वि.सं १९७१ मा मोरङ जिल्ला सदरमुकाम विराटनगर सारियो । दक्षिणी सीमावर्ती भारतीय सहर जोगवनीसम्म रेलसेवा सञ्चालन भएको र भारतसँग व्यापार व्यवसाय गर्न सजिलो हुने भएकाले २२ किलोमिटर टाढा रहेको रङ्गेलीबाट सदरमुकाम विराटनगर सारिएको विभिन्न दस्ताबेजले देखाउँछन् । विराटनगर नामकरण हुनुअघि यसलाई चन्द्रगन्ज, नेपालगन्ज र गोग्राहासमेत भनिन्थ्यो ।
चेतनशील युवाले गाउँगाउँमा पुस्तकालय र वाचनालय खोलेर राजनीतिक आन्दोलनलाई ऊर्जा भर्ने काम गर्थे । विराटनगरका पुस्तकालय हेर्दा कांग्रेस, कम्युनिस्ट, सङ्घ संस्था, सांस्कृतिक समूह र धार्मिक उद्देश्य राखेरसमेत पुस्तकालय खोल्ने प्रतिस्पर्धा चलेको छ । यस्तो प्रतिस्पर्धाले यस क्षेत्रको चेतना र पठन संस्कृतिमा मात्र हैन सङ्कलनमा पनि विशिष्टता थपेको देखिन्छ । राजनीतिक, धार्मिक, सांस्कृतिक समूह पुस्तकालय विकासमा जुर्मुराएको कुरा अन्य गाउँ सहरले पनि सिक्नुपर्ने पाठ हो ।
पञ्चायत कालमा स्थापना भएका कतिपय पुस्तकालयले प्रशासनिक कुदृष्टिको सिकार हुनु परेको थियो । आर्थिक अभाव र प्रशासनिक झन्झट अन्यत्र जस्तै विराटनगरका पुस्तकालयको पनि साझा समस्या हो । यसबाहेक आफ्नो सम्पत्ति जोगाउन नसक्ने महारोगको सङ्व्रmमणमा विराटनगर क्षेत्रका पुस्तकालयको नाम जोडिन पुगेको छ ।
तत्कालीन विराटनगर उपमहानगरपालिकाले २०७० फागुन २५ मा सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनले यस क्षेत्रमा छ वटा पुस्तकालय रहेको विवरण दिएको छ । उक्त प्रतिवेदनमा आदर्श पुस्तकालय, गुराँस पुस्तकालय, जनपथ पुस्तकालय, देवकोटा पुस्तकालय, नेपाल भारत मैत्री पुस्तकालय र श्री कृष्ण पुस्तकालयको मात्र नाम समावेश छ । विराटनगरबारे लेखिएका अन्य विवरण केलाउँदा यसभन्दा फरक पुस्तकालय पनि क्रियाशील पाइयो ।
अमेरिकन कर्नर : सहिद मार्ग विराटनगरमा रहेको यो भौतिक पुस्तकालय सर्वसाधारणका लागि खुला छ । पुस्तकालय संयुक्त राज्य अमेरिका र नेपालको अन्तर सांस्कृतिक संवादमार्फत अमेरिकाबारे बुझ्न सहयोगी छ । अङ्ग्रेजी भाषा सिकाइ कक्षा, कार्यशाला, सांस्कृतिक संवाद, छलफल, चलचित्र प्रदर्शनी जस्ता कार्यक्रम पुस्तकालयले नियमित सञ्चालन गर्ने गरेको देखिन्छ । अमेरिकन कर्नरले आयोजना गर्ने सचेतना कार्यक्रमप्रति जनमानसको चासो बढेको पाइन्छ ।
आदर्श पुस्तकालय : विसं २००३ मा पहिले विराटनगरको गोल मोडमा रहेको टिनको टहरोमा स्थापना भएको आदर्श पुस्तकालय पछि व्यापारी मोतीलाल चमडियाले गोश्वारा रोडमा ३२ हजार रुपियाँमा दुई कट्ठा जग्गा खरिद गरिदिएका थिए । २००७ सालपछि राजा त्रिभुवनबाट निरीक्षण गरी मासिक तीन सय अनुदान प्राप्त गर्ने सम्भवतः पूर्वाञ्चलकै पहिलो पुस्तकालय हुन सक्छ । प्रदीप्त पुस्तकालय काठमाडौँमा खुल्यो भने नेपालको दोस्रो सार्वजनिक पुस्तकालयका रूपमा आदर्श पुस्तकालय विराटनगरमा खुलेको हो ।
पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले पुस्तकालयको भवन २०२१ सालमा शिलान्यास गरेका थिए । कोइराला निवासबाट १० हजार मूल्यका पुस्तक प्राप्त गरेर आदर्श पुस्तकालय स्तरीय बन्न पुगेको थियो । विराटनगर नगर पञ्चायतले २१ हजार, कोशी अञ्चलाधीश कार्यालयले छ हजार रुपियाँ चन्दा सहयोग गरेर त्यस समय भवन निर्माण गरिएको थियो । पुस्तकालयले २०३४ सालपछि चरम आर्थिक कठिनाइ झेलेको देखिन्छ ।
प्रधानमन्त्री भइसकेका रोटरी क्लबका अध्यक्ष नगेन्द्रप्रसाद रिजाललगायतले पुस्तकालयको संरक्षणका लागि भन्दै पुस्तकालय सञ्चालनको जिम्मा रोटरी क्लबलाई दिए । संरक्षण र सञ्चालनको जिम्मा पाएको क्लबले भने २०६९ साल मङ्सिर १५ गते पुस्तकालय सम्पत्ति आफ्नै नाममा पा¥यो । संरक्षण नगरेकाले पुस्तक धमिराले नाश गरेको छ भने जग्गा र भवन रोटरी क्लबको भएको छ । पुस्तकालय अक्षय कोषको दुई लाख रुपियाँसहित जग्गाको कागजपत्रमा समेत रोटरी क्लबले घात गरेको स्थानीय बुद्धिजिवीको बुझाइ छ ।
गुराँस पुस्तकालय : २०२६ सालमा नेपाली कांग्रेसको भातृसंस्थाका रूपमा यदुनाथ चापागाईंले गुराँस पुस्तकालय स्थापना गरेका हुन् । बरगाछीमा अवस्थित यस पुस्तकालयले प्रजातन्त्रवादी नेतालाई जनताको संसर्गमा पु¥याएर पञ्चायत व्यवस्था विरोधी आन्दोलनमा लाग्न प्रेरित गरिरह्यो । बिपी कोइरालाले भवन शिलान्यास र अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले दुई तले भवन उद्घाटन गरेबाट पनि यो पुस्तकालयको राजनीतिक भूमिका झल्कन्छ । गोग्राहा स्कुल पूर्वको भाङबारीमा पञ्चायत व्यवस्थाको आँखा छलेर स्थापना गरिएको गुराँस पुस्तकालयले सहिद दिवस, प्रजातन्त्र दिवस आदि नाममा राजनीतिक गतिविधिमा जोड दिन्थ्यो । जिल्ला कार्यालय मोरङले २०४८ भदौ ३१ दर्ता नम्बर १८५ मा दोस्रो पटक गुराँस पुस्तकालय संस्थाका रूपमा दर्ता गरेको छ ।
देवकोटा पुस्तकालय : यो पुस्तकालय खरदार जनकमानसिंह राजभण्डारीद्वारा २०१६ सालमा मधुमारामा स्थापना भएको हो । बनस्खण्डी महादेव मन्दिरमा स्थापना भएको पुस्तकालयले केही समयपछि महेन्द्र विद्यालयमा एक कोठा प्राप्त गरेको थियो । मानव अधिकार र प्रजातन्त्रलाई मूल उद्देश्य राखेको पुस्तकालय पञ्चायतविरुद्ध लड्न सक्ने हैसियतमा पुगेको थिएन । प्रशासनिक धम्कीलाई सहदै यसले विराटनगर क्षेत्रमा धेरै प्रजातान्त्रिक योद्धा जन्माएको छ । व्यवस्था विरोधी गतिविधि नियन्त्रण गर्ने नाममा पञ्चहरूले गिद्दे दृष्टि राखेपछि रक्तदान जस्ता कार्यक्रम गरेर पनि पुस्तकालय जनमानसमा पुग्न छोडेन । देवकोटा पुस्तकालय साधन र स्रोत जुटाउन सक्षम सामाजिक संस्था हो । यसको पुस्तकालय र वाचनालय चलाउने आफ्नै भवन छ । सम्पत्तिको सदुपयोग गर्दै भवनका सटर भाडा लगाएर पुस्तकालय सञ्चालन खर्च जुटाउन सक्षम छ । २०४६ सालको जनआन्दोलन देवकोटा पुस्तकालयबाटै प्रारम्भ गरिएको दाबी दधिराज सुवेदीको विराटनगरको सङ्क्षिप्त इतिहास, २०५४ पुस्तकमा उल्लेख छ । बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाले पटक पटक भ्रमण गर्ने र सामयिक भाषण यसै पुस्तकालयमा बसेर दिने
