• १३ मंसिर २०८१, बिहिबार

गठबन्धन गर्न नपाइने व्यवस्था कानुनी रूपमै गरिनु आवश्यक : नेता पौडेले

blog

कार्यक्रममा बोल्नु हुँदै सांसद प्रदीप पौडेल । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, जेठ ५ गते । 
नेपाली कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले गठबन्धन कानुनी रूपमै गर्न नपाइने व्यवस्था गरिनुपर्ने बताउनु भएको छ  । नेपाली कांग्रेस बन्दीपुर गाउँ कार्य समितिले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै पौडेलले सो कुरा बताउनुभएको हो ।

गठबन्धन गर्नु भनेको सत्ताको निम्ति भएको र  सत्ताका लागि विचारमाथि सम्झौता गर्न नहुने पौडेलको भनाइ छ । पौडेलले भन्नुभयो, ‘‘चुनावभन्दा पछाडि सरकार बनाउने सन्दर्भमा गठबन्धन हुन सक्छ तर चुनावभन्दा अघि गठबन्धन गर्नु भनेको जनताको निर्बाध ढङ्गले भोट हाल्न पाउने अधिकारको अनादर गर्नु हो ।’’

निर्वाचन आयोगमा दर्ता भएको पार्टीले कुनै अर्को पार्टीसँग आफ्नो अतित्व समाप्त गरेर अर्को पार्टीसँग बिलय भएको अवस्थामा भने मिल्न सक्ने उहाँको तर्क थियो । पौडेलले भन्नुभयो, ‘‘निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने तर चुनाव गर्ने बेला गठबन्धन गरेर चुनावमा लड्ने यो कानुनी रूपमै नपाइने व्यवस्था गरिनु पर्दछ ।’’

कानुनी रूपमै गठबन्धन गर्न नपाइने व्यवस्था भएमा मतदाताले आफ्नो स्वतन्त्रता प्रयोग गर्न पाउने पौडेलले बताउनुभयो । सत्तामा जाने अस्वाभाविक चलखेल कांग्रेस गर्न नहुने पौडेलले बताउनुभयो । नेतृत्व लोभी छ सत्ता नहुँदा पानी विनाको माछा जस्तै छटपटिन्छ भने त्यस्तो नेतृत्वलाई खबरदारी गरिनुपर्ने पौडेलले बताउनुभयो ।

जनताको काम गर्न सरकारमै जानुपर्छ भन्ने नभएको र प्रतिपक्षमा नै बसेर काम गर्न सकिने उहाँको भनाइ थियो । संसदभित्र नेपाली कांग्रेसले प्रतिपक्षको रूपमा कसरी प्रभावकारी भूमिका खेल्न सक्छ भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अनुसन्धानका लागि सहयोग पुर्‍याउन  गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने बताउनुभयो ।

नेता पौडेलले लामिछानेविरुद्ध परेको उजुरी गृह मन्त्रालयले नै अनुसन्धान गर्नु पर्ने भएकाले राजीनामा दिनुपर्ने बताउनुभयो । सहकारीको रकम अपचलन गरेको भनेको मुद्दा प्रहरी कार्यालयमा परेको गृहले नै अनुसन्धान गर्नुपर्ने भएकाले राजीनामा दिनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति श्यामकुमार मौरती, नेपाली कांग्रेस महासमितिका सदस्य पुरुषोत्तम खनाल, नेपाली कांग्रेस बन्दीपुरका सभापति कर्णबहादुर खत्री, कांग्रेसका जिल्ला नेता नविनराज पौडेल, बन्दीपुर गाउँपालिकाको उपाध्यक्ष तथा नेपाली कांग्रेस गण्डकी प्रदेश प्रतिनिधि पञ्चमाया गुरुङ, नेपाल दलित सङ्घ तनहुँका उपाध्यक्ष रामकृष्ण विक लगायतले नेताहरूमा गुटबन्दी तथा कार्यकर्तामा अनुशासनको कमी भएकोले कांग्रेस कमजोर भएकोले त्यसलाई सुधार गर्न नेताहरू लाग्नु आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो ।