• १३ मंसिर २०८१, बिहिबार

एक घण्टाको बाटो १५ मिनेटमा

blog

गुणबहादुर रोका
सुलीकोट, जेठ ४ गते ।
गोरखा सदरमुकामबाट नजिकै रहेको ऐतिहासिक तथा बौद्धिक थलोको रुपमा प्रख्यात कट्टेल चोकदेखि कट्टेलडाँडा हुँदै आमडाडासम्म सडक कालोपत्रे भएपछि एक घण्टा लाग्ने बाटो १५ मिनेटमा पुगिने भएको छ ।  

गोरखा नगरपालिका–८ कट्टेल चोकदेखि कट्टेलडाँडा आमडाडा हुँदै शहिदलखन गाउँपालिका जोड्ने झण्डै दुई किलोमिटर सडकमा प्रिमिक्स प्रविधिको कालो पत्रे भएको हो । विसं २०५५ सालमा मार्ग खुले पनि कालोपत्रे हुन नसक्दा सडक जीर्ण, साँघुरो, बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे थियो ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पूर्वाधार कार्यालय गोरखा र निर्माण कम्पनीबिच सम्झौता भएर कृषल एबन जेबी कम्पनीले कट्टेल चोक, कट्टेलडाँडा हुँदै आमाडाडासम्म कालोपत्रे गरेर सडक स्तरोन्नति भएको छ ।

विसं २०५५ मा मार्ग खुलेको सडक कालोपत्र भएपछि यात्रा अवधि छोटिएको, यात्रा सहज, सुरक्षित भएको, हिलो र धुुलोबाट मुक्ति मिलेको शहिद लखन गाउँपालिकालाई सहजै जोड्दै गाउँपालिका र जिल्ला सदरमुकाममा आवतजावत गर्न सहज भएको गोरखा नगरपालिकाका पूर्व प्रमुख विशेश्वर कट्टेलले बताउनुभयो । साथै कृषि उपज बजारीकरण, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री ढुुवानीमा निकै सहज भएको छ ।

विसं २०८० वैशाख ११ गते सम्झौता भएर चार करोड ११ मा लाखमा ठेक्का सम्झौता गरेको कृषल एबन जेबी कम्पनीले तोकिएकै समयमा सडक कालोपत्र गर्ने काम सकेको हो । सम्झौता अनुसार दुई किलोमिटर सडक कालो पत्रे, एक साईड नाली, ३.७५ मिटर चौडाइ, सबबेस, सबग्रेड, फाइनल भई भुक्तानीको अन्तिम चरणमा रहेको पूर्वाधार कार्यालय गोरखाका निर्मित कार्यालय प्रमुख गणेश सुवेदीले जानकारी दिनुभयो ।

यता गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाले दुई पालिका जोड्ने ऐतिहासिक ठाउँमा सडक कालोपत्रे गराउन लामो समयको प्रयासपछि सडक कालो पत्रे भएको बताउनुभयो । यस कालोपत्रे सडकले दुई पालिकाबिच सहजै व्यापार व्यवसाय बढ्ने उहाँको भनाइ छ । 

गोरखा नगरपालिका र शहिदलखन गाउँपालिका जोड्ने यो सडकबाट गोरखा नगरपालिका र शहिदलखन गाउँपालिकाका बासिन्दा पनि लाभान्वित भएका छन् । यस सडकले शहिदलखन हुँदै ऐतिहासिक मनकामना मन्दिरमा यात्रा तथा पूजापाठ गर्न छोटो दूरी भएर जान सकिने भएको छ । आमडाँडा हुँदै गोरखा सदरमुकामसम्म घण्टैसम्म समय लाग्ने भए पनि सडक कालोपत्रे भएपछि १५ मिनेटमा यात्रा गर्न सकिने भएकाले आमडाँडाबासी खुशी भएका छन् ।