गरेका थिए ।
नेपाल राष्ट्रिय वाचनालय : पुस्तकालय, वाचनालय जस्ता सामाजिक संस्थामार्फत प्रजातन्त्रको लहर फैलाउन सकिन्छ भन्ने विश्वास बिपी कोइरालामा थियो । बिपीको विचारबाट प्रेरित केही युवाले २०२५ सालमा पोखरिया क्षेत्रमा गोपाल अर्याललाई सभापति बनाएर यो वाचनालय स्थापना गरेका हुन् । प्रजातन्त्र स्थापनाको उद्देश्य राखेर सुरु गरिएको यस वाचनालयले पञ्चायती दमन भोगिरहनु प¥यो ।
खेलकुदको माध्यमबाट अनुशासित कार्यकर्ता उत्पादन गर्न सकिने ठानेर वाचनालयले युनाइटेड स्पोर्टस् क्लब गठन ग¥यो । साहित्यिक कार्यक्रम र प्रजातान्त्रिक समाजवाद विषयमा कक्षा सञ्चालनसमेत गर्दथ्यो । २०३६ सालमा देशमा जनमत सङ्ग्रह घोषणा हुँदा वाचनालयले दीपावली गरेको थियो भने विराटनगरमा क्रियाशील कम्युनिस्ट कार्यकर्ता ‘जनमत सङ्ग्रह धोका हो’ भन्दै बत्ती निभाउन आएका थिए । यस घटनामा कांग्रेस–कम्युनिस्टबिच झडपको स्थिति बनेको थियो । २०४५ सालपछि वाचनालय धर्मरायो । यसका कतिपय सदस्य पञ्चायत प्रवेश गरेकाले क्रियाशील समिति विघटन गरी ५ सदस्यीय समायोजन समितिले काम गरेको देखिन्छ ।
विष्णुमाया पुस्तकालय : यो पुस्तकालय २०२४ मा विराटनगर–१ स्थित पाँच कट्ठा जग्गामा स्थापना भएको हो । विष्णुमाया पुस्तकालय र वाचनालयले २०७४ फागुन २० देखि २७ गतेसम्म सप्ताह पुराण आयोजना गरी दाताबाट एक करोड २५ लाख बराबरको नगद र जिन्सी सामग्री सहयोगको वचन पाएको देखिन्छ । आफ्नै पाँच कट्ठा जग्गा र भवन रहेको पुस्तकालय कम्युनिस्ट विचारधाराका युवाले खोलेको देखिन्छ । राजनीतिक कार्यक्रम चलाउन मनमोहन अधिकारी, भरतमोहन अधिकारी, आरके मैनाली, मोहनचन्द्र अधिकारी, भवानी घिमिरे पुस्तकालय प्राङ्गणमा आउने गरेका थिए । २०४६ सालको जनआन्दोलन पछि पुष्पलाल चोकमा कम्युनिस्ट नेता पुष्पलालको प्रतिमा अनावरण गर्न यो पुस्तकालयले अग्रणी भूमिका खेल्यो । यस पुस्तकालयले वृद्धवृद्धा हेरचाह केन्द्र, सार्वजनिक शौचालय र कम्प्युटर ल्याब पनि उपलब्ध गराएको छ । विकल्प एन्ड अल्टरनेटिभ नामक संस्थाले विराटनगरस्थित कार्यालयमा सञ्चालनमा ल्याएको पुस्तकालयमा २५ सयभन्दा बढी पुस्तक उपलब्ध छन् । ती सबै पुस्तक देउसी भैलो कार्यक्रमबाट सङ्कलन–खरिद गरिएका हुन् ।
विराट राजवंशी सांस्कृतिक पुस्तकालय : यो पुस्तकालयको उद्घाटन २०७५ मङ्सिर ३० गते विराटनगर महागरपालिकाका प्रमुख भीम पराजुलीले गरेका हुन् । यस पुस्तकालयका लागि साहित्यकार शरद बरालले २०० थान किताब दिई उत्साह प्रदान गरेका थिए । नेपालको सीमान्तकृत आदिवासी विराट राजवंशी समुदायको सांस्कृतिक उत्थान, भाषा, वेशभूषाको संवर्धन एवं विराटनगर–१२ मा बसोबास गर्ने अन्य समुदायमा पठन संस्कृति विकास गर्न पुस्तकालय स्थापना गरिएको हो । कुशेश्वर विराट राजवंशीको अध्यक्षतामा नौ सदस्यीय पुस्तकालय सञ्चालक समिति गठन गरिएको छ ।
