। यसमा गुनासो छैन। तर सरकारको आसनमा आएर उपसभामुखको आसनमा आएर जुन प्रकारको अभद्र, अशिष्ट, अमर्यादित र उद्दण्ड प्रस्तुतिहरू उहाँहरूबाट भइरहेको छ। यसले संसदीय इतिहासमा र संसदीय परम्परामा यो एउटा कालो दिनको रूपमा अस्तिको घटना रह्यो।हाम्रा श्रद्धेय अध्यक्षमाथि नेपाली काँग्रेसका एक जना नेताले संसदमा हाम्रा श्रद्धेय अध्यक्षमाथि अशिष्ट व्यवहार प्रदर्शन गरे, उद्दण्ड व्यवहार प्रदर्शन गरे। यसले के देखाउँछ भने राजनीतिलाई इमानबाट निर्देशित होइन, संसदीय मूल्य, मान्यताको जगबाट संसद् चलाउने होइन। भिडभाड, दादागिरी र उद्दण्डताका साथ मुठभेडमा लैजान नेपाली काँग्रेस चाहन्छ भन्ने देखिन्छ।’’

प्रमुख सचेतक बर्तौलाले सहकारीको ठगी प्रकरण फौजदारी अभियोग भएकाले त्यसलाई संसद्ले नभई सरकारी निकायले अनुसन्धान गर्नुपर्ने तर्कसमेत गर्नुभयो।