विराट धर्मशास्त्र सङ्ग्रहालय एवं पुस्तकालय : सनातनदेखि चल्दै आएका धर्मशास्त्रका विविध ग्रन्थ सङ्कलन र अध्ययन गर्ने उद्देश्यले २०४८ वैशाख १२ मा यो पुस्तकालय स्थापना भयो । श्री राधाकृष्ण मन्दिर बरगाछी भेलाले लेखनाथ चापागाईंलाई तदर्थ समिति संयोजक तोकेर काम थालेको देखिन्छ । त्यस समय करिब ४० हजारका पुस्तक खरिद र सङ्कलन गरी मन्दिरमै पुस्तकालय सञ्चालन ग¥यो । भुवनदेवी शर्मा हुमागाईंले कञ्चनवाडीमा १० धुर जग्गा दान गरेपछि यस संस्थाले भवन निर्माण गरेको छ ।
माथि चर्चा गरिएका बाहेक बुद्ध मिलन वाचनालय, गणेश पुस्तकालय, मुनाल मनोरञ्जनालय तथा गोपीनाथ पुस्तकालय, जिल्ला प्रशासन कार्यालय मोरङमा २५१२ दर्ता नम्बर भएको जनपथ वाचनालय, श्री बाल पुस्तकालय आदि पनि विराटनगरमा कार्यरत पुस्तकालय हुन् । २०७२ सालमा स्थापित बुद्ध मिलन वाचनालय विराटनगर–७ मा रहेको छ । विराटनगर तिनटोलियामा गणेश पुस्तकालय सञ्चालनमा रहेको देखिन्छ । २०४८ सालमा स्थापित गणेश पुस्तकालयले सभाहल भाडामा लगाएर आम्दानी गर्दै आएको छ । मुनाल मनोरञ्जनालय तथा गोपीनाथ पुस्तकालय मुनालपथमा रहेको छ । मुनालको एउटै भवनमा एकातिर पुस्तकालय र अर्कोतिर जिमखाना सञ्चालित छन् । जनपथ रिडर्स क्लब बुद्धविहार मार्गमा सञ्चालन भएको छ । श्री बाल पुस्तकालय मधुमारामा अवस्थित छ । यसको स्थापना २०५२ सालमा गरिएको हो । नगरपालिकाको सर्वेक्षण प्रतिवेदनमा उल्लेखित श्री कृष्ण पुस्तकालयबारे भने कुनै सामग्री फेला पार्न सकिएन ।
स्थानीय सरकारको भरथेग : आदर्श पुस्तकालय, नेपाल राष्ट्रिय वाचानालय, देवकोटा पुस्तकालयले स्थानीय सरकारले दिएका अनुदान र बजेटले उल्लेखनीय कार्य गरेका छन् । नेपाल राष्ट्रिय वाचनालयले तत्कालीन विराटनगर उपमहानगरको बजेटबाटै भवन निर्माण गरेको देखिन्छ ।
पुस्तक र पुस्तकालय ज्ञानका भण्डार हुन् । यिनको संरक्षणमा राज्यका निकायले ध्यान दिनु पर्छ । शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना र सञ्चालनका लागि एकमुष्ट अनुदान दिइरहेको छ । यस्तो अनुदानमा व्यापक भ्रष्टाचार भएका मिडिया प्रतिवेदन सार्वजनिक भइरहेका छन् । अनुगमन संयन्त्रको अभावमा यस्तो अनियमितता मौलाएको कुरामा शङ्का छैन । प्रदेश र स्थानीय तहले सार्वजनिक पुस्तकालयका लागि दरिलो अनुगमन संयन्त्र र दिगो पुस्तकालय विकास योजना बनाएर कार्यान्वयनमा लैजानु जरुरी छ । राज्यका विभिन्न स्थानमा सञ्चालित स्थानीय स्तरका पुस्तकालयलाई केन्द्रीय रातो किताबले हेरेर हुँदैन । बजेट व्यवस्थापन र अनुगमनको जिम्मा सङ्घीयताको तल्लो निकाय स्थानीय तहबाटै हुनु बढी वैज्ञानिक छ ।